दसैँमा पाँचगुना बढी खपत हुन्छ खसीको मासु

विजय नेपाल २५ असोज २०८१ २०:५६ | Friday, October 11, 2024
दसैँमा पाँचगुना बढी खपत हुन्छ खसीको मासु पोखराको याम्दीमा बेच्न राखिएका च्यांग्रा। तस्बिर : हिमालप्रेस

पोखरा- पोखरा–बागलुङ राजमार्गअन्तर्गत पोखरा २५, याम्दी र हेमजामा बिक्रीका लागि राखिएका भेडाच्यांग्राको संख्या बिस्तारै घट्दै छ। हिमालपारिको जिल्ला मुस्ताङ लगायत डोल्पा, हुम्लाबाट धेरै दिन लगाएर ल्याइएका भेडाच्यांग्रासँगै पोखरामा दसैँको रौनक थपिने गर्दछ। ग्राहक पनि वर्षदिनमा च्यांग्राको मासु खानुप¥यो भनी मोलतोल गरिरहेको पाइन्छ।

दसैँमा च्यांग्राको व्यापार पनि बढी हुने गर्दछ। पोखरामा यसपालि हिमाली भेगबाट १४ हजार भेडाच्याङ्गा भित्रिसकेका छन्। तीमध्ये ४ हजार जति भेडा हुन्। दसैँमा अत्यधिक खोजीमा हिमाली क्षेत्रका च्यांग्रा पर्दछन्। यस वर्ष प्रतिच्यांग्राको मूल्य ३० हजार रुपैयाँदेखि ४५ हजारसम्ममा बिक्री वितरण भइरहेको छ।

च्यांग्राका अतिरिक्त खसीबोकाको मासु खाने पनि उत्तिकै पाइन्छन्। त्यसैले दसैँका बेला पोखरामा सरदर तुलनामा पाँच गुना बढी मासुको बिक्री हुने गरेको पाइएको छ। कुखुराको व्यापार दसैँमा खासै नबढे पनि खसी तथा च्यांग्राको व्यापार अत्याधिक हुने गरेको मासु व्यवसायी बताउँछन्।

मासु व्यवसायी संघ कास्कीका पूर्व अध्यक्ष एवं संरक्षक भोलानाथ ओझा भन्छन्, ‘दसैँमा कुखुराको मासु नियमितझैँ बिक्छ। तर खसीको मासु भने पाँच गुनाले बिक्री हुने गर्दछ। यो भनेको दैनिक ६ हजार केजी खसीको मासु बिक्री हुने गरेकोमा यसपालि पनि पाँच गुना बढ्नेछ।’

उनका अनुसार कुखुराको मासु दैनिक २५ देखि ३० हजार केजी खपत हुन्छ तिहारमा भने दसैँको तुलनामा कुखुराको मासु तेब्बर बढीले बिक्री हुन्छ। ओझाको अनुभवमा दसैँ सप्तमीदेखि दशमीसम्म मासु अत्याधिक बिक्री हुने गर्छ। त्यसबेला व्यापारमा भ्याइनभ्याइ हुन्छ।

विगतमा झैं यसपालि पनि दसैँमा खसी बोका व्यवसायी तथा मासु व्यवसायीहरुले ग्राहकको निम्ति आवश्यक खसीबोका तथा मासु अभाव नहुने गरी आयात गरेको बताएका छन्। मासु व्यवसायी संघ कास्कीमा हाल २ सय ८० सदस्य आबद्ध छन्।

नेपाली समाजमा पनि अरूबेला मासु नखाए पनि दसैँमा ऋण काढेरै पनि खाने प्रचलन छ। घरबाहिर रहेकाहरु पनि दसैँमा एकजुट हुने र रमाइलो गर्दै मासु खाने हुँदा खपत पनि बढ्ने गरेको व्यवसायी बताउँछन्।

दसैँमा धार्मिक आस्था स्वरुप कुखुरा, हाँस, बोका, परेवा, राँगा बलिका रूपमा समेत चढाउने गरिन्छ। पशुपक्षीको मासु प्रसादका रूपमा खाने चलनसँगै यसको खपत बढी हुने गरेको पाइन्छ।

पोखरा खसीबोका व्यवसायी समिति संस्थापक अध्यक्ष एवं पोखरा खसी बोका बजार व्यवस्थापन समिति व्यवस्थापक ज्ञानबहादुर श्रेष्ठ गत वर्ष तुलनामा यसपालि खसीबोकाको मूल्य पनि घटेको बताउँछन्।

गत वर्षभन्दा प्रतिकिलो ३५ देखि ४० रुपैयाँ कम पर्ने उनको भनाइ छ। उनी भन्छन्, ‘पोखरा–१४, चाउथे कदममार्गस्थित खसी बोका बजारमा आए प्रतिकिलो ५ सय ८० देखि ६ सय २० रुपैयाँ प्रतिकिलोमा रोज्जा खसी पाइन्छ।’ उनका अनुसार बजारमा मासुको दररेट भने हाल १ हजार १ सय ८० रुपैयाँ प्रतिकिलो पर्छ। श्रेष्ठका अनुसार गत वर्ष पोखरामा ६ हजार ५ सय खसीबोका आएकोमा यसपालि ४ हजारदेखि ४ हजार ५ सय हाराहारीमा आएका छन्। पोखरा खसीबोका व्यवसायी समितिमा हाल ६० जना व्यवसायी आबद्ध छन्।

पहिला भारतबाट आउने खसीबोका कोरोनापछि स्वदेशी उत्पादन नै बिक्री हुने गरेको उनले बताए। पोखरा कुखुराका लागि आत्मनिर्भर छ। यहाँबाट बुटवल तथा काठमाडौैँतर्फ पनि जाने गरेको छ। खसीबोका भने कास्कीका विभिन्न गाउँसहित छिमेकी जिल्लाहरुबाट भित्राइन्छ। पाल्पा, तनहुँ, स्याङ्जा, नवलपुर, गोरखा, दाङबाट समेतबाट व्यवसायीले खसीबोका आयात गर्दछन्।

प्रकाशित: २५ असोज २०८१ २०:५६ | Friday, October 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast