‘हात जोडेर भन्छु, ललितपुरमा पानी आपूर्तिमा सहयोग गरिदिनुस्’

हिमाल प्रेस १९ असोज २०८१ २१:३१
16
SHARES
‘हात जोडेर भन्छु, ललितपुरमा पानी आपूर्तिमा सहयोग गरिदिनुस्’ खानेपानीमन्त्री प्रदीप् यादव

काठमाडौँ– खानेपानीमन्त्री प्रदीप यादवले दक्षिणकालीका जनप्रतिनिधि एवं नागरिकलाई ललितपुरका नागरिकका लागि तत्काल खानेपानी आपूर्तिमा सहयोग गर्न आग्रह गरेका छन्।

दक्षिणकाली नगरपालिकामा शनिबार आयोजित जनप्रतिनिधि, स्थानीय नागरिकसँगको गहन छलफल कार्यक्रममा मन्त्री यादवले हालैको बाढीपहिराले खानेपानीका थुप्रै आयोजनामा क्षति पुगेको र ललिपुर क्षेत्रमा दक्षिणकालीबाट जाने पानी रोकिएकाले उक्त पानी तत्काल आपूर्तिमा सहयोग गरिदिन आग्रह गरेका हुन्।

खानेपानीको प्यासामा कोही तड्पाई रहेका छन् भने त्यसलाई आफूसँग भएको पानी दिनु सबैको कर्तव्य हुने भएकाले दक्षिणकालीका जनप्रतिनिधि एवं नागरिकले ललितपुर क्षेत्रका नागरिकलाई पानी आपूर्ति गर्ने विषय एउटा मानवीय धर्मको विषय भएको बताए ।

उनले भने,, ‘विगतमा हाम्रा कर्मचारी, केयुकेएलका कर्मचारी एवं प्रतिनिधिबाट केही समस्या भएको होला। त्यसैले अहिले दक्षिणकालीका नागरिक ललितपुरमा पानी पठाउन रुष्ट भएका हुन सक्छन्। तपाईँका समस्या के हुन्? समाधानका लागि म पहल गर्नेछु। कृपया म हात जोडेर भन्छु। ललिपुरमा पानी आपूर्तिमा सहयोग गरिदिनुस्।’

बाढीपहिरोलगायतका समस्याले अहिले देश बिपद्मा र समस्यामा परेकाले सबै नेपाली एक अर्कालाई मानवीय सहयोग गर्न एकजुट हुनुपर्ने मन्त्री यादवको भनाइ थियो। ‘अविरल वर्षाका कारण गएको बाढी पहिराले देशका २१ जिल्ला प्रभावित भएका छन्। हामी बिपद्को घडीमा छौँ, नागरिक पानीका लागि तड्पिइ रहेका छन्। तपाईरूसँग पानी छ। अहिले नागरिकलाई पानी दिन तपाईँहरूको सहयोग आवश्यक छ,’ उनले भने।

यसैगरी मन्त्री यादवले केही दिन पहिले गएको बाढीपहिरोका कारण दक्षिणकालीमा खानेपानीको क्षेत्रमा भएका तथा अन्य समस्याका विषयमा सरकारले मन्त्रीपरिषद्को निर्णयबाट आवश्यक सहयोग गर्ने निर्णयसमेत गरेको जानकारी दिए। उनले भने, ‘बाढीपहिरोले भएको क्षतिका विषयमा सरकारद्वारा आवश्यक सहयोग गर्ने निर्णय भएको छ। सम्पूर्ण क्षतिको लागत तयार गर्नुहोला, मैले जतिसक्दो चाँडो समस्या समाधान गराउन पहल गर्ने छु।’

दक्षिणकालीमा खानेपानीका भएका क्षतिको मर्मत सम्हारका लागि तत्काल काम थाल्न आफूले मातहतका निकायलाई निर्देशन दिइसकेकाले बाढीले भत्काएका र बिगारेका खाने पानीका मुहानका काम सञ्चालन हुनेमा ढुक्कसमेत हुन मन्त्री यादवले सबैमा आग्रह गरे।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. तोसिमा कार्कीले दक्षिणकाली नगरपालिकाका समस्या सम्बोधन गर्न आफूले संघीय सरकारसँग सहजीकरण र समन्वय गर्ने बताइन्।

ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनले दक्षिणकाली नगरपालिकासँग सहकार्य गर्न आफू सदैब तयार रहेको बताए। उनले भने, ‘दक्षिणकाली नगरपालिकासँग सहकार्य गर्न हामी सदैब तयार छौँ, आजैदेखि पानी सञ्चालन गरी दिन म तपाईँलाई विषेश अनुरोध गर्दछु।’

आजै मन्त्री यादवले फर्पिङ र दक्षिणकाली क्षेत्रको अवलोकन भ्रमण गरेर पानीको स्रोत र वितरण प्रणालीको वर्तमान अवस्थाबारे विस्तृत जानकारी लिएका थिए। भ्रमणका क्रममा हालैको अविरल वर्षाले ल्याएको बाढीले क्षति पुर्‍याएका सुन्दरीजल पानी प्रशोधन केन्द्र, फर्पिङ जलाशय (हेड पण्ड), पेनस्टक पाइप, कुटुरी मूल र फर्पिङ पम्प हाउसमा भएको क्षतिको विवरण लिँदै ती क्षेत्रमा पानी आपूर्तिमा देखिएका समस्या समाधान गर्न आवश्यक कदमको बारेमा स्थानीय जनप्रतिनिधिसँग गहन छलफल पनि गरेका थिए।

खानेपानीको स्रोतको उत्पादन क्षमता बढाउँदै वितरणलाई अझ प्रभावकारी बनाउन, ललितपुर र दक्षिणकाली नगरपालिकामा स्वच्छ र नियमित पानी आपूर्ति सुनिश्चित गर्नका लागि रहेका राजनीतिक र प्राविधिक चुनौतीको समाधान गर्न आफू प्रतिवद्ध रहेको जाउँदै मन्त्री यादवले आफ्नो लक्ष्य स्थायी र दिगो समाधानमार्फत हरेक नागरिकलाई स्वच्छ पानी उपलब्ध गराउनुभएको बताए।

कार्यक्रममा दक्षिणकाली नगरपालिकाका नगरप्रमुख मोहन बस्नेत, उपप्रमुख बसन्ती तामाङ डङ्गोल, जनप्रीतनिधिलगायतका आम नागरिकले बाढीबाट खानेपानीका क्षेत्र तथा आम नगरिकका भएका क्षतिलाई राज्यले तत्काल सम्बोधन गरी आवश्यक पर्ने सबै सहयोग गर्नु पर्ने, दक्षिणकाली क्षेत्रका मुहानबाट खानेपानी लैजाँदा संघीय सरकारले दक्षिणकाली नगरपालिकालाई वार्षिक बजेटमार्फत थप बजेट पठाउनुपर्ने माग राखेका थिए।

आफ्ना मागका विषयमा राज्यले सम्बोधन गरे दक्षिणकालीबाट ललितपुरमा पानी पठाउनका लागि आफूहरू जतीबोला पनि तयारसमेत रहेको उनीहरूले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eleven =