काठमाडौँ– बडादसैँको सार्वजनिक बिदा सोमबार सकिएको छ। मंगलबारदेखि सरकारी कार्यालय खुल्नेछन्। दसैँको टीका र आशीर्वाद थाप्ने क्रम भने कोजाग्रत पूर्णिमामा अखिल बलि पूर्ति नभएसम्म निरन्तर चलिरहन्छ।
महाअष्टमी र महानवमीका दिन सुनसान प्रायः देखिएको राजधानीमा विजयादशमीदेखि नै चहलपहल बढ्न थालेको छ। निधारमा रातो टीका र जमरा लगाएका मानिस मान्यजनकहाँ टीका लगाउन गइरहेको देखिन्छ।
आश्विन शुक्लपक्ष त्रयोदशीका दिन मंगलबार पनि मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा लगाउने क्रम निरन्तर रहन्छ। आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम मंगलबार पनि जारी रहनेछ। मान्यजन टाढा टाढा हुने आफन्त विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घरघरमा जाने गर्छन्।
यस वर्ष असोज ३० गते बुधबार अखिल बलिपूर्ति र कात्तिक १ गते बिहीबार कोजाग्रत पूर्णिमा परेको छ। कोजाग्रत पूर्णिमाका दिन राति जाग्राम बसी महालक्ष्मीको पूजाआराधना गरिन्छ। कात्तिक १ गतेदेखि नेपालीको महान् चाड बडादसैँ समापन हुन्छ।