इटहरी- कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिएको छ। गत असोज ६ गते गठन भएको कार्यदलले बिहीबार (आज) मुख्यमन्त्री हिक्मत कार्कीलाई न्यूनतम साझा कार्यक्रम हस्तान्तरण गरेसँगै सार्वजनिक गरिएको हो।
कार्यदलले बुझाएको प्रतिवेदन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सार्वजनिक गरिएको हो। क्षेत्रगत प्राथमिकता छुट्याएर न्यूनतम साझा कार्यक्रम सम्बन्धी आठ पृष्ठको मस्यौदा तयार पारेको छ। कार्यदलले बनाएको साझा कार्यक्रमलाई आधार बनाएर सरकारले काम गर्ने मुख्यमन्त्री कार्कीले बताए।
उक्त मस्यौदामा खुर्कोट-चतरा, तुम्लिङटार-चतरा र ताप्लेजुङ तमोर दोभान-चतरा जल यातायातको सम्भाव्यता अध्ययन गर्ने विषयलाई कार्यक्रममा समेटिएको छ। प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रमको सूचीमा राष्ट्रिय आय र नागरिकको आयमा वृद्धि गर्न व्यवस्थित ढंगले गाँजा खेती उत्पादन गर्न तथा स्थानीयस्तरमा उत्पादन हुने रक्सी ‘ब्रान्डिङ’ गरी दुवै वस्तुलाई मान्यता दिलाउन संघीय सरकारसँग समन्वयात्मक पहल र प्रयत्न गर्ने उल्लेख छ।
यसै गरी गर्भवती तथा सुत्केरी महिला र १० वर्षमुनिका बालबालिकाको उपचारलाई प्रभावकारी बनाउने र उपचार निःशुल्क गर्ने विषयलाई विकेन्द्रीकृत गर्दै सेवा विस्तार गर्ने, शैलेजा आचार्य हृदय रोग केन्द्र विराटनगरलाई नयाँ ढंगले सञ्चालन गर्ने लगायतका विषय समेटेर कार्यक्रम तयार पारेको छ। विद्यालय शिक्षालाई उत्पादनसँग जोड्नका लागि आवश्यक नीति तथा कार्यक्रम तय गरी कार्यान्वयन गर्ने विषयलाई प्राथमिकतामा राखेको छ।
सरकारले बनाएको कार्यदलमा कांग्रेस र एमालेका ३-३ जना थिए। एमालेबाट आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर, एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारी र प्रदेश सांसद तिलचन पाठक थिए। कांग्रेसबाट भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राई, कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्की र कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङ थिए।