प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाउन रास्वपाको माग

हिमाल प्रेस ३० असोज २०८१ १९:२३
22
SHARES
प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाउन रास्वपाको माग रास्वपा केन्द्रीय कार्यालय । फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाउन माग गरेको छ।

समसामयिक समस्याहरूबारे तत्काल छलफल गर्न आवश्यक देखिएको भन्दै रास्वपाले प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाउन माग गर्दै राजनीतिक दलहरूको ध्यानाकर्षण गराएको हो।

रास्वापका कार्यबाहक प्रवक्ता मनिष झाले बुधबार विज्ञप्ति निकालेर प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाउन माग गरेका हुन्।

शिथिल अर्थतन्त्र, कमजोर विपद् व्यवस्थापन, उकुसमुकुसपूर्ण सामाजिक परिस्थिति र युवामाझ नैराश्य फैलिएका बेला नागरिक समाज र जनप्रतिनिधिहरू मौन बस्न नमिल्ने झाले बताएका छन्।

रास्वपाले सरकारले स्वार्थको अभ्यास गरिरहेको आरोपसमेत लगाएको छ।

भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङबाट पार्टी कार्यालय निर्माणका लागि सरकारको नेतृत्व गरिरहेको एमालेले जग्गा स्वीकार गरेपछि रास्वपाले यस्तो आरोप लगाएको हो।

रास्वपाका कार्यवाहक प्रवक्ता झाले सरकारले भनेको सुशासनको अडान धरमराएको बताएका छन्।

‘मुद्दा खेपिरहेका विवादित व्यापारीबाट करोडौँ मूल्य पर्ने जग्गा दान लिएर सत्ताको नेतृत्व गर्ने दलले नै स्वार्थको द्वन्द्वको डरलाग्दो अभ्यास गरेबाट सुशासनको अडान धरमराएको छ,’ झाले विज्ञप्ति निकालेर भनेका छन्।

उनले संविधान संशोधनको बहसमा औचित्य पुष्टि हुने गरी सरकारले श्वेतपत्र नै जारी गर्ने अपेक्षा गरे पनि त्यो विषय ओझेलमा पारिएको उल्लेख गरेका छन्।

सरकारको कामकारबाहीबाट नागरिकमा चरम असन्तुष्टि र उद्यमी–व्यवसायीमा निराशा बढेको बताउँदै झाले सरकारको अन्तर्राष्ट्रिय विश्वसनीयता फितलो हुँदा द्विपक्षीय आर्थिक सम्बन्धमासमेत गतिरोध हुन थालेको जिकिर गरेका छन्।

आत्मविश्वास र दक्षताको अभावमा सरकार कमचलाउ जस्तो देखिएको रास्वपाका भनाइ छ। ‘आत्मविश्वास र दक्षता स्खलित हुँदा दुई तिहाइको सरकार कामचलाउ जस्तो देखिन्छ। सरकारलाई निगरानी गर्नुपर्ने संसदीय समितिहरू समेत सत्तापक्षीय बहुमतको बन्धक भएका छन्,’ रास्वपाले भनेको छ।

प्रकाशित: ३० असोज २०८१ १९:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =