लुम्बिनीलाई लक्षित गरी कालीदह नाकामा एकीकृत जाँचबिन्दु सञ्चालन

हिमाल प्रेस २६ भदौ २०८१ १९:१३
20
SHARES
लुम्बिनीलाई लक्षित गरी कालीदह नाकामा एकीकृत जाँचबिन्दु सञ्चालन

लुम्बिनी- रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका स्थित कालीदह नाकामा सवारी सहित नेपाल भित्रिने पर्यटक लक्षित एकीकृत जाँच बिन्दु संचालनमा ल्याइएको छ। जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले लुम्बिनी सांस्कृतिक नगरपालिका-१३ स्थित कालीदह नाकामा बुधबारबाट एकीकृत जाँच बिन्दु संचालन शुभारम्भ गरेको हो।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमान, उपप्रमुख कल्पना हरिजन, प्रमुख जिल्ला अधिकारी गणेश अर्याल लगायतले उद्घाटन गरे।स्थालमार्गबाट मुलुकमा सबैभन्दा बढी पर्यटक भित्रिने रुपन्देहीको बेलहिया नाकामा गत असार २६ मा एकीकृत जाँच बिन्दु सञ्चालन गरिएको थियो। यो नाकामा जाँच बिन्दु प्रभावकारी भएपछि स्थानीय पालिकासँग समन्वय गरी कालीदहमा पनि जाँच बिन्दु सञ्चालनमा ल्याइएको हो।

सवारीसहित नेपाल भित्रिने पर्यटकलाई ठाउँठाउँमा चेकिङ गरिँदा दुःख पाउने गरेको गुनासो बढेपछि एकीकृत जाँच बिन्दु अवधारणा ल्याई सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए।

उनका अनुसार बेलहियामा जस्तै कालीदहको एकीकृत जाँच बिन्दुमा पनि भन्सार, नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरीले एकैठाउँमा जाँच गर्नेछन्। त्यसपछि उनीहरुलाई सुरक्षा जाँचसहितको कार्ड उपलब्ध गराइने छ भने जिल्लाभर अन्यत्र चेकजाँच हुने छैन।

‘सुरक्षाकर्मीलाई शंका लागेका बेला जुनसुकै ठाउँमा चेकजाँच हुन्छ तर नियतवश वा अन्य बहानामा पर्यटकलाई दुःख दिने गरी चेकजाँच हुने छैन,’ प्रजिअ अर्यालले भने, ‘चेकजाँच भइरहेको ठाउँमा एकीकृत जाँच बिन्दुबाट उपलब्ध गराइएको कार्ड देखाएर जिल्लाभर पर्यटकका गाडी आउजाउ गर्न पाउने छन्।’

पछिल्लो समय आफ्नै सवारी साधन लिएर बुद्ध जन्मस्थल लुम्बिनी आउजाउ गर्ने अधिकांश भारतीय पर्यटक कालीदह नाका हुँदै भित्रि गरेका छन्। बेलहिया-सुनौली नाकाबाट भारत सहित तेस्रो मुलुकका पर्यटक पनि भित्रिन्छन्।

कालीदहमा अध्यागमन कार्यालय नभएकाले तेस्रो मुलुकका पर्यटक भने बेलहिया-सुनौली नाका हुँदै नेपाल भित्रिनुपर्ने बाध्यता छ। भारतीय पर्यटकलाई भने भिसा नलाग्ने भएकाले बेलहियाँसँगै कालीदह नाका प्रयोग गर्ने सक्नेछन्। प्रशासनकै पहलमा बेलहिया र कालीदह नाकामा अहिले वाकथ्रु मेसिन राखेर त्यसबाट नेपाल भित्रिने सबै मानिसको सुरक्षा जाँच समेत गरिँदै आएको छ।

प्रजिअ अर्यालले छिट्टै कालीदह छोटी भन्सारमा भारतीय सवारीको भन्सार सुविधा दिने व्यवस्था मिलाइने जनाए। उनले कुनै पनि बहानामा पर्यटकलाई दुःख दिने, हैरानी गर्ने र उनीहरूबाट आर्थिक लाभ उठाउने जस्ता काम भए सैह्य नहुने बताए। ‘पर्यटक नेपालमा घुम्न, रमाउन र आनन्द लिन आउँछन्, तर विभिन्न बहानामा दुःख दिने गरेको गुनासाहरु आइरहन्छन्’, उनले भने, ‘अब, पर्यटकलाई दुःख दिने सुरक्षाकर्मी, कर्मचारी वा जोसुकै व्यक्ति भए पनि कारबाही हुन्छ।’

नगर प्रमुख सजरुद्दिन मुसलमानले पर्यटकीय वातावरण बनाउन एकीकृत जाँच बिन्दु प्रभावकारी बन्ने विश्वास व्यक्त गरे। उनले पर्यटकमैत्री वातावरण बनाउन सरकारसँगै स्थानीय बासिन्दाको पनि दायित्व भएको जनाए। उनले कालीदहबाट भारतीय सवारी नेपाल प्रवेश गर्दा भन्सार सुविधा दिने व्यवस्था मिलाउनु पर्नेमा जोड दिए।

उपप्रमुख कल्पना हरिजले विगतमा पर्यटकलाई ठाउँठाउँमा चेकिङ गरिँदा दुःख पाउने गरेको गुनासो आइरहेको बताउँदै अब त्यो गुनासो हट्ने विश्वास व्यक्त गरिन्। एकीकृत जाँच बिन्दुमा सवारीको सम्पूर्ण जाँचपछि चालकको नाम, ठेगाना, गाडी नम्बर, गन्तव्य लेखिएको विवरणसहितको पहेँलो कार्ड चालकलाई दिइने छ।

यस्तो सवारीले सुरक्षा जाँच भइरहेको ठाउँमा अन्य कागजात नदेखाई त्यही कार्ड देखाएर गन्तव्यसम्म पुग्नेछन्। नगरपालिकाको लगानीमा कालीदहमा स्थायी संरचना बनाई एकीकृत जाँच बिन्दु सञ्चालन गरिएको हो। कालीदहको एकीकृत जाँच बिन्दुको मुख्य जिम्मेवारी सशस्त्र प्रहरीलाई दिइएको छ।

प्रकाशित: २६ भदौ २०८१ १९:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast