पर्यटनमन्त्री पाण्डेले सार्वजनिक गरे एक सय दिनमा भएका कामको सूची

हिमाल प्रेस ८ कार्तिक २०८१ १३:४६
14
SHARES
पर्यटनमन्त्री पाण्डेले सार्वजनिक गरे एक सय दिनमा भएका कामको सूची पर्यटनमन्त्री बद्री पाण्डे । फाइल तस्बिर

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयनमन्त्री बद्री पाण्डेले एक सय दिनको अवधिमा नगारिक उड्‌डयन प्राधिकरणलाई अलग गर्ने विधेयक तयार, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन कार्ययोजनाको सफल कार्यान्वयन, पर्यटन ऐनको परिमार्जन, पर्यटन नीति तयारजस्ता दूरगामी महत्त्वका काम भएको बताएका छन्।

सरकार गठन भएको सय दिनको अवधिमा मन्त्रालयबाट भएका प्रमुख काम सार्वजनिक गर्दै मन्त्री पाण्डेले नेपाल एयरलाइन्सलाई सुधार गरी लैजान यसको व्यवस्थापनलाई कुन मोडलमा लैजाने भन्ने विषयमा गम्भीर छलफल थालिएको र नेपालमा पटक-पटक भएका हवाई दुर्घटना तथा त्यसपछि गठित आयोगका अध्ययन प्रतिवेदनले औँल्याएका विषयमा समग्र अध्ययन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीशको अध्यक्षतामा समिति गठन गरिएको बताए।

मन्त्री पाण्डेले नेपाल नागरिक उड्‌डयन प्राधिकरणलाई नियामक र सेवाप्रदायक निकायका रूपमा छुट्याउन नेपाल नागरिक उड्‌डयन प्राधिकरणलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक र हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक, संघीय संसदमा दर्ता गर्न स्वीकृतिका लागि मन्त्रिपरिषद्‌मा पेस गरिएको जानकारी दिए। ती विधेयक संसदको आगामी अधिवेशनमा पेस भई परित गर्न पहल हुने पनि उनले बताए।

यसैगरी, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सहुलियत एवं प्रोत्साहनसहितको कार्ययोजनापछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट २४ कात्तिकदेखि जजिरा एअरवेयजले हप्तामा तीन र फ्लाइ दुबईले दैनिक एक अन्तर्राष्ट्रिय उडान गर्ने गरी कार्यतालिका स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि भएको बताए।

नेपाल र फ्रान्सबीच सम्पन्न भएको द्विपक्षीय हवाई सेवा सम्झौता र समझदारी पत्र संशोधन र इन्डोनेसियाबीच द्विपक्षीय हवाई सेवा सम्झौता गर्ने प्रक्रिया अघि बढाइएको उनले बताए। मन्त्रालयले सौर्य एयरलाइन्सको विमान दुर्घटनाको अनुसन्धान गर्न जाँचबुझ आयोग गठन गरेको र प्रारम्भिक प्रतिवेदनबाट प्राप्त सुझाव कार्यान्वयनका लागि निर्देशन दिएको जनाएको छ। उनले नेपालका पाँच हजार ८०० देखि ६ हजार ५०० सम्म उचाइका थप ५७ हिमाल आरोहणको लागि खुला गरिएको बताए। पर्यटन विभागका सेवाहरू (पर्वतारोहण र होटल व्यवस्थापन) लाई अनलाइन प्रणालीमार्फत प्रवाह हुने व्यवस्था मिलाइएको उनले बताए।

प्रकाशित: ८ कार्तिक २०८१ १३:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =