अस्तव्यस्त सूर्यविनायक-धुलिखेल सडक

रमेश भारती ७ असोज २०८१ ८:४२
36
SHARES
अस्तव्यस्त सूर्यविनायक-धुलिखेल सडक विस्तारका लागि भत्काइएको सूर्यविनायक-धुलिखेल खण्डको साँगा क्षेत्रस्थित सडक। तस्बिरहरू : रमेश दवाडी

काठमाडौँ– संघीय राजधानी प्रवेश गर्ने पूर्वी नाका अरनिको राजमार्ग विस्तारमा ढिलाइ हुँदा यात्रु र सडक आसपासका बासिन्दा मर्कामा परेका छन्। अरनिको राजमार्गको सूर्यविनायक-धुलिखेल सडक खण्ड विस्तार कार्य तोकिएको समयमा सम्पन्न नहुँदा सर्वसाधारण समस्यामा परेका हुन्।

बागमती प्रदेशका काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुलीसहित कोशी र मधेश प्रदेशका नागारिक काठमाडौँ आवतजावत गर्न सबैभन्दा सजिलो र छोटो सूर्यविनायक-धुलिखेल सडक हो। सडक विस्तार गरेर चार लेनको बनाउन थालिए पनि कहिले सम्पन्न हुने टुंगो लागेको छैन।

ठाउँठाउँमा सडक भत्काइएको छ भने निर्माण सामग्री जथाभाबी राख्दा पैदल यात्री र सवारीसाधन आवागमनमा समस्या हुँदै आएको छ। धुलो र हिलोले गर्दा दैनिक जीवनमै असर परेको गुनासो सडक आसपासका बासिन्दाले गरेका छन्।

सडक किनारका घरबस्ती र होटल/पसल धुलाम्मे देखिन्छन्। पानी परेका बेला हिलाम्मे हुन्छ। सडकछेउमा मास्क नलगाई एकछिन पनि उभिन सक्ने अवस्था नभएको भक्तपुर साँगास्थित पलाँसे दाउरा-चुलो रेस्टुरेन्टका सञ्चालक विष्णु सापकोटाले बताए। उनका अनुसार दुई वर्षयता होटल व्यवसायमा मन्दी आएको छ। सडक निर्माण सुस्त हुँदा व्यवसायी धराशयी अवस्थामा पुगेको उनको गुनासो छ।

‘सडक भत्काउनुअघि मासिक ४० लाखको व्यापार हुन्थ्यो। अहिले मासिक १०-१२ लाखमा झरेको छ। सडक निर्माणमा यस्तै ढिलाइ हुने हो भने सूर्यविनायक-धुलिखेल आसपासका होटल व्यवसायी बन्द हुन्छन्’, सापकोटाले भने।

ट्याक्सी चालक मौसम थापामगर सडक निर्माणकार्य समयमा सम्पन्न नहुँदा व्यवसाय धरापमा पर्ने थालेको बताउँछन्। सडक निर्माण समयमा सम्पन्न नहुँदा सवारीसाधन सकसका साथ कुदिरहे पनि समस्या समाधानका लागि चासो नदिइएको उनको गुनासो छ। ‘सडककै कारण कमाइ घट्न थालेको छ। समयमा कत्तै पुगिँदैन। ठूलो गाडी रोकियो भने घन्टौँ जाममा बस्नुपर्छ’, उनले भने।

सडक केही समय बन्द हुँदा लामो जाममा बस्नुपर्ने बाध्यतामा सवारी चालकहरू छन्। मालसामान बोकेर आएका सवारी सडकमा बिस्तारै गुडेको देखिन्छ। आकस्मिक सेवाका दमकल, एम्बुलेन्स र प्रहरीका गाडीसमेत जाममा पर्ने गरेका छन्।

सडक साँघुरो त्यसमा घुमाउरो बाटो भएका कारण सानाठूलो सवारीसाधन मुस्किलले कुदाउनुपर्ने ट्याक्सी चालक थापामगरले बताए। सडक निर्माण गर्दा व्यवसायी, यातायात र अन्य सेवासुविधामा पर्ने असरलाई सरकारले ध्यान नदिएको उनी बताउँछन्।

मुख्य कारण बजेट अभाव

दैनिक हजारौँ सवारीसाधन आवातजावत हुने सूर्यविनायक-धुलिखेल सडकमा ट्राफिक चापअनुसारको सडक नभएको भन्दै सरकारले आफ्नै लगानीमा चार लेन सडक निर्माण थालेको थियो। आयोजनाका अधिकारीहरु भने बजेट अभावका कारण काममा सुस्त गतिमा भएको बताउँछन्। सूर्यविनायक-धुलिखेल, सिन्धुली-बर्दिबास सडक आयोजना प्रमुख राजेन्द्रप्रसाद दासका अनुसार सरकारले सम्झौताअनुसार बजेट दिएको छैन। सरकारले बजेट निकासा गरिदिए निर्धारित समयमा सडक निर्माण सम्पन्न हुने उनले बताए।

जगातेदेखि साँगासम्मका घुम्ती र पर्खाल निर्माणमा समय लागेको छ। ‘निर्माणाधीन सडकको नाली, कल्भर्ट निर्माण अन्तिम चरणमा छ। सडकको दायाँबायाँ टेवा पर्खाल लगाउने काम भइरहेको छ। सवारीसाधन आवागमन व्यवस्थित गर्दै काम गर्नुपर्ने भएका कारण सोचेजति प्रगति भएको छैन’, उनले भने।

२०७९ पुसमा सूर्यविनायक-धुलिखेल सडक निर्माण दुई चरणमा तीन वर्षभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको थियो। ७.५ किमि लामो सूर्यविनायक-साँगा सडकखण्ड विस्तारका लागि तीन अर्ब ८८ करोड ९३ लाख रुपैयाँ र साँगा-धुलिखेल ८.४ किमि सडक विस्तारका लागि चार अर्ब पाँच करोड ६४ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।

सडक विस्तार कार्य करिब ३० प्रतिशत सम्पन्न भएको आयोजना प्रमुख दासले जानकारी दिए। आयोजनाका लागि छुट्याइएको ४० प्रतिशत बजेट खर्च भएको छ।

सूर्यविनायकदेखि साँगासम्म आशिषकुमार बन्धन भगवती जेभी र साँगादेखि धुलिखेलसम्म लामा कन्स्ट्रक्सनले ठेक्का लिएको छ। सडक विस्तारका क्रममा निर्माण हुने पुल निर्माणको ठेक्काचाहिँ हिम्दुङ एन्ड थोकर कम्पनीले ठेक्का लिएको आयोजनाले जनाएको छ।

ठेकेदार पनि काम चाँडो नहुनुमा सरकारलाई दोष लगाउँछन्। आफ्ना तर्फबाट काम भइरहे पनि सरकारी स्तरबाट बजेट निकासमा विलम्ब हुँदा काममा ढिलाइ भएको दाबी उनीहरुको छ।

सूर्यविनायकदेखि साँगासम्मको सडक विस्तारका ठेकेदार कम्पनी वन्दना भगवती जेभीको सञ्चालक रामजी पन्त निर्माणको काम किन सुस्त गतिमा भइरहेको भनेर सरकारलाई सोध्नुपर्ने बताउँछन्। उनले त्यसपछि मात्र ठेकेदारलाई यो प्रश्न सोध्दा उचित हुने उनले बताए।

ट्याक्सी चालक थापामगर।

‘७६ घर भत्काउन बाँकी छ। ती घर भत्काउन सक्ने अवस्था छैन। सूर्यविनायक-धुलिखेल सडकखण्डमा ८ वटा मन्दिर छन्। ती मन्दिर चलायो कि स्थानीयको विरोध हुन्छ,’ उनले भने। समयमा रकम निकासी गर्ने सरकारकै मन्त्रालयहरुबीच कुरा नमिल्दा समस्या देखिएको गुनासो
उनको छ। उनले सरकारले समयमा भुक्तानी दिनुपर्ने बताए।

पन्तका अनुसा साँगाको अन्डरपास डिजाइनको नक्सा तयार भएको छैन। जसका कारण यस क्षेत्रमा ६ महिनादेखि काम रोकिएको छ। उनले सडक विस्तारका लागि आवश्यक पर्ने १७ रोपनी जग्गाको मुआब्जासमेत सरकारले नदिएको बताए।

सरकारले अघिल्लो आर्थिक वर्षमा आयोजनाका लागि छुट्याएको रकम निकासा रोकेको छ। जसका कारण पनि सडक निर्माणको काममा अवरोध पुगेको आयोजना प्रमुख दास बताउँछन्।  उनले आयोजनाका लागि छुट्याइएको ४० प्रतिशतभन्दा बढी बजेट निकासा रोकिएको स्वीकमार गरे।

दासले २०८२ मंसिरभित्र सूर्यविनायक-धुलिखेल सडक विस्तार सक्ने गरी भौतिक पूर्वाधार तथा यतायात मन्त्रालयलाई प्रस्ताव गरिएको बताए। मन्त्रालयले सोहीअनुसार बजेट निकासा गर्ने आश्वासन छ। ‘बजेटको समस्या भएन भने आगामी वर्षको असारदेखि मंसिरभित्र सडक विस्तार कार्रय पूरा हुन्छ’, दासले भने।

सडक विभागका प्रवक्ता उमेशविन्दु श्रेष्ठ सूर्यविनायक-धुलिखेल सडक विस्तारका लागि आवश्यक बजेट निकासा चाँडै हुने बताउँछन्। यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अर्थ मन्त्रालयमा पत्राचार गरेको छ। ‘सूर्यविनायक-धुलिखेल सडकखण्डको विस्तार एक बर्षभित्रै सम्पन्न हुने गरी काम भइरहेको छ। सरकार पनि यस सडकको काम चाँडै सक्ने गरी जुटेको छ’, श्रेष्ठले भने।

सडक विस्तारमा खटिएका मजदुर।
प्रकाशित: ७ असोज २०८१ ८:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − nine =