पर्यटन मन्त्रालयको एक सय दिन : प्राधिकरण विभाजन विधेयकदेखि हिमाल आरोहण खुला

हिमाल प्रेस ५ कार्तिक २०८१ १८:११
8
SHARES
पर्यटन मन्त्रालयको एक सय दिन : प्राधिकरण विभाजन विधेयकदेखि हिमाल आरोहण खुला

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बितेको एक सय दिनमा नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजन विधेयक अगाडि बढाउनेदेखि पर्यटन र संस्कृतिसँग सम्बन्धित विभिन्न ऐन, कानुन तथा नीतिगत सुधारको सुरुवात गरेको जनाएको छ।

वर्तमान सरकार गठन भएको एक सय दिनमा मन्त्रालयले गरेको कार्यप्रगतिको विवरण सार्वजनिक गर्दै मन्त्रालयले यस्तो बताएको हो।

नीतिगत र संरचनागत सुधारको पहल थाल्दै आगामी यात्राको आधारशिला तयार गरेको मन्त्रालयको भनाइ छ। मन्त्रालयद्वारा निर्धारण गरिएका कार्यक्रम अनुरुप नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवाप्रदायक निकायको रुपमा अलग गर्नेसम्बन्धी विधेयक मन्त्रिपरिषद्मा पेस भएको मन्त्रालयले बताएको छ।

पर्यटन ऐन र क्यासिनो नियमावली मस्यौदा, र संस्कृति नीतिको मस्यौदा मन्त्रिपरिषद्मा पेश भएको मन्त्रालयले जानकारी दिएको छ। पशुपति क्षेत्र विकास कोष ऐनको संशोधन मस्यौदा तर्जुमा गरिएको र ग्रेट हिमालयन ट्रेलको पाँच किलोमिटर निर्माण भएको मन्त्रालयले आफ्नो प्रगतिविवरणमा उल्लेख गरेको छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको कार्ययोजना स्वीकृत भई कार्यान्वयनमा रहेको मन्त्रालयले उल्लेख गरेको छ। भूकम्पबाट क्षतिग्रस्त नौ सय २० पुरातात्विक महत्वका सम्पदाहरुमध्ये गत आवमा आठ सय सम्पदाको पुनःनिर्माण सम्पन्न भएकामा थप पाँच वटा सम्पन्न भएको मन्त्रालयको प्रगति विवरणमा उल्लेख छ।

थप ५७ हिमालको आरोहण खुला गरिएको छ। मन्त्रिपरिषद् बैठकले छ हजार पाँच सय मिटरभन्दा तलका उक्त हिमाल आरोहण खुला गरेको हो। मन्त्रालय र मातहत निकायहरुको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण पुनरावलोकनका लागि अर्थमन्त्रालयमा पेस गरिएको छ।

पर्वतीय अनुमति प्रणालीलाई स्वचालित बनाइएको मन्त्रालयले जनाएको छ। संघीय भाषा ऐनको मस्यौदा तर्जुमाको प्रक्रिया अगाडि बढाइएको बताउँदै राष्ट्रिय महत्वका अभिलेखहरुको संकलन सुचीकरण तथा वैज्ञानिक प्रविधिबाट रासायनिक तथा भौतिक संरक्षण एवं व्यवस्थापन गरिएको मन्त्रालयले उल्लेख गरेको छ।

लुम्बिनी विश्वसम्पदा संरक्षण कार्ययोजना कार्यान्वयनमा रहेको जनाउँदै अविरल वर्षा, बाढीपहिरोका कारण गोरखाको सामागाउँमा विचल्लीमा परेका एक सय ६३ जना विदेशी पर्यटकको हेलिकप्टरबाट उद्धार गरिएको, विमानस्थलमा अधिकतम क्षमतामा उडान सञ्चालन गरिएको जनाइएको छ।

प्रकाशित: ५ कार्तिक २०८१ १८:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − seventeen =