कारबाहीको कान्लोमा म्यानचेस्टर सिटी

हिमाल प्रेस ३१ भदौ २०८१ २०:३२
28
SHARES
कारबाहीको कान्लोमा म्यानचेस्टर सिटी तस्बिरः पिक्सेल

काठमाडौँ- वित्तीय नियम उल्लंघन गरेको आरोप खेपिरहेको म्यानचेस्टर सिटीमाथि अधिकतम कारबाही भए, इंग्ल्यान्डको च्याम्पियन यो क्लब इंग्लिस प्रिमियर लिगबाट घटुवामा पर्नेछ। सिटीलाई कस्तो कारबाही होला? यसको निर्क्योल सोमबारबाट सुरु भएको बहसले दिनेछ। यो बहसलाई इंग्ल्यान्डका सञ्चारमाध्यमहरू ‘ट्रायल अफ द सेन्चुरी’ भनिरहेका छन्।

गत सिजन लगातार चौथो पटक प्रिमियर लिग जितेको सिटीमाथि लिगको वित्तीय नियम उल्लंघन सम्बन्धी कुल ११५ आरोप छन्। यी कुनै पनि आरोप सिटीले स्वीकार गरेको छैन। आफूमाथि लागेका हरेक आरोप असत्य साबित गर्न पर्याप्त प्रमाण रहेको सिटीको जिकिर छ।

सिटीले जे जस्तो जिकिर गरिरहे पनि सत्य के हो भने, संयुक्त अरब इमिरेट्सबाट लागानी गरिएको यो क्लब यतिबेला खतराको डिलमा उभिएको छ। गल्ती गरेको ठहरिए, सिटी प्रिमियर लिगबाट तल झर्नेछ। त्यति मात्र होइन, भविष्यमा बढुवा भएर माथिल्लो श्रेणीको लिगमा फर्किए, उसले घटाइएको अंक लिएर लिग खेल्न सुरु गर्नुपर्नेछ।

वित्तीय अनुशासन पालना नगरेकाले छानबिनमा पर्ने पहिलो क्लब होइन, सिटी। यसअघि यस्तै छानबिन र कारबाहीमा एभरटन र नटिङहम फरेस्ट परिसकेका छन्। गत सिजन दुवै क्लबको अंक घटाइएको थियो। प्रिमियर लिगले सबै क्लबले नाफा अनुसारको खर्च गर्नुपर्ने नियम कार्यान्वयन गरेको छ। एभरटन र फरेस्टले दिगोपन स्थापित नहुनेगरि जथाभावी खर्च गरेको प्रिमियर लिगको ठहर थियो।

आजको दिनमा सिटी इंग्लिस क्लब फुटबलकै सबैभन्दा बलियो क्लब हो। यसको मुख्य कारण पछिल्ला वर्षहरूमा सिटीले हासिल गरेको सफलता हो। सिटीले सन् २०१२ यता आठ पटक लिग जितेको छ। पछिल्ला सात सिजनमा सिटीलाई एक सिजनमात्र अर्को कुनै क्लबले लिग दौडमा पछि पारेको छ।

मैदानी प्रदर्शनले बलियो बने पनि मैदानबाहिरको क्रियाकलापका कारण सिटीमाथि धेरै प्रश्न उठेका छन्। आबुधाबीको शाही परिवार सदस्य शेख मन्सुरको समूहले सन् २००८ मा खरिद गरे यता सिटीले इंग्ल्यान्डका मात्र नभई युरोपेली फुटबलकै ठूला भनिने क्लबहरूभन्दा बढी पैसा खेलाडी बजारमा खर्च गरेको छ। यसरी खर्च गर्दा सिटीले कयौँ नियम उल्लंघन गरेको आरोप लागेको हो।

विश्व क्लब फुटबलमै सर्वाधिक लोकप्रिय लिग मानिने प्रिमियर लिगको नयाँ शक्ति सिटीलाई कारबाही भए त्यहाँको प्रतिस्पर्धा फरक त हुनेछ। तर कारबाहीको असर केवल मैदानको प्रतिस्पर्धामा सीमित हुने देखिँदैन। यसको असर बेलायत र संयुक्त अरब इमिरेट्स (यूएई) सम्बन्धमै पर्ने अनुमान छ। किनभने सिटीका अध्यक्ष मन्सुर यूएईका उपप्रधानमन्त्री छन्।

सिटीमाथि लागेका तमाम आरोपमाथि बहस अदालतमा भइरहेको होइन। बरु यो बहस प्रिमियर लिगले गठन गरेको स्वतन्त्र परिषद्मा भइरहेको छ। बहस कुन स्थानमा सुरु भएको हो भन्नेबारे सूचना बाहिर ल्याएको छैन। तर यो बहस १० सातासम्म चल्नसक्ने बताइएको छ। परिषद्का तीन सदस्य छन्, जसलाई प्रिमियर लिगको न्याययिक समितिका प्रमुख मुरे रोसेनले चुनेका हुन्।

परिषद्ले निर्णय तत्काल दिनेछैन। कम्तीमा सन् २०२५ अघि निर्णय सार्वजनिक हुनेछैन। निर्णय सिटीको विपक्षमा आए, सिटीले पुनरावलोकनका लागि निवेदन हाल्नेछ।

सिटीमाथि लागेका ११५ आरोपमध्ये ८० सन् २००९ देखि २०१८ बीचमा नियम उल्लंघन गरेवापत हो। बाँकी ३५ आरोप चाहिँ सिटीले प्रिमियर लिगको छानबिन टोलीलाई असहयोग गरेकोसँग सम्बन्धित छन्। सिटीमाथि यसरी आरोप लाग्नु र छानबिन हुनुको मुख्य कारण जर्मन अखबार डेर स्पाइगलले सन् २०१८ मा छापेको एक रिपोर्ट हो। डेर स्पाइगलले छापेको रिपोर्टमा सिटीका कर्मचारी र आबुधाबी सरकार मातहत रहेका कम्पनीहरूबीच आदानप्रदान भएको इमेलका विवरण उल्लेख थिए। डेर स्पेगलमा प्रकाशित रिपोर्टको दाबी थियो, आबुधाबी सरकारको इत्तिहाद एयरवेज र इटिसालाट मोबाइल सेवा कम्पनीबाट प्रायोजनका नाममा अस्वभाविक मात्रामा पैसा सिटीले पाइरहेको छ। र, यसरी प्रायोजनका नाममा आबुधाबी युनाइटेड समूहले सिटीमाथि घुमाउरो बाटोबाट थप लगानी गरिरहेको छ।

कतिसम्म भने सिटीका तत्कालीन प्रशिक्षक रोबर्टो मान्सिनीलाई सिटीले सीधाबाट तलब खुवाउने बाहेक कन्सल्टेन्सी ‘फी’ को नाममा घुमाउरो बाटोबाट थप शुल्क तिरेको प्रमाण पनि डेर स्पाइगलले फेला पारेको थियो।

सिटीमाथि प्रिमियर लिगले मात्र होइन युरोपेली फुटबल महासंघ (यूईएफए)ले समेत वित्तीय नियम उल्लंघनको आरोप लगाएको थियो। यूईएफएले पछि सिटीलाई च्याम्पियन्स लिगबाट दुई वर्षका लागि प्रतिबन्ध पनि लगायो। तर सिटीले ‘कोर्ट अफ आर्बिट्रेसन (सीएएस)’ मा मुद्दा जितेपछि प्रतिबन्ध फुकुवा भएको हो।

पाँच वर्षको समयसीमाभित्र कारबाही गर्नु पर्नेमा यूईएफएले ढिलो गरी सिटीलाई कारबाही गरेको सीएएसको ठहर थियो। यही जगमा टेकेर सीएएसले सिटीको पक्षमा फैसला सुनाइदिएको थियो। यता प्रिमियर लिगमा भने यति वर्षभित्र कारबाही गर्नुपर्छ भन्ने नियम छैन। यद्यपि घरेलु लिगमा पनि मुद्दा जित्नेमा सिटी आत्मविश्वासी छ।

‘मलाई थाहा छ मान्छेहरू के चाहिरहेका छन्। उनीहरू के आशा गरिरहेका छन् भन्ने पनि मलाई जानकारी छ। तर हामीले गल्ती गरेको प्रमाणित भइसकेको छैन,’ सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्नो क्लबमाथि लागेको आरोपबारे भनेका छन्।

उता सिटीबाट केही सिजन खेली साउदी अरब पुगेका स्पेनी खेलाडी एमेरिक लापोर्टले पनि पूर्वक्लबको पक्षमा भनाइ राखेका छन्। ‘आरोपको खबर म त्यहाँ हुँदा बाहिर आएका थिए। मलाई सम्झना छ, त्यसबेला हामी सबै खेलाडीलाई क्लबका तर्फबाट केही गल्ती नभएको आश्वस्त बनाइएको थियो,’ लापोर्ट सम्झिन्छन्।

ग्वार्डिओलाले सिटीलाई घरेलु लिग मात्र होइन च्याम्पियन्स लिग पनि जिताएका छन्। सन् २०२३ मा सिटीले च्याम्पियन्स लिगको उपाधि भिडन्तमा इन्टर मिलानलाई हराइएको थियो। यो सिटीले जितेको पहिलो च्याम्पियन्स लिग उपाधि थियो। यसरी सिटीलाई इंग्ल्यान्डमा मात्र नभई युरोपमा समेत बलिया बनाएका ग्वार्डिओला सिटीसँगको सम्झौताको अन्तिम वर्षमा छन्। सिटीमाथि लागेका आरोप पुष्टि भएमा उनले नमिठो बिदाइ आत्मसात् गर्नुपर्नेछ।

‘सिटीले मलाई ढाँटेको रहेछ भने म प्रशिक्षकका रूपमा रहदिनँ,’ ग्वार्डिओलाले सन् २०२२ मा भनेका थिए। सिटीमाथि कारबाही भए ग्वार्डिओलामा मात्र होइन अनेकौँ स्टार खेलाडीले पनि बिदा माग्न सक्छन्। तर यदि सिटीको पक्षमा फैसला आए, एकपल्ट फेरि प्रिमियर लिगले आलोचना खेप्नेछ। प्रिमियर लिग यसै पनि धनी देशहरूको लगानी रहेको क्लबहरूलाई वित्तीय अनुशासन पालना गराउन डराउने लिगका रूपमा आलोचित छँदैछ।

प्रकाशित: ३१ भदौ २०८१ २०:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + eighteen =