द्वन्द्वग्रस्त लेबनानबाट आफ्ना नागरिक किन फर्काउँदैन सरकार?

'कुनै पनि नेपालीले स्वदेश फर्किन चासो देखाएका छैनन्'

रमेश भारती ३० असोज २०८१ १६:३९
38
SHARES
द्वन्द्वग्रस्त लेबनानबाट आफ्ना नागरिक किन फर्काउँदैन सरकार? दक्षिणी लेबनानको कानागाउँमा मंगलबार रातभर भएको इजरायली हवाई आक्रमणबाट ध्वस्त भवनको भग्नावशेषबाट जीवित व्यक्तिको खोजी गर्दै उद्धारकर्ताहरू। तस्बिर : एएफपी/रासस

काठमाडौँ- इजरायलले हिजबुल्लाह लडाकुलाई निसाना बनाएर लेबनानमाथि निरन्तर हवाई र स्थल आक्रमण गरिरहेको छ। उता इजरायलमाथि पनि इरानको आक्रमण जारी छ। आक्रमणका कारण त्यहाँ रहेका आप्रवासीमा त्रास फैलिएको छ। कतिपय विदेशी नागरिक लेबनान छाडेर भाग्न थालेका छन्। इजरायली हवाई आक्रमणका कारण एक लाखभन्दा बढी मानिस लेबनान छाडेर सिरिया गएको राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालयले जनाएको छ।

बढ्दो जोखिमलाई दृष्टिगत गर्दै अमेरिका, क्यानडा, चीन, भारत र जापानलगायतका देशले आफ्ना नागरिकलाई स्वदेश फर्काइरहेका छन्। नेपाल सरकारले भने लेबनानमा रहेका आफ्ना नागरिक स्वदेश फर्काउन चासो दिएको छैन। सरकारी अधिकारीहरू लेबनानबाट नेपाली फर्कनै नचाहेको बताउँछन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले लेबनानमा रहेका नेपाली विदेश फर्किन चासो नदेखाएको बताएका हुन्।

लेबनानमा रहेका नेपालीको अवस्थाबारे इजिप्टको कायरोस्थित नेपाली दूतावाससँग परराष्ट्र मन्त्रालयले जानकारी लिइरहेको छ। कुनै पनि नेपाली लेबनानबाट फर्किन दूतावासको सम्पर्क नआएको राईले बताए। ‘युद्ध चर्किँदै गए लेबनानमा रहेका नेपाली फर्काउन सरकारले पहल गर्छ। यसबारे छलफल पनि भइरहेको छ। अहिलेसम्म कुनै पनि नेपाली फर्किन चासो दिएका छैनन्’, उनले भने।

लेबनानमा रहेका सबै नेपाली सुरक्षित रहेको सूचना दूतावासले जानकारी गराइरहेको उनी बताउँछन्। लेबनानबाट नेपाली फर्किन सक्दैन कि सरकारले फकाउन नचाहेको भन्ने प्रश्नमा उनले भने, ‘सरकारले फर्काउने विषयमा छलफल गरिरहेको छ। युद्ध चर्किँदै गए आफ्नो नागरिक ल्याउनुपर्छ। लेबनानमा रहेको नेपाली फर्किन चाहे सरकारले सहकार्य गर्छ।’

परराष्ट्रमन्त्री डा. आरजु राणाले एक साताअघि इजरायल र लेबनानमा रहेका नेपालीको अवस्थाबारे जानकारी लिन सम्पर्क व्यक्ति तोकी ‘हेल्प डेस्क’ स्थापना गर्ने बताएकी थिइन्। अहिलेसम्म परराष्ट्र मन्त्रालयले ‘हेल्प डेस्क’ खोल्न सकेको छैन।

परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारी अनुसार युद्ध चर्किँदै गए लेबनानमा रहेका नेपाली स्वदेश फर्काउन समस्या पर्नेछ। सरकारले लेबनानमा रहेका नेपालीको अवस्था संकलन गर्न सकेको छैन। युद्ध चर्किए त्यहाँ रहेका १ हजार २ सय नेपाली स्वदेश फर्काउन भारत अथवा चीनको सहयोग लिनुपर्ने ती अधिकारी बताउँछन्।

‘विदेशमा युद्ध र अन्य समस्या उत्पन्न भएपछि नेपाली फर्काउन छिमेकी देश, राष्ट्रसंघ, आईएलओ र अन्य विदेशी संगठन गुहार्नुपर्छ। मध्यपूर्वमा युद्ध भड्किए के होला? ’ ती अधिकारीले भने।

अन्य देशले आफना नागरिक फर्काइरहेका बेला नेपाल सरकारले भने लेबनानमा भएका नेपालीहरूलाई फर्काउने कुनै तयारी गरेको छैन। रोजगारविज्ञ जीवन बानियाँ  लेबनानमा रहेका नेपाली सुरक्षित छन् भनेर बस्न नहुने बताउँछन्। युद्ध भइरहेको देशमा कुनै पनि नेपाली जोखिम मोलेर नबस्ने उनले बताए। ‘मध्यपूर्वको युद्ध हेर्ने हो भने त्यहाँ कार्यरत नेपालीलाई सरकारले स्वदेश फर्काउनुपर्छ’, उनले भने।

परराष्ट्र मन्त्रालयले लेबनान र इजरायलमा कार्यरत नेपाली कामदारलाई सुरक्षित बस्न आग्रह गर्दै आएको छ। अप्ठ्यारो परेमा कायरोस्थित दूतावास र बेरुतमा रहेको अवैतनिक वाणिज्यदूतावासमा सम्पर्क गर्न परराष्ट्रले गत साता जारी गरेको सूचनामा उल्लेख छ। लेबनानमा शान्ति स्थापनार्थ ८ सय ७७ जना नेपाली शान्ति सैनिक तैनाथ छन्। उनीहरू सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 9 =