दसैँमा घर फर्कने घटे

विजय नेपाल २४ असोज २०८१ ९:१३
20
SHARES
दसैँमा घर फर्कने घटे पोखरा बसपार्कबाट गन्तव्यतर्फ जाने तयारीमा बस। तस्बिर : हिमालप्रेस

पोखरा– गण्डकी प्रदेश सदरमुकाम तथा पर्यटनको राजधानी पोखरामा बसोबास गर्नेमध्ये दसैँका बेलामा सबैभन्दा बढी बाहिरिनेमा धादिङे पर्छन्। त्यसैले पोखराबाट छुट्ने गाडीको पनि धेरैजसो गन्तव्य धादिङकै लागि हुने गर्दछ। यो विगतदेखिकै अभ्यास हो।

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी अध्यक्ष योगेन्द्रबहादुर केसी भन्छन्, ‘पोखराबाट दसैँमा सबैभन्दा बढी धादिङकै लागि गाडी छुट्छन्। यसपालि पोखरा छोडेर धादिङ जानेहरु सर्लक्कै घटे।’ उनका अनुसार पोहार घटनास्थनादेखि टीकाको बेलासम्म कम्पनीले पाँच सय वटा गाडी पठाएको थियो। अहिले दैनिक मुस्किलले पाँचवटा गाडी मात्र जान्छन्।

करिब १३ सय बस रहेको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी नेपालमा सबैभन्दा बढी बस आबद्ध रहेको कम्पनीमध्ये एक हो। पोखरामा प्रधान कार्यालय रहेको यो कम्पनीले यात्रुको सुविधाका लागि पोखरादेखि देशका विभिन्न ठूला सहरहरुमा दैनिक गाडी छुटाउँदै आएको छ।

११ र १२ असोजमा भारी वर्षासँगै देशका विभिन्न भागमा गएको बाढी, पहिरो र डुबानले ठूलो जनधनको क्षति हुन गयो। उक्त विपत्तिका कारण ठूला राजमार्ग भत्किन पुगे। अझै केही राजमार्ग अवरुद्ध छन्। दसैँको मुखमा भएको प्राकृतिक विपत्तिले मानिस यात्रा गर्न डराएका छन्।

यात्रु अभावमा गाडी रित्तै गुडाउनुपरेको अध्यक्ष केसी गुनासो व्यक्त गर्छन्। केसीका अनुसार उनको सोझा सिटसहितको गाडी हाल पोखरा-काठमाडौँ चल्छ। उनले सोमबार वालिङबाट काठमाडौँ जाँदा दुई जना यात्रु लिएर गएको बताए। फर्किंदा ३० सिटमा २८ जना थिए। उनी भन्छन्, ‘एकपल्ट वालिङदेखि काठमाडौँ गएर फर्किंदा गाडीको खर्च करिब ४२ हजार लाग्छ तर मान्छे नै छैनन्।’

केसीले यसपालि पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका गाडीबाट दसैँको टीकासम्म १५ हजार जना यात्रु मात्र पोखराबाट बाहिरिने अनुमान गरेका छन्। फूलपातीको अघिल्लो दिनसम्म पाँच हजारमात्र बाहिरिएका छन्। अब टीकासम्म करिब १० हजार जनाले पोखरा छोड्ने उनले बताए।

जिल्ला ट्रफिक प्रहरी कार्यालय, कास्कीले संकलन गरेको तथ्यांकअनुसार पोखराका तीन नाकाबाट सार्वजनिक यातायातमा २० हजार जना मानिस मात्र बाहिरिएका छन्। ती नाकामा पृथ्वी राजमार्गअन्तर्गत गगनगौँडा नाका, सिद्धार्थ राजमार्गअन्तर्गत पोखरा छोरेपाटन र पोखरा बागलुङ राजमार्गअन्तर्गत सिम्पानी नाका पर्दछन्।

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी अध्यक्ष केसीका अनुसार गएको वर्ष पोखराबाट करिब ५० हजार जना मानिस बाहिरिएकोमा अहिले घटेर २० प्रतिशत पनि छैनन्।

चाडबाडका बेला सम्भावित दुर्घटना न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालय, कास्कीले सहजताका लागि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ। कास्कीको पृथ्वीचोक, विन्ध्यवासिनी बसपार्क, टुरिस्ट बसपार्क, छोरेपाटन, तालचोक र नयाँ पुलमा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की प्रमुख शोभा पाण्डेले बताइन्। यात्रु सहायता कक्ष संचालन गर्न जिल्ला प्रशासन कार्यालय कास्की र जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्य छ।

प्रकाशित: २४ असोज २०८१ ९:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + nineteen =