मोदीलाई न्युयोर्कमा भेट्ने ओलीको तयारी

हिमाल प्रेस २४ भदौ २०८१ ७:५५
96
SHARES
मोदीलाई न्युयोर्कमा भेट्ने ओलीको तयारी प्रधानमन्त्रीका रूपमा २०७६ जेठ १७ गते भारत भ्रमणमा रहेका बेला भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेट वार्ता गर्दै केपी शर्मा ओली। फाइल तस्बिर : रासस

काठमाडौँ– संयुक्त राष्ट्रसंघको ७९ औँ महासभाको साइड लाइनमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुने भएको छ। प्रधानमन्त्री ओलीले मोदीलाई न्युयोर्कमा भेट्ने प्रस्ताव राखेका हुन्।

परराष्ट्र मन्त्रालयले औपचारिक रूपमा भारतीय प्रधानमन्त्रीसँग भेटवार्ताबारे प्रस्ताव राखेको छ। भारतीय पक्षले समय मिलेसम्म भेट्ने अनौपचारिक जवाफ दिइसकेको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

महासभा भदौ २५ बाट सुरु हुँदैछ भने यसको उच्चस्तरीय छलफल असोज ८ देखि १२ सम्म चल्ने कार्यक्रम छ। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व प्रधानमन्त्री ओलीले गर्ने भएका छन्। असोज ७ र ८ मा राष्ट्रसंघकै आयोजनामा ‘समिट अफ द फ्युचर’ कार्यक्रम तय भएको छ।

त्यसमा पनि प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन्। भारतका प्रधानमन्त्री मोदी समिट अफ द फ्युचर कार्यक्रममा सहभागी हुन मात्र न्युयोर्क जान लागेका हुन्। असोज ५ मा अमेरिकाको विल्मिङटनमा चार मुलुकको संगठन क्वाड (अमेरिका, भारत, जापान र अस्ट्रेलिया) को बैठक निश्चित भएको छ। मोदी बैठकमा सहभागी भएर न्युयोर्क पुग्नेछन्।

मोदी न्युयोर्कमा रहेका बेला ओलीसँग भेटघाट हुनेछ। त्यसका लागि न्युयोर्कस्थित नेपाली नियोगले पहल गरिरहेको छ। खासगरी न्युयोर्कमा रहेका स्थायी प्रतिनिधि लोकबहादुर थापाले विशेष पहलकदमी लिएका छन्।

मोदी महासभामा भने सहभागी हुने छैनन्। भारतका तर्फबाट परराष्ट्रमन्त्री एस जयशंकरले महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ भने उनीसँग साइडलाइनमा विभिन्न छलफल हुनेछ।
महासभा सहभागी हुन क्यानडा हुँदै न्युयोर्क जान लागेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले पनि जयशंकरसँग भेट वार्ता गर्नेछिन्।

ओली र मोदीबीच यसअघि थाइल्यान्डमा हुने भनिएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा साइडलाइनमा भेटवार्ता हुने कार्यक्रम थियो। भदौ १८ र १९ मा हुने भनिएको सम्मेलन थाइल्यान्डको नयाँ राजनीतिक उतार–चढावका कारण स्थगित भयो। जसले गर्दा ओली मोदी–वार्ता हुन सकेन।

पहिलो र दोस्रोपटक प्रधानमन्त्री हुँदा भारत भ्रमणबाटै विदेश यात्रा थालेका ओली चौथो पटक प्रधानमन्त्री भएपछि न्युयोर्कमा हुने महासभाबाट विदेश यात्रा थाल्दैछन्। ओलीलाई हालसम्म भारतीय पक्षबाट भ्रमणको निमन्त्रणा आएको छैन। त्यसैले उनको भ्रमण अमेरिकाबाट सुरु हुन लागेको हो।
परराष्ट्रमन्त्री राणाको भारत भ्रमणका क्रममा ओलीले मोदीलाई नेपाल भ्रमणको निम्ता पठाएका थिए। मोदीले समय मिलाएर नेपाल भ्रमणमा आउने बाचा मोदीले गरेका थिए।

ओली प्रवासी नेपालीको कार्यक्रममा सहभागी हुन बाल्टिमोर पुग्ने कार्यक्रम छ। त्यहाँबाट न्युयोर्क जानेछन्।

प्रकाशित: २४ भदौ २०८१ ७:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast