११ ब्रान्डका पानी पिउन अयोग्य

हिमाल प्रेस १३ असोज २०८१ १३:४९
16
SHARES
११ ब्रान्डका पानी पिउन अयोग्य

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले विभिन्न ११ ब्रान्डका पानीमा फिकल कोलिफर्म भेट्टाएपछि बिक्री वितरणमा रोक लगाएको छ। रोक लगाइएका हरेकलाई २ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय भएको छ।

महानगरले भदौ १२ गतेदेखि २८ गतेबीचका विभिन्न दिनमा विभिन्न स्थानबाट २० वटा पानीको नमूना लिएको थियो। यसबाहेक उपभोक्ताले गुनासो गरेपछि एउटाको नमूना संकलन गरेर काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो।

यसरी पठाइएका २१ वटा नमूनामध्ये ११ वटामा फिकल कोलिफर्म देखिएको हो। प्रति १ सय मिलिलिटर नमूना परीक्षणमा कोलोनी फर्मिङ् युनिट (सिएफयु) मापदण्ड विपरीत देखिएको महानगरले जनाएको छ।

खाद्य पदार्थको अनिवार्य गुणस्तर मापदण्डअनुसार प्रशोधित पिउने पानीमा कोलिफर्म शून्य हुनुपर्छ। फिकल कोलिफर्म दिसामा पाइन्छ। दिसामा पाइने सुक्ष्मजीव पानीमा भेटिनुलाई पिउन अयोग्य मानिन्छ। जरिवाना र बिक्री वितरणमा रोक लगाइएका पानीका ब्रान्डमा ब्याच नं. १३ को फ्रेस ड्रप पानीमा फिकल कोलिफर्मको मान २३ कोलोनी फर्मिङ् युनिट (सिएफयु) देखियो।

उपभोक्ताबाट गुनासो आएपछि भदौ १८ गते यसको नमूना लिइएको थियो। पञ्चरत्न ग्रुपले उत्पादन गर्ने यो पानी टोखा नगरपालिका वडा नं.८ बाट उत्पादन भइरहेको छ।

महानगरका अनुसार भदौ १२ गते नमूना लिइएका पानीमध्ये ब्याच नं.१२ को अक्वा पिसमा ८० र अक्वा टोखाको पानीमा फिकल कोलिफर्मको मान ३० कोलोनी फर्मिङ् युनिट (सिएफयु) देखियो। अक्वा पिस टोखा ८ मा रहेको पिस स्प्रिङ् वाटरले उत्पादन गरेको पानी हो भने अक्वा टोखा, टोखाकै अक्वा एस. एन. एस. वेभरेजले उत्पादन गरेको पानी हो।

ब्याच नं. ६ को कोलभोतेश्वर ब्रान्डको भदौ २४ गते नमूना लिइएको हो। यसमा फिकल कोलिफर्मको मान ११६ कोलोनी फर्मिङ् युनिट (सिएफयु) छ। यो पानी कागेश्वरी मनोहरामा सञ्चालित उत्तरवाहिनी फुड एण्ड वेभरेजले उत्पादन गरेको हो।

भदौ २४ गते नै नमूना लिइएका पानीमा गोकर्णेश्वरमा सञ्चालित अक्वा सुन्दरी उद्योगले उत्पादन गर्ने अक्वा डिवी, कागेश्वरी मनोहरा, वडा नं. ६ मा रहेको स्नो क्युव ड्रिङ्किङ् वाटरले उत्पादन गर्ने अकुवा, गोकर्णेश्वरमा रहेको स्तुपा इष्डष्ट्रीले उत्पादन गरेको क्युब प्रोसेस ड्रिङिकङ् वाटर र गोकर्णेश्वरमा सञ्चालित मुन लाइट स्प्रिङ् मिनरल वाटरले उत्पादन गरेको अक्वा माइल्ड नामको पिउने पानीमा फिकल कोलिफर्म भेटिएको महानगरको भनाइ छ।

अक्वा डिवीमा ५, अकुवामा १७, ब्याच नं. २०० को क्युव प्रोसेस ड्रिङ्किङ् वाटरमा ३ सयभन्दा धेरै र व्याच नं. ४२ को अक्वा माइल्ड व्राण्डको पानीमा २१ कोलोनी फर्मिङ् युनिट (सिएफयु) भेटिएको छ।

भदौ २८ गते संकलन गरिएका नमूनामध्ये अक्वा कपन र अक्वा गौरशंकरमा कोलिफर्म भेटियो। अक्वा कपनमा फिकल कोलिफर्म मान ४ र अक्वा गौरशंकरमा ३ सयभन्दा धेरै कोलोनी फर्मिङ् युनिट (सिएफयु) देखिएको छ।

अक्वा कपन एम.के.मिनरल वाटर उद्योगले बुढानीलकण्ठ नगरपालिकाको कपन क्षेत्रबाट उत्पादन गर्छ। अक्वा गौरी शंकर, गोकर्णेश्वरमा रहेको कोशी मिनरल उद्योगले उत्पादन गर्छ।

प्रकाशित: १३ असोज २०८१ १३:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − fourteen =