स्मार्ट हाजिरीः विद्यार्थी विद्यालय आएको सूचना अभिभावकलाई

हिमाल प्रेस ३० भदौ २०८१ १३:१० | Sunday, September 15, 2024
स्मार्ट हाजिरीः विद्यार्थी विद्यालय आएको सूचना अभिभावकलाई विद्यालय। प्रतिनिधिमूलक तस्बिर

दमौली (तनहुँ)- तनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयस्थित मित्रता माध्यमिक विद्यालयमा विद्यार्थीको स्मार्ट हाजिरी प्रणाली सुरु भएको छ। तनहुँ जिल्लामै पहिलो पटक आँबुखैरेनी गाउँपालिकाको विद्यालयमा स्मार्ट हाजिरीको प्रयोग भएको हो।

स्मार्ट हाजिरीको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले उद्घाटन गरेका छन्। एम्बेडेड सोलुसन नेपालले निर्माण गरेको एकेडेमिक म्यानेजमेन्ट सफ्टवयर स्मार्ट उपस्थिति प्रणालीले विद्यालयमा विद्यार्थीको उपस्थितिबारे अभिभावकलाई सूचना प्रदान गर्छ।

विद्यार्थी गेटबाटभित्र छिर्ने बित्तिकै अभिभावकको मोबाइलमा आफ्ना बालबालिका विद्यालय पुगेको जानकारी पुग्छ र गेटबाट बाहिर निस्कँदा विद्यालयबाट बाहिरिएको सूचना अभिभावकको मोबाइलमा पुग्ने गरेको विद्यालयका प्रधानाध्यापक सुरेन्द्र बोगटीले जानकारी दिए।

उनले भने, ‘विद्यालय छुट्टीपछि घर आउन लाग्ने समय अभिभावकलाई जानकारी हुन्छ, साथै घरबाट हिँडेपछि आफ्ना छोराछोरी विद्यालय पुगेको कुरासमेत जानकारी हुन्छ।’

मित्रता माविले अहिले यो व्यवस्था आधारभूत तहका विद्यार्थीमा लागू गरेको छ। आगामी वर्षदेखि कक्षा १२ सम्म यो प्रणाली जडान गरिने बोगटीले बताए। उनले भने, ‘यस प्रणालीमा विद्यार्थी कक्षा छोडेर जाने सम्भावना हुँदैन। विद्यार्थीको परिचयपत्रमा चिप्स जडान गरिएको छ। ‘

विद्यार्थी गेटमा आइपुग्ने बित्तिकै मेसिनले घण्टी बजाउँछ र तत्कालै उक्त सूचना अभिभावकसम्म पुग्ने गर्छ। बोगटीले अभिभावकलाई आफ्ना बालबालिका विद्यालयमा सुरक्षित छन् वा बाहिर छन् भन्ने चिन्ता भइरहने र यो प्रणाली लागू गरेपछि अभिभावकलाई सहज भएको बताए। उनले भने, ‘विद्यालय व्यवस्थापन प्रणालीमा नविनता ल्याउन स्मार्ट एटेन्डेन्स सिष्टम महत्वपूर्ण हुने विश्वास छ।’

प्रकाशित: ३० भदौ २०८१ १३:१० | Sunday, September 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast