काठमाडौँ महानगरको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा पाइन्छन् यस्ता सुविधा

हिमाल प्रेस २८ भदौ २०८१ ७:११
8
SHARES
काठमाडौँ महानगरको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा पाइन्छन् यस्ता सुविधा

काठमाडौँ- काठमाडौँ महानगरपालिका–३० स्थित ज्ञानेश्वरमा रहेको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र ३२ वटै वडामध्येको उत्कृष्ट स्वास्थ्य संस्थाका रूपमा स्थापित भएको छ। केन्द्र २०७८ साल चैत १ गतेदेखि सञ्चालनमा आएको हो।महानगरपालिकासँगको सम्झौतामा मानव स्वास्थ्य नामक सामाजिक संस्थाले सञ्चालनमा ल्याएको केन्द्र गत साउन १ गतेदेखि महानगरपालिकाले नै व्यवस्थापन गर्न थालेको छ।

महानगरपालिकाका ३२ वटै वडामा सञ्चालनमा रहेका केन्द्रमध्ये उत्कृष्ट सेवा प्रदान गरेकाले महानगरले नै व्यवस्थापन गर्न थालेको निमित्त इञ्चार्ज गीताकुमारी साउदले जानकारी दिइन्। महानगरले ३२ वटै वडाका केन्द्रलाई यस्तै स्वरुपमा चलाउन चाहेको छ। स्थानीयवासी करिष्मा कुँवर केन्द्रले राम्रो सेवा दिएकाले सामान्य उपचारका लागि अन्य अस्पतालसम्म पुग्नुपर्ने अवस्था नरहेको बताइन्।

ससुराको गोडाको शल्यक्रियापछि आएको घाउ केन्द्रमै ठीक भएकाले अन्य अस्पताल जानु नपरेको उनले सुनाइन्। केन्द्रमा राम्रो ड्रेसिङको व्यवस्था भएकाले टोल छिमेकमै उपचार पाउँदा स्थानीयवासी हर्षित बनेका छन्। केन्द्रमा समय–समयमा महिलाका लागि पाठेघरको जाँचका लागि शिविरको आयोजना हुने गरेको छ। यसले धेरै महिलामा क्यान्सर छ कि छैन भन्ने थाहा पाउन सजिलो भएको छ।

यसैगरी पुरुषको प्रोस्टेट क्यान्सरको पनि परीक्षण हुने गरेको छ। केन्द्रमा डेङ्गीको पनि निःशुल्क परीक्षण हुने गरेको छ। केन्द्रमा ९८ प्रकारका औषधी निःशुल्क वितरण हुन्छ। अन्य औषधीमा भने २५ प्रतिशत सहुलियतमा बिक्री हुने गरेको छ। वडा सदस्य इन्दिरा श्रेष्ठ सिंह स्वास्थ्यका लागि महानगरका अन्य वडाका केन्द्रभन्दा राम्रो भएकैले महानगर प्रमुख बालेन शाहले अनुगमन गरी व्यवस्थापन लिने निर्णय गरेको जानकारी दिइन्।

काठमाडौँ क्षेत्र नं ४ का सांसद गगनकुमार थापाको सक्रियतामा केन्द्र स्थापना गरिएको हो। थापाले स्वास्थ्यमन्त्री हुँदा केन्द्र स्थापना गर्ने निर्णय गरेका थिए। स्थापना हुनुअघि नै उनी मन्त्री पदबाट हटेपछि केन्द्र अलपत्र बनेको थियो। त्यसैकारण महानगरपालिकासँग सम्झौता गरेर मानव स्वास्थ्य नामक सामाजिक संस्थाले यसलाई सञ्चालनमा ल्याएको थियो। अहिले ३२ वडामध्येको उत्कृष्ट केन्द्रका रूपमा स्थापित भएपछि भने महानगरले व्यवस्थापन लिएको हो।

केन्द्रमा एमडीजिपी चिकित्सकसहित १३ जनाको दरबन्दी रहेको पनि उनले सुनाइन्। महानगरपालिकाले व्यवस्थापन गर्न थालेपछि भने केन्द्रमा ११ जनाको दरबन्दी कायम गरिने स्वास्थ्य सेवा विभागका प्रमुख दीपककुमार केसीले केन्द्रको अनुगमनका क्रममा बताएका थिए। केही समयमा कर्मचारीको व्यवस्थापन भइसक्ने महानगरपालिकाले जनाएको छ।

मासिक एक लाख ५५ हजार भाडामा लिएको भवनमा केन्द्र सञ्चालन गर्नुपर्दा स्वास्थ्य सेवा दिन समस्या भएको लेखा एवं व्यवस्थापन अधिकृत सजना डङ्गोलले बताइन्। स्वास्थ्य केन्द्र चलाउने प्रयोजनले निर्माण भएको भवन नभएकाले ज्येष्ठ नागरिकलाई माथिल्लो तलासम्म पुग्न अप्ठ्यारो हुने गरेको छ। भवनमा कोठाको अभाव भएकैले ड्रेसिङ, इसिजी, खोप सेवा,परिवार नियोजन सेवा र किशोरकिशोरी सेवा पनि एउटै कोठाबाट दिनुपरेको उनले सुनाइन्।

केन्द्रमा फिजियोथेरापी सेवा पनि उपलब्ध छ। २०७८ चैत १ गतेदेखि मानव स्वास्थ्यको व्यवस्थापनमा चलेको केन्द्रमा २०७९ साल साउन १ गतेदेखि भने महानगरले दुईजना कर्मचारी पठाएको थियो। यस्ता केन्द्रमा ११ जना कर्मचारीको व्यवस्था गर्ने कानुन महानगरपालिकाले पारित गरी स्थानीय राजपत्रमा समेत प्रकाशन गरिसकेको छ।

सामाजिक संस्था सञ्चालन गर्दा १३ जना कर्मचारीले सेवा दिएकाले अहिले पनि महानगरले त्यसलाई निरन्तरता दिएको छ। पहिलेदेखि काम गर्दै आएका सबै कर्मचारीलाई सेवामा निरन्तरता दिइरहने महानगरको प्रतिबद्धता छ। यहाँका केही कर्मचारीलाई भने महानगरका अन्य वडामा पनि पठाउन सकिने महानगरपालिको जनाएको छ।

प्रकाशित: २८ भदौ २०८१ ७:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =