प्रकाशमान सिंहलाई रवीन्द्र मिश्रको चुनौती : एक्लै-एक्लै फाइट गर्ने?

हिमाल प्रेस ८ असोज २०८१ १६:२६ | Tuesday, September 24, 2024
प्रकाशमान सिंहलाई रवीन्द्र मिश्रको चुनौती : एक्लै-एक्लै फाइट गर्ने?

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले उपप्रधानमन्त्रीसमेत रहेका कांग्रेस सांसद प्रकाशमान सिंहलाई चुनावमा एक्लै भिड्नका लागि चुनौती दिएका छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत मिश्रले एक्लै-एक्लै चुनाव लडेको भए आफूले हराउने दाबीसहित अर्काको बुई चढेर सिंहले जितेको बताएका हुन्।

प्रतिनिधिसभाको यसअघिका दुई निर्वाचनमा मिश्र सिंहसँग नै पराजित भएका हुन्।

‘एक्लै-एक्लै फाइट गर्ने? एक्लै-एक्लै लडेको भए मैले तपाईँ (प्रकाशमान सिंह) लाई दुबै पटक आरामले हराइदिन्थेँ,’ मिश्रले भनेका छन्, ‘तर के गर्ने सबै हतकन्डा अपनाएर, अर्काको बुइ चढेर जित्नुभयो। त्यो पनि बल्लबल्ल थोरैथोरै मार्जिनले। तर चुनाव जितेर, उपप्रधानमन्त्री भएर के गर्नुहुन्छ? तपाईँको भन्दा मेरो नाक १०० गुणा बढी ठाडो छ। याद गर्नुभा’छ?’

उनले चुनाव जित्दैमा मन्त्री/प्रधानमन्त्री हुँदैमा इज्जत नबढ्ने भन्दै सिंहविरुद्ध टिप्पणी गरेका छन्।

उनले अबको निर्वाचनमा जसरी पनि हराउने घोषणा गरेका छन्। उनले भनेका छन्, ‘अब तेस्रो पटक, अनाथ बालबालिकाको ‘बाल मन्दिर’ नै ध्वस्त पार्ने आरोप लागेकी दिदीलाई बचाऊ गर्न ‘मुद्दा नै ढिसमिस गर्न खोज्ने’ तपाईँलाई नहराई त कहाँ छोडुँला र! जुन दिन म तपाईँलाई हराउँछु नि, त्यस दिन बल्ल यो देशको वास्तविक रूपान्तरणको शंखनाद हुनेछ। यसलाई शाब्दिक होइन, प्रतिकात्मक रूपमा बुझ्नुहोला।’

प्रकाशित: ८ असोज २०८१ १६:२६ | Tuesday, September 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast