प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत सिफारिस

हिमाल प्रेस ३१ भदौ २०८१ १८:३९
18
SHARES
प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत सिफारिस प्रकाशमानसिंह राउत

काठमाडौँ- प्रधानन्यायाधीशमा न्यायाधीश प्रकाशमानसिंह राउत सिफारिस भएका छन्। आज सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको संवैधानिक परिषद् बैठकले प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश राउतलाई सर्वसम्मत सिफारिस गरेको हो।

बैठकमा परिषद्का सदस्यका रूपमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, विपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल र उपसभामुख इन्दिरा राना सहभागी थिए।

न्याय परिषद्ले यही भदौ २० गते नै प्रधानन्यायाधीशका लागि योग्यता पुगेका ८ न्यायाधीशको नाम पठाएको थियो। तीमध्ये वरिष्ठतामा सबैभन्दा अगाडि रहेका राउतको नाम संवैधानिक परिषद्ले छानेको हो।

अब संसदीय सुनुवाइबाट अनुमोदन भएमा राष्ट्रपतिले राउतलाई प्रधानन्यायाधीश नियुक्त गर्नेछन्। आजको बैठकलाई सहज ढंगले सञ्चालन गर्ने उद्देश्यसहित प्रधानमन्त्रीले हिजै विपक्षी दलका नेता एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सत्ता साझेदार दल कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए।

हालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आगामी असोज २० गतेबाट उमेर हदको कारण अवकाशमा जाँदैछन्।

प्रकाशित: ३१ भदौ २०८१ १८:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − eleven =