महागौरी र सिद्धिदात्रीको उपासना एकै दिन

हिमाल प्रेस २५ असोज २०८१ ७:०९ | Friday, October 11, 2024
महागौरी र सिद्धिदात्रीको उपासना एकै दिन दसैँमा पूजा गर्न महोत्तरीको मटिहानीमा माटोबाट निर्मित १५ फिट अग्लो दुर्गा भगवानीको मूर्ति। उक्त मूर्ति करिब एक महिना लगाएर तयार गरिएको हो। तस्बिर : रासस

काठमाडौँ- बडादसैँ एवं नवरात्रको आठौँ र नवौँ दिन एक दिन परेको छ। त्यसैले शुक्रबार दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवी र नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ।

प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ।

घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ।

महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ। दसैँघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजाआराधना गरिन्छ।

पशुबलि नदिने र शाकाहारीहरुले भने महानवमीका दिनमा कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवल समेत बलि दिई पायस पनि चढाउने गर्दछन्। अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि छ।

दुर्गाको प्रतीकका रुपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिइन्छ। यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विधिपूर्वक पूजा आराधना गरिन्छ। महानवमीका अवसरमा कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा गरिन्छ। यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जंगीनिशाना पूजा र कोतपूजा गर्ने प्रचलन छ।

हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक आज अर्थात् महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर खुल्ने गर्दछ। मन्दिर खुला गरेर भक्तजनलाई दर्शन गराउने तयारी पूरा भएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ।

प्रकाशित: २५ असोज २०८१ ७:०९ | Friday, October 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast