इरान-इजरायल द्वन्द्व

लेबनान छोड्दै विदेशी नागरिक, नेपालीलाई फिर्ता ल्याउन सरकारको छैन कुनै तयारी

रमेश भारती २० असोज २०८१ १२:१२
34
SHARES
लेबनान छोड्दै विदेशी नागरिक, नेपालीलाई फिर्ता ल्याउन सरकारको छैन कुनै तयारी

काठमाडौँ-पाँचथरकी संगिता लिम्बू दुई सातायता राम्रोसँग सुतेकी छैनन्। गत मंगलबार इरानले इजरायलमा आक्रमण गरेपछि लेबनानमाथि कतिबेला आक्रमण हुन्छ भनेर त्रासमा बस्नुपरेको सामाजिक सञ्जाल फेसबुकमार्फत लिम्बूले जानकारी दिइन्।

लेबनानको राजधानी बेरुतको लेचि सहरमा घरेलु रोजगारीमा कार्यरत लिम्बू स्वदेश फर्किन चाहिन्छन्। तर सरकारले स्वदेश फर्किने वातावरण नबनाएपछि लेबनानमै बस्न बाध्य हुनुपरेको उनले बताइन्। ‘लेबनानमा रहेको विदेशी स्वदेश फर्किन थाले। नेपाली भने स्वदेश फर्किने अवस्था छैन। लेबनानमा बाहिर हिड्ने अवस्था पनि छैन।’ उनले भनिन।

हिजबुल्लाहलाई निशाना बनाइ इजरायलले लेबनानममा हवाई हमला गरिरहेको छ। जसका कारण लेबनानी नागरिकसहित धेरै विदेशीले लेबनान छाड्न थालेका छन्। नेपाल सरकारले भने लेबनानमा रहेका आफ्ना नागरिक सुरक्षित भएको भन्दै बसेको छ। अहिलेसम्म लेबनानमा रहेका नेपाली सुरक्षित भएपनि त्रासमा बस्नुपर्ने बाध्यता भएको भोजपुरकी यमुना राईले सामाजिक सञ्जाल फेसबुकबाट जानकारी दिइन्।

एक सातायता लेबनानमा ठूलो आक्रमण हुँदै छ भनेर हल्ला चलिरहेको र यहाँ बस्ने वातावरण नभएको राईले बताइन्। ‘लेबनानमा कतिबेला के हुन्छ। थाहा छैन। सरकारले चाँडै फर्किने वातावरण बनाएदिए हुन्थ्यो’ उनले भनिन।

उनले सरकारलाई आग्रह गर्दै थप भनिन्, ‘लेबनानमाथि आक्रमण भए यतै मरिन्छ होला। लेबनानमा बस्न सक्ने अवस्था छैन। सरकारले फर्किने वातावरण कहिले बनाइदेला?’

लेबनानले गरेको निर्देशनको पछिल्लो अपडेटले आतंकवादी आक्रमण कुनै पनि समय र स्थानमा हुन सक्ने चेतावनी दिएको छ। जसका कारण लेबनानमा बसोबास गर्दै आएका विदेशी नागरिकले देश छाड्न थालेका हुन्।

लेबनान नछाड्नेहरूका लागि आक्रमणको समयमा सुरक्षित आश्रयसहित पूर्वतयारीका साथ आक्रमणको सामना गर्न तयार हुन त्यहाँको सरकारले निर्देशन दिएको छ। इजरायली हवाई हमलाका कारण एक लाख मानिस लेबनान छाडेर सिरिया गएको राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त फिलिपो ग्रान्डीले बताएका छन्। लेबनानमा १५ हजार बढी नेपाली कामदार कार्यरत रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अनुमान छ।

इजरायलले लेबनानमा आक्रमण गरेपछि त्यहाँ कार्यरत नेपाली सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। साथै मन्त्रालय गत साता एक विज्ञप्ती जारी गर्दै लेबनान र इजरायलमा कार्यरत नेपाली कामदारलाई सुरक्षित बस्न आग्रह गरेको छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतकुमार राईका अनुसार लेबनानमा रहेका नेपालीको अवस्थाबारे कायरोस्थित नेपाली दूतावासले जानकारी लिइरहेको छ। लेबनानमा रहेका कोही नेपाली समस्यामा नपरेको र त्यहाँ रहेका नेपाली सुरक्षित रहेको सूचना दूतावासले दिएको उनले बताए। ‘युद्ध बढ्दै गए लेबनानमा रहेका नेपाली फर्काउन सरकारले पहल गर्छ। यसका लागि छलफल भइरहेको छ,’ उनले भने, ‘लेबनानमा रहेका नेपालीलाई समस्यामा परे दूतावासमा सम्पर्क गर्न सूचना जारी गरिएको छ।’

गैरआवासीय नेपाली संघ, लेबनानका पूर्वअध्यक्ष अशोक थापाका अनुसार लेबनानको राजधानी बेरुत क्षेत्रको अवस्था सामान्य छ। तर यहाँ रहेका नेपालीहरू त्रसित छन्। जनजीवन सामान्य भए पनि आक्रमणको ठूलो त्रास भएको काण कतिपय नेपाली स्वदेश फर्किन खोजीरहेको उनले बताए। ‘सरकारले लेबनानबाट स्वदेश फर्किन चाहेका नेपालीलाई फर्किने वातावरण बनाउनुपर्छ। विदेशी नागरिकले लेबनान छाडेपछि नेपाली पनि अत्तालिएका छन्’ उनले भने।

अमेरिका, क्यानडा, जापान र अन्य देशले एक महिनाअघि देखिनै आफ्ना नागरिक स्वदेश फर्काउन थालेका छन्। लेबनानमा बढ्दो द्वन्द्व र अशान्तिका बीच बेरुत विमानस्थल बन्द हुन सक्ने चेतावनी दिँदै अस्ट्रेलिया सरकारले आफ्ना नागरिकहरूलाई तुरुन्तै लेबनान छोड्न आग्रह गरेको छ।

सोमबार राति सामाजिक सञ्जालमा विज्ञप्ति सार्वजनिक गर्दै विदेश मामिलामन्त्री पेनी वोङले लेबनानमा रहेका अस्ट्रेलियालीलाई हवाई टिकट व्यवस्था गर्न विदेश मामिला तथा व्यापार विभाग (डीएफएटी) ले एयरलाइन्ससँग समन्वय गरिरहेको जानकारी दिएका हुन्।

नेपाल सरकारले भने अहिलेसम्म आफ्ना नागरिक स्वदेश फर्किन अपिल गरेको छैन। संयुक्त राष्ट्रसंघीय  शान्ति मिसनअन्तर्गत लेबनानमा रहेका नेपाली शान्ति सैनिक ८५० जना छन्। नेपाली सेनाको गण हेडक्वार्टर लेबनानको दक्षिण-पश्चिम भाग मेइसेज जाबलमा युनिफिल मिसनअन्तर्गत तैनाथ छ।

प्रकाशित: २० असोज २०८१ १२:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − twelve =