![बढ्यो दसैँको चहलपहल [तस्बिरहरू]](https://himalpress.com/wp-content/uploads/2024/10/dashain_SG_MyagdiPing-1.jpg)
काठमाडौँ- नेपालीको महान् चाड दसैँको देशभर चहलपहल बढेको छ। बजारमा किनमेल गर्नेको भीड लागेको छ। गाउँबाट बाहिर रहेका परिवारका सदस्य घर फर्कन थालेका छन्। काठमाडौँ उपत्यकाबाट बडादसैँ मनाउन दैनिक एक लाखको हाराहारीमा मानिस बाहिरिन थालेको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका नायब उपरीक्षक रवीन कार्कीले जानकारी दिए।
यसैगरी शक्तिपीठहरूका दर्शनार्थीको घुइँचो देखिन थालेको छ। ताप्लेजुङको पाथीभरा, धनकुटाको छिन्ताङदेवी, सप्तरीको छिन्नमस्ता, बाराको गढीमाई, धनुषाको जानकी, सिन्धुलीको कमलामाई र भद्रकाली, दोलखाको कालिञ्चोक, सिन्धुपाल्चोकको पाल्चोकी, काभ्रेको पलाञ्चोक भगवती, हेटौँडाको भुटनदेवी मन्दिरमा पूजाअर्चना गर्नेको संख्या बढेको छ। यसैगरी राजधानीका चामुण्डा, गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, भाटभटेनी, शोभाभगती, इन्द्रायणी, कालिकास्थान, बगलामुखी, भद्रकाली र दक्षिणकालीमा बिहानैदेखि श्रद्धालुको लाम लागेको छ।
गोरखाको मनकामना, कास्कीको विन्ध्यवासिनी, बागलुङको कालिका, डोल्पाको त्रिपुरासुन्दरी, बाजुराको बडीमालिका, बाँकेको बागेश्वरीमा नवरात्रिको पहिलो दिनदेखि नै श्रद्धालुको भीड लागेको छ।
बजारमा नयाँ लुगा किन्नेको उत्तिकै चाप देखिन्छ। यसैगरी दसैँका लागि कुखुरा, राँगा, बोका, खसी, च्यांग्रा, हाँसको खरिदबिक्री पनि ह्वात्तै बढेको छ।
दसैँमा काठमाडौँ उपत्यकाबाहिर मासुको खपत बढी हुन्छ। काठमाडौँ उपत्यकाका लागि सरकारले हरेक वर्ष बाहिरी बजार मूल्यभन्दा सहुलियत मूल्यमा खसीबोका बिक्री गर्दै आएको छ। सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्षको दसैँमा खसीबोका र भेडाच्यांग्रा आइतबारदेखि बेच्न सुरु गरेको छ।
पहाडी क्षेत्रमा रातो माटो र कमेरोले पातेर घरलाई चिटिक्क पार्न थालिएको छ। यसैगरी ठाउँठाउँमा पिङ हालेर मानिसहरू रमाउन थालेका छन्।








मोरङको सुन्दरहरैँचा नगरपालिका-९ स्थित नागदेवी मन्दिरमा बडादसैँको अवसरमा दुर्गा पूजाका लागि स्थापना गरिएको मूर्ति
तस्बिरहरू : रासस