सत्तरी वर्षपछि सुनकोशी र रोशीमा भयानक बाढी

हिमाल प्रेस १३ असोज २०८१ ८:४२
18
SHARES
सत्तरी वर्षपछि सुनकोशी र रोशीमा भयानक बाढी फाइल तस्बिर

काठमाडौँ- रोशी र सुनकोशीको बाढीबाट सिन्धुली सर्वाधिक प्रभावित भएका छन्। जिल्लाका गाउँबस्ती, फाँट, सडक, विद्यालय भवन, विद्युत् आयोजना, ठूला–साना पक्की र झोलुंगे पुलमा धेरै हानी भएको छ। सत्तरी वर्षअघि यस्तै बाढी देखेको स्थानीय ज्येष्ठ नागरिकहरूले बताएका छन्।

बाढीबाट खुर्कोट बसपार्क डुबेको छ भने रामेछाप जाने खुर्कोटको पक्की पुल पनि बगेको छ। बाढीले गाउँबस्तीलाई बगरमा परिणत गरेको छ भने धानबाली नष्ट भएको छ।

सुनकोशीको बाढीले दुम्जाफाँट, खुर्कोट, मुलकोट, दिङ्दिङबेँसी, कुखुरेटार, च्याकुटार, सुम्नाङबेँसी, खाङ्साङलगायत गाउँबस्तीका साथै अन्य स्थानका भौतिक पूर्वाधारमा क्षति भएको सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेले बताए।

बाढी प्रभावित क्षेत्रमा स्थानीय र सुरक्षाकर्मीको सहयोग तथा समन्वयमा खोजी र उद्धार जारी रहेको तथा वर्षा रोकिएसँगै अवरुद्ध बिपी राजमार्ग र मध्यपहाडी लोकमार्ग सञ्चालनको प्रयास आजदेखि प्रारम्भ गरिने उनले बताए।

बीपी राजमार्गअन्तर्गत सिन्धुलीदेखि मुलकोटसम्म अवरोध नरहेका तथा दुम्जा क्षेत्रमा भत्किएको सडक मर्मत गर्न सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरी र सडक विभागको सहकार्यमा यथाशीघ्र बाटो खोलिने उनले बताए।

प्रभावित क्षेत्रका विपद्मा परेका नागरिकलाई राहत र उद्धारका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय भइरहेको छ।

भत्किएको सडक र पुल मर्मत गरी यथाशीघ्र यातायातका साधन सञ्चालनका लागि संघ र प्रदेश सरकारसँग बजेट र अन्य सहायताका निम्ति अनुरोध गरिएको गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले बताए।

प्रकाशित: १३ असोज २०८१ ८:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast