सडक सञ्जालसँग विच्छेद भयो रामेछाप

हिमाल प्रेस १३ असोज २०८१ १४:२९ | Sunday, September 29, 2024
सडक सञ्जालसँग विच्छेद भयो रामेछाप सुनकोशीमा शनिबार आएको बाढीले भत्काएको रामेछापसँग जोड्ने सिन्धुलीको खुरकोटस्थित पुल। तस्बिर सौजन्य : युवराज श्रेष्ठ

काठमाडौँ- बाढीपहिरोका कारण रामेछाप बाहिरी जिल्लासँग सम्पर्क विच्छेद हुन पुगेको छ। सदरमुकाम मन्थलीसँग जोड्ने सिन्धुलीको खुरकोटस्थित सनुकोशी नदीको पुल शनिबार बाढीले बगाएपछि काठमाडौँ, सिन्धुलीलगातयका बाहिरी जिल्लासँग सडक सम्पर्क विच्छेद भएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए।

यसैगरी जिल्लाका अन्य भौतिक संरचनामा पनि क्षति भएको छ। पौडेलका अनुसार मन्थली नगरपालिका १३ फुलासी जोड्ने दोलखातर्फ पक्की सडक बाढीले बगाएको छ भने मन्थली हुँदै चिसापानी जाने सडकमा पूर्ण क्षति भएको छ।

जिल्लाभर विद्युत् सेवा अवरुद्ध भएको छ। टेलिफोन सेवामा पनि समस्या देखिएको छ। यसैगरी मन्थली विमानस्थलमा तामाकोशीको बाढी पस्दा हवाई यातायात अवरुद्ध भएको थियो। आइतबार विमानस्थलमा जमेको पानी सुक्न थालेको स्थानीयले बताएका  छन्।

प्रमुख जिल्ला अधिकारी पौडेलले आइतबार साँझदेखि बिजुली  आपूर्ति हुने गरी काम भइरहेको बताए।

बीपी राजमार्गसँग जोडिएको सित्खाको पक्की पुल पनि केही क्षति भएको छ। प्रमुख जिल्ला अधिकारीसहितको टोली सित्खाबाट जिल्ला प्रवेश गर्ने बाटो खुलाउन सक्रिय भएको छ।

पौडेलले भने, ‘सित्खा हुँदै मन्थलीतर्फ जाने सडकका धेरै ठाउँमा पहिरो गएका छन्। जिल्लाका सबै संयन्त्र प्रयोग गरेर पहिरो खुलाउने प्रयास भइरहेको छ।’

प्रकाशित: १३ असोज २०८१ १४:२९ | Sunday, September 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast