एनआरएनएलाई राजनीतिक हस्तक्षेपबाट टाढा राख्नुपर्छ : प्रधानमन्त्री ओली

हिमाल प्रेस ११ कार्तिक २०८१ १५:४०
12
SHARES
एनआरएनएलाई राजनीतिक हस्तक्षेपबाट टाढा राख्नुपर्छ : प्रधानमन्त्री ओली प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई राजनीतिक हस्तक्षेपबाट टाढा राख्नुपर्ने बताएका छन्।

आइतबारदेखि काठमाडौँमा सुरू भएको एआरएनएको ‘ग्लोबल कन्क्लेभ’ र वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

एनआरएनएलाई राजनीतिक हस्तक्षेप र प्रयोगबाट बाहिर राख्नुपर्ने आफूले लामो समयदेखि भन्दै आएको ओलीले बताए।

प्रधानमन्त्री ओलीले एनआरएनएलाई सरकार हसम्भव सहयोग गर्न तयार रहेको बताए। एनआरएनएमा पछिल्लो समय देखिएको विवादमा सरकारले कुनै हस्तक्षेप नगर्ने उनको भनाइ छ।

ओलीले एनआरएनएका प्रतिनिधि र सदस्यहरूलाई एकजुट भएर अगाडि बढ्न आग्रह गरे। उनले भने,‘सरकारले कुनै हस्तक्षेप गर्दैन, सहयोग पुर्‍याउँछ। तपाईँहरू एकताबद्ध भएर अगाडि बढ्नुस्।’

उनले गैरआवासीय नागरिकताको सहज कार्यान्वयनका लागि सरकार सबैखाले सहयोग गर्न तयार रहेको बताए। संविधानमै गैरअवासीय नेपालीहरूको नागरिकताका लागि व्यवस्था गरिएको भन्दै उनले त्यसको कार्यान्वयनका लागि सरकार तयार रहेको उल्लेख गरे।

आइतबारदेखि सुरू भएको एनआरएनएको ‘ग्लोबल कन्क्लेभ–२०२४’ र वार्षिक साधारणसभा सोमबारसम्म चल्ने छ।

कार्यक्रमको पहिलो दिन नेपालमा आर्थिक रूपान्तरणका लागि पूर्वाधार निर्माण, गैरआवासीय नेपाल नागरिकता, मताधिकार र गोर्खा, नेपाली मूलका विदेशी नागरिक, जलवायु परिवर्तनलगायतका विषयमा छलफल हुने एनआरएनएले जनाएको छ।

त्यस्तै राष्ट्र निर्माणका लागि प्रवासी युवाहरूको सशक्तिकरण, सुरक्षित, व्यवस्थित सम्मानजनक वैदेशिक रोजागरीको सुनिश्चितता एवं सामाजिक सुरक्षा र नेपाल पर्यटन प्रवर्द्धन : नीति निर्माण, अपेक्षा चुनौती र एनआरएनएको भूमिकालगायतका विषयमा छलफल हुनेछ।

कार्यक्रमको अन्तिम दिन नियमित वार्षिक साधारणसभाको आयोजना हुने एनआरएनएले जनाएको छ। कार्यक्रममा संघका ६० भन्दा बढी देशका प्रतिनिधिले सहभागिता जनाउने बताइएको छ।

प्रकाशित: ११ कार्तिक २०८१ १५:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast