प्राकृतिक विपत्ति : ११ हजार विद्यार्थीले पढ्न पाएनन्, ४२ विद्यालयमा क्षति

हिमाल प्रेस १४ असोज २०८१ १२:१५
218
SHARES
प्राकृतिक विपत्ति : ११ हजार विद्यार्थीले पढ्न पाएनन्, ४२ विद्यालयमा क्षति

काठमाडौँ- बिहीबारदेखिको अविरल वर्षापछि बाढीपहिरो र डुबानका कारण झन्डै ११ हजार विद्यार्थीले पढ्न पाएनन् भने देशभरका ४२ वटा विद्यालयमा क्षति पुगेको छ।

अविरल वर्षाबाट विभिन्न स्थानमा भएका भौतिक तथा मानवीय क्षतिका विवरणहरू आइरहेका छन्।

यसैक्रममा शिक्षा, विज्ञान प्रविधि मन्त्रालयले आइतबार बेलुकी ५ बजेसम्म विद्यालय तथा विश्विद्यालयतर्फको क्षतिको विवरण सार्वजनिक गर्दै १० हजार नौ सय विद्यार्थी पठनपाठनबाट वञ्चित भएको र ४२ वटा विद्यालयमा क्षति पुगेको जनाएको छ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले रसुवा, तेह्रथुम, मकवानपुर, हुम्ला, जाजरकोट, पाँचथर, मोरङ, सिराहा, सर्लाही, सप्तरी र पर्सा जिल्लाका विद्यालयमा क्षति पुगेको बताए।

बाढीपहिरोबाट विद्यालयको पर्खाल भत्किएको र मुख्य भवन पहिरोको जोखिममा रहेको, शिक्षक तथा विद्यार्थीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको भट्टराईले जानकारी दिए।

मन्त्रालयका अनुसार बाढीपहिरो र डुबानबाट क्षति भएका शैक्षिक संस्थाका थप विवरण आउन बाँकी छ।

याे पनि

विपद्‌मा विद्यालय : निजी स्कुलमा बढी क्षति


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − four =