सहकारी ठगी प्रकरण :

ज्योति गुरुङ र ज्योतिबहादुर भण्डारीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलमा प्रहरीको पत्र

हिमाल प्रेस ६ कार्तिक २०८१ १२:२८ | Tuesday, October 22, 2024
ज्योति गुरुङ र ज्योतिबहादुर भण्डारीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोलमा प्रहरीको पत्र सीआईबी

काठमाडौँ- प्रहरीले एक सहकारीका बचतकर्ताको रकम अपचलन गरेको आरोपमा पक्राउ गरी छानबिन गर्न दुई व्यक्तिविरुद्ध रेड नोटिस जारी गर्न अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)लाई पत्र पठाएको छ। ललितपुर महानगरपालिका–५ स्थित महालक्ष्मीस्थानको मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा संलग्न ज्योति गुरुङ र ज्योतिबहादुर भण्डारीविरुद्ध ‘रेड नोटिस’ जारी गर्न नेपाल प्रहरीले इन्टरपोललाई पत्राचार गरेको हो।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को सिफारिसमा नेशनल सेन्ट्रल ब्युरो (एनसीबी)ले इन्टरपोलको महासचिवालयमा पत्राचार गरेको प्रहरीका उच्च अधिकारीले हिमालप्रेसलाई जानकारी दिए। उनले भने, ‘मितेरी सहकारीको रकम अपचलन गरेर फरार रहेकाहरूलाई पक्राउ गर्न रेड नोटिस जारी गर्न इन्टरपोललाई पत्र पठाइएको छ।’

सीआईबीले केही समययता मितेरी सहकारीको आर्थिक हिनामिनाबारे अनुसन्धान गरिरहेको उनको भनाइ छ। ज्योति गुरुङ नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङकी श्रीमती पनि हुन्। ज्योति मितेरी सहकारीकी प्रबन्ध निर्देशक हुँदा रकम अपचलन गरेकी हुन्।

त्यस्तै प्रहरी बर्दियाका ज्योति भण्डारीले पनि उक्त सहकारीबाट तीन करोड ४४ लाख रुपैयाँ अपचलन गरेर फरार रहेको खुलेको जनाएको छ। प्रहरीका अनुसार भण्डारी कम्बोडिया र गुरुङ अस्ट्रेलिया छन्।

यसअघि सहकारीको रकम अपचलन गरेको आरोपमा ज्योति गुरुङ, ज्योतिबहादुर भण्डारी, सुजन शाक्य, हितमान थापा र प्रकाश यादवविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ।

उनीहरूले १२ करोड ५१ लाख हिनामिना गरेको आरोप छ। कांग्रेस उपसभापति धनराज र उनकी श्रीमती ज्योतिले २०७६ फागुन २९ मा ललितपुर जिल्ला अदालतबाट सम्बन्ध विच्छेद गरिसकेका छन्। सहकारीका सञ्चालक समिति सदस्य बोधविक्रम थापाले सीआईबीमा जाहेरी दिएका थिए।

योबीचमा धनराजले आफूले सहकारीबाट ऋण लिएको तर तिरिसकेको पनि बताएका छन्। धनराजले ऋण भने व्यवसायी मीनबहादुर गुरुङले तिरिदिएको पनि खुलेको छ। धनराजले मीनबहादुरसँग पनि ऋण नै लिएको बताउँदै आएका छन्। मीनबहादुर हालै नेकपा एमालेको केन्द्रीय कार्यालय भवन बनाउन जग्गा दान गर्ने व्यक्ति हुन्। उनी भाटभटेनी सुपरमार्केटका सञ्चालक पनि हुन्।

प्रकाशित: ६ कार्तिक २०८१ १२:२८ | Tuesday, October 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast