पोखरा– दसैँमा टीकाको दिन पोखरामा निःशुल्क सार्वजनिक यातायात सञ्चालन हुने भएका छन्। जिल्ला प्रशासन कार्यालय, कास्कीले सर्वसाधारणको सुविधाका लागि पोखराका विभिन्न रुटमा १८ गाडी निःशुल्क सञ्चालन गर्ने भएको हो।
जिल्ला प्रशासन कार्यालयले पहिलोपटक यति ठूलो संख्यामा निःशुल्क गाडी संचालन गर्ने भएपछि यात्रुलाई सुविधा पुग्ने विश्वास लिइएको छ। त्यसका लागि यहाँस्थित विभिन्न यातायात कम्पनीले गाडी उपलब्ध गराउने छन्।
बुधबार पत्रकार सम्मेलनमा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पोखरा महानगरपालिकामा धेरै जनताको बसोबास रहेको र दसैँका दिन अन्य दिनको तुलनामा सार्वजनिक सवारीका साधन कम चल्ने भएकाले यस्तो सुविधा ल्याइएको बताए।
उनका अनुसार पोखराका विभिन्न ७ वटा रुटमा चल्ने त्यस्ता १८ वटा बसमा बिहान ७ देखि दिउँसो ४ बजेसम्म यात्रा गर्दा भाडा तिर्नुपर्दैन।
उपभोक्ताको हकहितको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाको सुझाव अनुसार स्थानीय प्रशासनको समन्वयमा पोखरा महानगरपालिका र यातायात व्यवसायीको सहकार्यले यात्रुलाई सुविधा दिने प्रजिअ पाण्डेको विश्वास छ।
यो अभियानमा पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले ३ वटा, स्थानीय यातायात कम्पनीले २ वटा, पोखरा यातायात प्रालिले ९ वटा र वेगनास पोखरा यातायातले ४ वटा गरी १८ बसमा सेवा दिने छन्। ती गाडीमा निःशुल्क सेवा भनी ब्यानर नै लेखिनेछ।
पोखराको हेमजा, लेखनाथको कोत्रेदेखि छोरेपाटनसम्म यो सुविधा हुनेछ। बसका चालक तथा सहचालकलाई भत्ता भने पोखरा महानगरपालिकाले उपलब्ध गराउनेछ।
पृथ्वी राजमार्ग बस संचालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले सामाजिक उत्तरदायित्वअन्तर्गत आफूहरु प्रशासनको अनुरोधमा सहमत भएको बताए।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी अध्यक्ष केदार पौडेल, पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष शोभाकान्त पौडेल, पोखरा वडा १६ का अमृत शर्मा तिमिल्सिना, सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री लगायतले आ–आफ्नो धारणा राखेका थिए।