काठमाडौँमा बढ्यो चिसो

हिमाल प्रेस २९ असोज २०८१ ६:५४
6
SHARES
काठमाडौँमा बढ्यो चिसो काठमाडौँ उपत्यका।

काठमाडौँ- संघीय राजधानी काठमाडौँ उपत्यकामा पछिल्लो एक सातामा चिसो क्रमिक रुपमा बढिरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार असोज १५ गते काठमाडौँको न्यूनतम तापक्रम २० डिग्रिसेल्सियस हाराहारी रहेकामा त्यसको एक सातापछि अर्थात् सोमबार र मंगलबार न्यूनतम तापक्रम १६ डिग्री हाराहारी कायम छ। ‘काठमाडौँमा चिसो निरन्तर रुपमा बढिरहेको छ’, मौसमविद् अधिकारीले भने, ‘पछिल्लो १५ दिनमा तापक्रम विस्तारै घट्दै गइरहेको छ।’

महाशाखाको विवरणमा आइतबार काठमाडौँको न्यूनतम तापक्रम १४ दशमलव ७ डिग्रिसेल्सिय पुगेको थियो। सोमबार १६ डिग्रिसेल्सियस छ। काठमाडौँसहित देशका अधिकांश स्थानमा ह्वात्तै तापक्रम घटेको छ। मौसमविद् अधिकारीले दुई सातामा ५ डिग्री तापक्रम घट्नुले चिसो बढाएको देखिएको बताए।

लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस र बाग्मती प्रदेशमा आंशिक प्रभाव पर्नुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ।

मंगलबार दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। तीनवटै प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन चट्यासहित हल्का वर्षाको सम्भावना छ। रातिको समयमा पनि कोशी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले अनुमान गरेको छ।

देशमा अहिले मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेको छ। सँगसँगै पछिल्ला दिनमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले मुलुकका कतिपय स्थानमा बदली र वर्षा भइरहेको छ। मनसुन सकिएर पोस्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको मौसमविदले बताएका छन्।

यही असोज ११ र १२ गतेको अविरल वर्षापछि मौसम सुधार आएको छ। गत असोज २७ गते नेपालबाट मनसुन पूर्ण रुपमा बाहिरिएको थियो। खुला आकाश भएकाले दिउँसो घाम लागेपनि साँझ र बिहान निकै चिसो महसुस गरिएको छ।

प्रकाशित: २९ असोज २०८१ ६:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast