काठमाडौँ– हिजबुल्लाहविरुद्ध इजरायलले लेबनानको भूमिमा गरिरहेको हवाई तथा स्थल आक्रमणले शान्ति सैनिकहरू घाइते हुन थालेपछि संयुक्त राष्ट्रसंघमा चिन्ता बढेको छ। यद्यपि जारी राष्ट्रसंघीय महासभामा यसबारे बहस हुन सकेको छैन।
राष्ट्रसंघले इजरायललाई लेबनानमा आक्रमण नगर्न अनुरोध गरेको छ। इजरायलले भने राष्ट्रसंघ गैरराज्य लडाकु अर्थात् आतंककारीलाई निस्तेज गर्न नसकेर असफल भएको अवस्थामा जवाफी कारबाही गरेको दाबी गर्दैै आएको छ। लेबनानमा शान्तिसेना निरीह भएकै कारण हिंसा मौलाएको निष्कर्ष इजरायलको छ।
इजरायलले लेबनानको भूमिमा रहेको हिजबुल्लाहलाई निमिट्यान्न नपारेसम्म आक्रमण गर्ने बताउँदै त्यहाँ रहेको शान्तिसेना तत्काल फिर्ता गर्न राष्ट्रसंघलाई आग्रह गरेको छ। इजरायल र राष्ट्रसंघको अडानले गर्दा यो युद्ध सहजै टुंगोमा पुग्ने देखिँदैन। शान्तिसेनामा रहेको गोलानहाइटमा फोर्स कमान्डरसमेत भएर काम गरिसकेका पूर्वरथी बालानन्द शर्माका अनुसार त्यस क्षेत्रको अवस्था भयावह देखिन्छ।
इजरायल आफ्ना नागरिकको हितमा गरेको निर्णयबाट पछि हट्दैन। किनभने इजरायल आफैँले आक्रमण नगरी प्रतिकारमा गएको मुलुक हो। आफ्नो रक्षाका लागि इजरायलले कस्तो नीति अवलम्बन गरेको छ, त्यसमा युद्ध निर्भर रहने शर्माको बुझाइ छ। युरोपियनहरू असहज हुनेबित्तिकै आफ्ना सेना लिएर जान सक्छन्। त्यसैले लेबनानमा खटिएका नेपाली शान्ति सैनिकलाई के गर्ने भनेर सरकारले एक प्रकारको योजना बनाउनुपर्ने सुझाव शर्माको छ। उनले भने, ‘लेबनानमा रहेका नेपाली शान्तिसेनाका विषयमा राजनीतिक र कूटनीतिक तहमा छलफल हुन जरुरी छ।’
सरकारले निर्णय लिएर अवस्था अनुकूलको कार्यमा जानुपर्ने उनी बताउँछन्। इजरायली गुप्तचरले लेबनानमा रहेका हिजबुल्लाह कहाँ कसरी रहेको सबै विवरण उपलब्ध गराएपछि सेनाले स्थलमा समेत अघि बढेर आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। शर्माले भने, ‘हिजबुल्लाहका लडाकु सबैतिर छरिएका हुन सक्छन् तर विश्वकै तीक्ष्ण दिमागको उपाधि पाएको इजरायलका सेनाले हिजबुल्लाहलाई यसै नछाड्ने हुनाले युद्ध नटरेको हो।’
लेबनानस्थित राष्ट्रसंघीय अन्तरिम सुरक्षा फौज अर्थात् युनिफिलअन्तर्गत ३४ मुलुकका शान्ति सैनिकहरूले इजरायलबाट भएका आक्रमणको निन्दा गरेका छन्। उनीहरू शिविर र बंकरमा बसिरहेको समाचारमा उल्लेख छ। यसरी बंकरमा बस्नु वा बाहिर हिँडडुल नगर्नुलाई तेस्रो तहको सुरक्षा मापदण्ड भनिन्छ।
राष्ट्रसंघको सुरक्षा फौज लामो समयदेखि लेबनानमा तैनाथ छ। इजरायली पक्षका अनुसार हिजबुल्लाहलाई सैनिकसहित राजनीतिक दलको संज्ञा दिनु भनेको आतंकवादलाई संरक्षण दिनु हो। यसरी आतंकवाद अन्त्य नहुने भन्दै इजरायल उनीहरूलाई निमिट्यान्न पार्ने तरखरमा छ।
हिजबुल्लाहले जसरी त्यहाँ प्रभुत्व जमाएको छ त्यो राजनीतिक नभई सैन्य दस्ताको उपयोग हो भन्ने निष्कर्ष इजरायलको छ। शान्ति सैनिक पठाउने मुलुकले पनि इजरायलले त्यहाँ गरेका आक्रमणको निन्दा गर्दै आएका छन्।
विश्वका शक्तिशाली र विकसित मुलुकले पनि अन्धाधुन्ध आक्रमणको संयुक्त रूपमा निन्दा गरिसकेका छन्। तर इजरायल कत्ति पनि पछि नहट्ने देखिएको छ। राष्ट्रसंघबाट त्यहाँ खटिएका शान्ति सैनिकहरू घाइते भइरहे पनि नेपाली शान्ति सैनिकहरू सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ।
पूर्वरथी शर्माका अनुसार इजरायलले अन्य कुनै कुरा घाटा नहुने गरी आतंककारीविरुद्ध आक्रमण जारी राखेको छ। उनले भने, ‘इजरायलले आतंककारी रहेको निश्चित नभएसम्म हान्दैन तर निश्चित भएपछि छोड्दैन।’ हिजबुल्लाह पनि लेबनानका गाउँतिर छरिएमा धेरै क्षति हुन सक्ने आकलन शर्माको छ। अन्यथा उसले लक्ष्य गरेको स्थानमा मात्र आक्रमण हुन्छ।
लेबनानमा शान्तिसेनाका रूपमा आठ सय ७७ नेपाली सैनिक खटिएका छन्। उनीहरू तेस्रो तहको सुरक्षाअन्तर्गत सकुशल रहेको नेपाली सेनाले स्पष्ट पारेको छ। शान्तिसेनाले दक्षिणी लेबनानको झन्डै ९६ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ। त्यसको १५ किलोमिटर लम्बाइको ब्लु लाइनको क्षेत्रको जिम्मेवारी नेपाली बटालियनको छ। युनिफिलका शान्ति सैनिकहरू इजरायल र लेबनानलाई छुट्याउने काल्पनिक सीमा रेखा ब्लु लाइन अर्थात् बफर जोनमा तैनाथ छन्।
नेपाली शान्तिसेनाबारे चिन्ता
यस वर्ष विश्वका विभिन्न ११ वटा मिसनमा ६ हजारभन्दा बढी शान्ति सैनिक पठाएर नेपाल शान्तिसेना पठाउने पहिलो मुलुक बन्न पुगेको छ। कतिपय क्षेत्रमा शान्तिसेनालाई खतरा पनि बढेको देखिन्छ। नेपालले अझै ४ हजार शान्तिसेना पठाउन सक्छ। सेनाको दरबन्दीको १० प्रतिशतसम्म शान्तिसेनामा पठाउन सक्ने निर्णय साढे ६ वर्षअघि गरिएको हो।
महिला शान्ति सैनिकको हिसाबले पनि नेपाल एक नम्बरमा पर्छ। नेपालले ६ सय ९० महिला शान्ति सैनिक खटाएको छ। नेपाली सेनाबाहेक नेपालका प्रहरी र सशस्त्र प्रहरी बलले पनि राष्ट्रसंघीय शान्ति मिसनमा पठाउने गरेका छन्। हाल विभिन्न मिसनमा सशस्त्र प्रहरी र नेपाल प्रहरीका गरी २ सय २३ जना कार्यरत छन्।
नेपाली शान्तिसेनाको अवस्थाबारे उनीहरूको परिवारजनबाट समेत जानकारी माग हुन थालेको छ। मुलुकका विभिन्न निकायले पनि यसबारे चासो दिन थालेका छन्।
नेपाली शान्तिसेनाको काम यतिबेला झनै चुनौतीपूर्ण भइरहेको त्यहाँ कार्यरत सैनिक अधिकारीहरूले बताएका छन्। शान्तिसेनाको काम आफैँमा कठिन छ।
लेबनानमा शान्तिसेना तैनाथ क्षेत्रमा आक्रमण हुन थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। शान्तिसेना फर्काउन इजरायलले राष्ट्रिसंघीय सुरक्षा परिषद् र जारी महासभामा दबाब बढाउन यस्तो कार्य गरिरहेको अनुमान शर्माको छ।
उता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दक्षिणी लेबनानबाट तत्काल शान्तिसेना फिर्ता गर्न राष्ट्रसंघलाई आग्रह गरेका छन्। यद्यपि त्यहाँबाट शान्तिसेना फिर्ता गरेमा इजरायल-अरब युद्धको थालनी नहोला भन्न सकिन्न। किनभने इजरायल र हिजबुल्लाहबीच लेबनानमा लडाइँ जारी छ। इजरायली फौजले दक्षिणी लेबनानमा अधिकांश भूभागमा ‘स्थल कारबाही’ गरिरहेको जनाएको छ।
इजरायली डिफेन्स फोर्सेस (आईडीएफ) को ट्यांकरबाट प्रहार भएको बमले पाँच दिनअघि दक्षिणी लेबनानमा दुईजना इन्डोनेसियाली शान्ति सैनिक घाइते भएका थिए। यस घटनापछि राष्ट्रसंघ इजरायलप्रति थप गम्भीर बनेको छ। राष्ट्रसंघ पछिल्लो समय कमजोर भएको आरोप लागिरहँदा मध्यपूर्वमा उत्पन्न संकट समाधानका लागि राजनीतिक र कूटनीतिक दबाब बढाउन भने सकेको छैन।
इजरायलले शान्तिसेनामा आक्रमण गर्ने लक्ष्य नरहेको स्पष्ट पारेको छ। शान्तिसेनालाई असहज भएको भए फिर्ता जान पनि इजरायलले आग्रह गरेको छ। इजरायलले इन्डोनेसियाली शान्तिसेना र श्रीलंकाली शान्तिसेनामाथि भएको आक्रमणबारे आफ्नो सेनामा छानबिन गर्ने जानकारी दिँदै शान्तिसेनामाथि आक्रमण नगर्ने स्पष्ट पारेको हो।
राष्ट्रसंघले भने द्वन्द्वको खतरा झन् बढेको भन्दै तत्काल शान्तिसेना फिर्ता नहुने जानकारी दिँदै युद्धविराम गर्न इजरायललाई दबाब दिएको छ। शान्तिसेना पछि नहट्ने भएपछि इजरायल समस्यामा परेको छ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले लेबनानमा रहेका नेपाली शान्ति सैनिकहरू बंकरमा सुरक्षित रहेको बताए। केसीले भने, ‘उनीहरू सुरक्षित छन्। हामी नियमित सम्पर्कमा छौँ। इजरायल-हिजबुल्लाह तनावका कारण हालसम्म नेपाली शान्ति सैनिकमाथि आक्रमण भएको त छैन। त्यसैले अहिले नेपाली शान्ति सैनिक पनि बाहिर निस्केर हिँड्ने वा गस्ती गर्ने अवस्थामा छैन।’
परराष्ट्र मन्त्रालयले लेबनानस्थित शान्ति सैनिकहरूमाथि भएको आक्रमणको निन्दा गरेको छ। सामाजिक सञ्जाल एक्समार्फत मन्त्रालयले भनेको छ, ‘युनिफिल शान्ति सैनिकमाथि हालै भएका आक्रमणको नेपालले कडा रूपमा निन्दा गर्छ र द्वन्द्वका पक्षलाई उनीहरूको सुरक्षाको ग्यारेन्टी गर्न आग्रह गर्छ।’ सरकारले युद्धबाट समाधान ननिस्कने भन्दै वार्तामा रहेर समाधान खोज्न सबै सरोकार पक्षलाई आग्रह गरेको छ। युनिफिलअन्तर्गत रहेका नेपालसहित ३४ मुलुकले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिलाई परराष्ट्र मन्त्रालयले आफ्नो पेजमा सेयर गर्दै यस्ता कार्य तत्काल रोकिनुपर्ने र घटनाको छानबिन हुनुपर्ने माग अघि सारेको छ।
को हो हिजबुल्लाह?
हिजबुल्लाह को हुन् भनेर बुझ्नुअघि इजरायल प्यालेस्टाइनको पाटोबाट नियाल्नुपर्छ। प्यालेस्टाइन मुद्दा अब समाधानमा जाने भनेर अन्तर्राष्ट्रिय स्तरमा सम्झौता भएको थियो। दुई राज्यको अवधारणामा समाधान गर्ने निर्णय पनि भयो। इजरायल र यहुदीहरूको नश्लीय निषेध गर्ने अरब मुलुकको अवधारणाले गर्दा यो अवस्थामा आएको हो।
पूरै राज्य प्यालेस्टाइन हुनपर्छ भन्नेमा अरब मुलुक लागिरहँदा स्थिति जटिल बन्दै गएको थियो। प्यालेस्टाइनको अर्को पक्षले ‘नन स्टेट’ सशस्त्र लडाकु बल तयार गरेर मिसन अघि बढाएपछि इजरायलीहरू समस्यामा परेका थिए। त्यही समय मुलुक रहने-नरहने गरी युद्ध पनि भए। अरबको बीचमा यहुदीलाई नरुचाउँदा यो अवस्था आएको हो। यसको बीचको युद्ध समस्या र समाधानतर्फ जाँदा लामो हुन्छ।
पछिल्लो समयमा इरानका परराष्ट्रमन्त्रीले हुतीको कमान्डर भेटेको समाचार बाहिर आएको छ। लेबनानको अवस्था अलग हो। फ्रान्सले लेबनानलाई स्वतन्त्र गर्ने समयमा राष्ट्रपति क्रिस्चियन, प्रधानमन्त्री मुस्लिमको सुन्नी समूह र सभामुख सियाबाट हुने भाग लगाएको थियो। तर पछि इस्लामिक अतिवादी सुरु भयो र क्रिस्चियनहरूलाई निमिट्यान्न पार्ने कारबाही सुरु भयो।
जसरी इरानमा राज्यबाहिर रहेर अलिफाअन्तर्गत खुमेनी सेना रहेको लेबनानमा पनि हिजबुल्लाह निर्माण भयो। हिजबुल्लाहले पछि राजनीतिक दलको मान्यता पायो। यद्यपि ऊसँग ‘नन स्टेट’ सशस्त्र दस्तासहित उसलाई राजनीतिक दलको मान्यता दिएको थियो। त्यसपछि शान्ति हुन्छ भनेर राष्ट्रसंघसहितका निकायले समाधान खोजेको हो। तर त्यही हिजबुल्लाहको राजनीतिक आड लेबनानमा देखाउने र निसाना इजरायललाई फर्काउने गरेको आरोप इजरायलको छ।
हिजबुल्लाहलाई शान्तिसेनाले बिस्तारै समाप्त गर्ने भने पनि त्यो कार्यमा शान्तिसेना सफल नभएको देखिन्छ। हिजबुल्लाहलाई दलको मान्यता दिएपछि आन्तरिक द्वन्द्व समाधान हुने भनिएको थियो तर त्यो भएन। लेबानन अहिले द्वन्द्वमा छैन तर पीडित मुलुकका रूपमा छ। यसरी हेर्दा लेबनानमा हिजबुल्लाहको कमान्ड निस्तेज गर्न युनिफिलले नसकेको हो। त्यही कारण राष्ट्रसंघप्रति वितृष्णा फैलिएको पनि हो।
इजरायलले युद्ध गरेर ठिक त गरेको छैन तर आतंककारीलाई जवाफ नदिए इजरायलको अस्तित्व संकटमा पर्ने अवस्था छ। एक दशकदेखि राष्ट्रसंघीय सेना सुतेर बस्ने अनि इजरायलले हिजबुल्लाह जनु राजनीतिक खोलमा आतंककारी समूह हो त्यसलाई निमिट्यान्न पार्न खोज्दा इजरायल दोषी हुने भन्ने बेन्जामिन नेतान्याहुले आक्रोश पोखेका छन्।
विश्वको तत्कालीन अर्डरमा स्थापित राष्ट्रसंघको साँच्चै मोडल परिवर्तन गर्न पर्ने अवस्था आइसकेको छ। सन् १९४७ ताकाको मोडलमा अहिलेको विश्व अर्डर छैन। वर्तमान विश्वलाई विचार गर्दै राष्ट्रसंघलाई पुनर्संरचना गर्न आवश्यक छ। नेपालीहरू अझै पनि यथार्थमा नपुगी कन कम्युनिस्ट भाष्य सामाजिकीकारणमा विश्वस्त छन्। जुन यथार्थभन्दा फरक विषय हो। हो, प्यालेस्टाइनका पक्षमा हामी हुनुपर्छ तर उनीहरू अरब विश्वको ‘नन स्टेट फोर्स’ लाई स्वीकार गरेर अघि बढ्नु भनेको मुर्ख्याइँ हो।
इजरायल साँच्चै विश्वको बेस्ट माइन्ड बस्ने स्थान हो। जति पनि वैज्ञानिक, ठूला बिजनेस कम्पनीहरू ‘जुज’ कै छन्। यहुदीको ब्रेन हाम्रोभन्दा फरक ढंगले चल्छझैँ लाग्छ। इजरायलको भनाइ पनि राष्ट्रसंघ हिजबुल्लाहको सेनालाई तह लगाउन नसक्दा यो अवस्था आएको हो।