जोमसोमको ऐतिहासिक काठेपुल सौन्दर्यकरण गरिँदै

हिमाल प्रेस २ असोज २०८१ १४:११ | Wednesday, September 18, 2024
जोमसोमको ऐतिहासिक काठेपुल सौन्दर्यकरण गरिँदै

म्याग्दी- मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित कालीगण्डकी नदीमाथिमा रहेको ऐतिहासिक महत्वको काठेपुलको जीर्णोद्धार  गरिएको छ।

ऐतिहासिक सम्पदाको संरक्षण र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले घरपझोङ गाउँपालिकाले जीविकोपार्जनका लागि दिगो पर्यटन परियोजना (एलटिएलआरपी) मार्फत एक शताप्ब्दी पुरानो पुल जीणोद्धार र सौन्दर्यकरण गरेको हो। घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले पुलको मौलिकता नमेटिने गरी स्थानीय प्रविधि र सामग्रीको प्रयोगबाट जीर्णोद्धार गरिएको जानकारी दिए।

‘स्थानीय मौलिक सीप र प्रविधिको प्रयोगबाट एक सय वर्ष भन्दाअघि काठैकाठबाट बनेको पुल जीर्ण हुँदा दुर्घटनाको जोखिम बढेको थियो’, अध्यक्ष लालचनले भने, ‘बलियो काठ प्रयोग गरेर पुरानै शैलीमा जीर्णोद्धार गरिएको पुलमा लाइट जडान गरेर रातिमा झलमल्ल देखिने गरी सौन्दर्यकरण गरेका छौँ।’

पच्चिस मिटर लामो पुलको जीर्णोद्धारका लागि रु १० लाख खर्च भएको घरपझोङका प्रमुख प्रशासकीय अधिकृत बेदहरि अधिकारीले जानकारी दिए। पालकाको ५८ प्रतिशत र एलटिएलआरपी परियोजनाको ४२ प्रतिशत लागत साझेदारीमा उपभोक्ता समितिमार्फत पुल जीर्णोद्धार गरिएको उनले बताए।

सोही परियोजनाअन्तर्गत काठको पुलबाट केहीमाथि रहेको मोटरेबल पुलको छेउमा रु २५ लाखको लागतमा निर्माण भएको दुई कोठे भवनमा पर्यटक सूचना केन्द्र सञ्चालन गर्ने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ। जीणोद्धार भएको पुलले पर्यटक लोभ्याउन थालेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए। उनका अनुसार पुल तर्ने, अवलोकन गर्ने, फोटो, भिडियो खिच्ने र सामाजिक सञ्जालमा राख्ने आन्तरिक पर्यटकक आगमन बढ्न थालेको छ।

जीर्ण काठेपुलमा पुराना काठका सामग्री विस्थापित गरी नयाँ काठका संरचना बनाउने, काठेपुलको रेलिङ फेर्ने र धेरै भार थेग्न सक्नेगरी साविक भन्दा थप बलियो बनाइएको छ। जोमसोमका ८९ वर्षीय टीकाप्रसाद शेरचनले यो पुल एक सय वर्षअघि निर्माण भएको बताए।

मुस्ताङका स्थानीयवासी, पशु चौपाया, दामोदरकुण्ड, मुक्तिनाथ र कागबेनी जाने तीर्थयात्री तथा घुम्न आउने पर्यटकलाई सुरक्षित रुपमा कालीगण्डकी नदी वारपार गर्ने सुविधाका लागि काठको पुल निर्माण भएको थियो।

जोमसोमस्थित कालीगण्डकी नदीमाथि मोटरेबल पुल निर्माण भएपछि काठको पुलको प्रयोग घटेको थियो। विसं २०४४ मा कालीगण्डकीमा आएको बाढीले क्षति गरेको पुल विसं २०७२ को भूकम्पका कारण बीचभागबाट चोइटिएको थियो।

प्रकाशित: २ असोज २०८१ १४:११ | Wednesday, September 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast