काठमाडौँ- रिलायन्स इन्टरनेसनल एकेडेमी बागमती प्रदेश सरकारबाट सम्मानित भएको छ। बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले राष्ट्रिय शिक्षा दिवसको अवसरमा एकेडेमीलाई पुरस्कृत गरेको हो।
राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा बागमती प्रदेशका संस्थागत विद्यालयतर्फबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा द्वितीय स्थान प्राप्त गरेबापत विद्यालयलाई प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा र सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीले बुधबार हेटौँडामा आयोजित समारोहमा पुरस्कृत गरेका हुन्। समारोहमा विद्यालयका संस्थापक प्रधानाध्यापक खेमलाल भुसाल र ईसीए/सीसीए कोअर्डिनेटर श्रीधरप्रसाद पौडेललाई नगद ८० हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो।
गत वर्ष रिलायन्सबाट १ सय ८ जना विद्यार्थीले एसईई दिएका थिए। तीमध्ये ५ जनाको जीपीए ४ थियो। समग्रमा ३.७९२ औसत जीपीए प्राप्त गर्दै रिलायन्स बागमती प्रदेशमा द्वितीय बनेको हो। मन्त्रालयले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) मा कम्तीमा ३५ जना परीक्षार्थी सहभागी गराएको हुनुपर्ने प्रमुख मापदण्ड बनाएर पुरस्कारका लागि छनोट गरेको हो। विद्यालयले प्राप्त गरेको औसत जीपीएलाई सूत्रबाट गणना गरी नतिजा निकालेको मन्त्रालयले जनाएको छ।
बूढानीलकण्ठ नगरपालिका–१० स्थित मिलनचोकमा रहेको एकेडेमीले एसएलसीदेखि एसईईसम्म आइपुग्दा उत्कृष्ट नतिजा हात पार्दै आएको छ। २०५० सालदेखि सञ्चालनमा रहेको उक्त एकेडेमीले २०७० सालको एसएलसीमा नेपाल प्रथम (बोर्ड फर्स्ट) र २०७५ सालको एसईई परीक्षामा संस्थागत विद्यालयतर्फ प्रथम हुन सफल भएको थियो भने २०७९ सालको एसईई नतिजामा प्रथम स्थान प्राप्त गर्दै बागमती प्रदेश सरकारबाट सम्मानित भएको थियो।