‘शाम्बाला’को प्रिमियरमा भारतीय कलाकार सिद्दिकी र निर्देशक कश्यप

हिमाल प्रेस २४ भदौ २०८१ ११:०६
14
SHARES
‘शाम्बाला’को प्रिमियरमा भारतीय कलाकार सिद्दिकी र निर्देशक कश्यप

काठमाडौँ- ठमेलस्थित छाया सेन्टरमा रहेको क्यूएफएक्स सिनेमा हलमा मीनबहादुर भाम निर्देशित फिल्म ‘शम्बाला’को प्रिमियर गरिएको छ।

रिसेप्सनसहित आयोजित प्रिमियरमा बलिउड अभिनेता नवाजुद्दिन सिद्धिकी र भारतीय निर्देशक तथा अभिनेता अनुराग कश्यप विशेष अतिथिको रूपमा सहभागी थिए।

कलाकार सिद्दिकीले शाम्बाला फिल्म हेर्ने लोभले नै पहिलोपटक नेपाल आएको बताए। ‘म नेपाल पहिलोपटक आएको हुँ, शाम्बाला हेर्नै भनेर यहाँ आएँ’, उनले भने, ‘फेरि नेपाल अवश्य आउँछु।’ निर्देशक कश्यपले नेपालको फिल्म क्षेत्रको स्तरोन्नति हुँदै गएकोमा प्रशंसा गरे।

प्रिमियरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, रास्वपा नेतृ सुमना श्रेष्ठ, सांसद तथा निर्देशक असिम शाहदेखि कलाकार निर शाह, दयाहाङ राई, प्रदीप भट्टराई, नाजिर हुसेन, जितु नेपाल, मेनुका प्रधान, मिरुना मगर, सृष्टि श्रेष्ठ, गायक-गायिका आनी छोइङ डोल्मा, सत्य-स्वरुपराज आचार्य, इन्दीरा जोशी, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी लगायत नेपाली, भारतीय कलाकारदेखि नेताहरुको बाक्लो उपस्थिति थियो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन आकर्षित गर्ने अर्को कलात्मक माध्यम फिल्म रहेको बताए। निर्देशक भामको फिल्मले पर्यटन आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई थियो। उनले नेपालमा पर्यटक भित्र्याउने र एकपटक नेपाल आएका पर्यटकलाई पटकपटक आउन प्रेरित गर्ने खालका गतिविधि गर्न जरुरी रहेको बताए।

‘शम्बाला’ जर्मनीस्थित बर्लिनको ७४औँ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोटमा परेको थियो। साढे दुई घण्टा अवधिको चलचित्रमा तिब्बतीय जनजीवन समेटिएको छ। बहुपति विवाहित एक गर्भवती महिलाले व्यापार गर्न ल्हासा पुगेर बेपत्ता भएका पत्नि खोज्दा भोग्नुपरेको कष्टकर यात्रालाई फिल्ममा प्रस्तुत गरिएको छ।

फिल्मको कथा मिन भाम र अविनाशविक्रम शाहले लेखेका हुन्। सुनी फिल्मको ब्यानरमा निर्माण भएको फिल्ममा सोनम तोप्देन, थिन्ले ल्हामो, तेन्जिङ डल्हा, कर्मा वाङ्ग्याल गरुङ, कर्मा, लोटन निमलिङ्ग, जंगबहादुर लामा लगायतका कलाकारको अभिनय छ।

प्रकाशित: २४ भदौ २०८१ ११:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =