 
                             
                                            नयाँदिल्ली- जातीय हिंसा तथा प्रदर्शनकारी र प्रहरीबीचको झडपका कारण बन्द भएको एक हप्तापछि भारतको उत्तरपूर्वी राज्य मणिपुरमा मंगलबारदेखि विद्यालय पुनः खोलिएको स्थानीय सरकारले जनाएको छ।
मणिपुरमा सन् २०२३ मे मा सुरु भएको हिन्दु मेइतेई बहुमत र इसाई कुकी समुदायबीच लडाइँका कारण कम्तिमा दुई सय जनाको ज्यान लिएको स्रोतले जनाएको छ।
त्यहि समयदेखि युद्धग्रस्त म्यानमारको सिमानामा रहेको उत्तरपूर्वी राज्यमा समुदायहरू प्रतिद्वन्द्वी समूहहरूमा विभाजित भएका छन्। केही समयको सापेक्षिक शान्तिपछि पछिल्लो समय फेरि हिंसा बल्झिदा कम्तिमा ११ जनाको मृत्यु भएको थियो।
मणिपुरको राजधानी इम्फालमा लडाइँको विरोधमा मेइतेई विद्यार्थीले गरेको प्रदर्शनले हिंसात्मक रुप धारण गर्दा राज्यका केही भागहरूमा कर्फ्यू लगाइएको थियो।
हाल हिंसा कम भएसँगै इन्टरनेट सेवा पुनःस्थापित भएको छ भने मंगलबारदेखि सबै विद्यालयमा सामान्य कक्षा पुन: सुरु गर्न सरकारी आदेश जारी गरिएको छ।
मणिपुरका मुख्यमन्त्री बीरेन सिंहले सबैलाई जिम्मेवारीपूर्वक इन्टरनेट प्रयोग गर्न तथा शान्ति र सद्भाव बिगार्ने कुनै सामग्री पोस्ट नगर्न आग्रह गरेका छन्।
यसैबीच अधिकारकर्मीहरूले स्थानीय नेताहरूले राजनीतिक लाभका लागि जातीय विभाजन बढाएको आरोप लगाएका छन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 