नेपालगञ्जमा छाडा चौपायाका लागि गौशाला, गौशालामै घाँसखेती

हिमाल प्रेस २३ भदौ २०८१ १८:४६
14
SHARES
नेपालगञ्जमा छाडा चौपायाका लागि गौशाला, गौशालामै घाँसखेती

बाँके- नेपालगञ्ज उपमहानगरपालिकाले छाडा चौपाया व्यवस्थापन गर्न सुरु गरेको छ। रत्न राजमार्गको कोहलपुर-नेपालगञ्ज खण्डमा छाडा चौपायाका कारण सडक दुर्घटना बढ्न थालेपछि प्रत्येक शनिबार स्थानीय प्रशासनको सहयोगमा व्यवस्थापन सुरु गरेको हो।

उपमहानगरपालिका-२१ स्थित बिर्तामा निमार्ण गरिएको गौशाला (काञ्जी हाउस) मा छाडा पशुचौपायालाई व्यवस्थापन गर्ने गरिएको छ। ३५ लाखको लगानीमा निर्माण गरिएको गौशालामा गाईगोरु र घोडासहित एक सय २६ चौपाया रहेका उपमहानगर प्रमुख प्रशान्त विष्टले जानकारी दिए।

तीन बिगाहा क्षेत्रफलमा निर्माण गरिएको गौशालामा राखिएका चौपायाका लागि नगरपालिकाले आफ्नै जग्गामा घाँसखेती पनि गर्दै आएको गौशालाका इन्चार्ज राकेश भारतीले बताए। विगत पाँच वर्षदेखि गौशालाको रेखदेख गर्ने जिम्मेवारी सम्हाल्दै आएका भारतीले वस्तुभाउलाई खुवाउनका लागि मौसम सुहाउँदो घाँसखेती गर्ने गरिएको जानकारी दिए।

घाँसखेतीका लागि मात्रै झन्डै अढाई बिगाहा जमिनको प्रयोग गरिएको उनले बताए। उनका अनुसार हिउँदमा बिहान–बेलुका गाईवस्तुलाई चराएर दिनमा एकपटक मात्र दानापानी दिने गरिन्छ भने वर्षाको समयमा बिहान र बेलुका गरी दुईपटक दानापानी दिने गरिएको छ।

छाडा पशुचौपायाका कारण पछिल्लो समयमा बाँकेमा सडक दुर्घटनाहरु बढ्दै गइरहेका छन्। समस्या जटिल हुँदै गएपछि उपमहानगरपालिकाले राप्तीसोनारी गाउँपालिकासँगको सहकार्यमा छाडा चौपाया व्यवस्थापनको योजना तय गरेको जनाइएको छ।

बाँकेमा छाडा पशुचौपायाका कारण गत आर्थिक वर्ष ०८०/८१ मा १९ वटा दुर्घटना भएका छन्। जसमध्ये  एक पुरुषको मृत्यु भएको छ। दुई पुरुष र एक महिला गम्भीर घाइते भएका प्रहरीले जनाएको छ। सोही अवधिमा १३ चौपायाको सडक दुर्घटनामा परी मृत्यु भएको छ।

चार चौपाया घाइते भएका जिल्ला ट्राफिक कार्यालय बाँकेको तथ्या‌ंकमा उल्लेख छ। ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीका अनुसार चालु आर्थिक वर्ष ०८१/८२ को हालसम्म छाडा चौपायाका कारण एक पुरुष गम्भीर घाइते भएका छन्।

प्रकाशित: २३ भदौ २०८१ १८:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast