 
                             
                                            काठमाडौँ- प्रदर्शनरत फिल्म ‘बेहुली फ्रम मेघौली’को निर्माण टिमले केही दिन अगाडि एउटा आकर्षक योजना ल्याएको थियो। यो योजनाअर्न्तगत हरेक दिन एक जनाले एमआईको मोबाइल र ग्राण्ड पुरस्कारअर्न्तगत २ लाख ७७ हजार पर्ने न्यूहको गोवा ०३ इलेक्ट्रिक स्कुटर जित्ने अफर ल्याएको थियो। यो अफर पहिलो हप्ता अर्थात् ७ दिनसम्म देशभरका दर्शकले सहभागी हुन पाउने व्यवस्था फिल्मको निर्माण टिमले गरेको थियो।
यो योजनामा भाग लिन चाहने व्याक्तिले नेपालकै ठूलो मल्टप्लेक्स चेन क्यूएफएक्सको अनलाइन टिकट काटेर सिनेमा हेर्नु पर्ने थियो। यो हलको टिकट अनिवार्यरूपमा अनलाइन माध्यम खल्ती एप अथवा क्यूएफएक्स एफ र वेबसाइटमा गएर काट्नु पर्ने शर्त थियो। हल मै गएर काटेको टिकट मान्य नहुने सर्त सिनेमाको निर्माण टिम र क्यूएफएक्स सिनेमाजले लागू गरेको थियो।
सोही अनुरूप पहिलो दिन बिहीबार अनलाइन टिकट काटेकी श्रद्धा प्रसाइँलाई फिल्म ‘बेहुली फ्रम मेघौली’को निर्माणपक्षले पुरस्कार वितरण गरेको छ। झापाको बिर्तामोडस्थित सिनेम्याक्स वानस्टप मलबाट विजेतालाई एमआई मोबाइल वितरण गरिएको हो।
‘वाच एण्ड विन’ योजनाअन्तर्गत मोबाइल जित्ने अवसर ल्याइएको थियो। श्रद्धा पहिलो दिनकी विजेता हुन्। अन्य दिनका विजेता पनि क्रमशः दैनिक घोषणा गर्दै जाने बताइएको छ।
यसका साथै फिल्मले बिहीबार देशभरका हलमा उत्साहजनक व्यापार गरेको थियो। फिल्मले घटस्थापनाको दिन देशभरका हलबाट ८० लाख ग्रस कलेक्सन गरेको रिपोर्ट वितरक अशोक शर्माले सार्वजनिक गरेका छन्। ‘बेहुली फ्रम मेघौली’लाई बिहीबारका लागि देशभरका सिनेमा घरले ३४० भन्दा धेरै शो दिएका थिए। नेपालमा यति धेरै शो पाउने यो पहिलो फिल्म समेत हो।
‘बेहुली फ्रम मेघौली’ बिहीबारबाट रिलिज भएको छ। फिल्ममा निश्चल बस्नेत र स्वस्तिमा खड्कासँगै बसुन्धरा भुषाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु विष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय छ।
फिल्ममा सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन छ। अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा निश्चलले सघाएका छन्। सिनेमाका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 