शिक्षा क्षेत्रका समस्या समाधान गर्न लागेका छाैं : शिक्षामन्त्री भट्टराई

हिमाल प्रेस २० भदौ २०८१ १५:५९
474
SHARES
शिक्षा क्षेत्रका समस्या समाधान गर्न लागेका छाैं : शिक्षामन्त्री भट्टराई

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकको शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्नु सरकारको पहिलो प्राथमिकता रहेको बताएकी छन्।

डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ४३औँ वार्षिकोत्सव एवं पुरस्कार वितरण समारोहमा मन्त्री भट्टराईले शिक्षा क्षेत्रमा समस्या देखाउनुभन्दा समाधान खोज्नतर्फ सरकार लागेको बताइन्।

हरेक नागरिकलाई शिक्षा दिनु राज्यको पहिलो दायित्व भएकाले सरकार आफ्नो जिम्मेवारी पूरा गर्न लागेको उनकाे भनाइ छ। मन्त्री भट्टराईले समस्याका रुपमा रहेको नेपालको शिक्षा प्रणालीलाई समाधानमुखी बनाउन सरकार योजनाबद्ध रुपमा लागिरहेको स्पष्ट पारिन्।

उनले नेपालको शिक्षा क्षेत्रको सुधारका लागि बौद्धिक समाजबाट प्राप्त राय, सुझावलाई ग्रहण गरेर सरकार अगाडि बढिरहेको बताइन्। उनले शिक्षा क्षेत्रको विकास गर्दा वर्तमानसँगै भावी पुस्ताका बारेमा समेत सोच्नुपर्ने बेला आएको बताइन्।

विश्वविद्यालयको स्वायत्ततामाथि सरकारले हस्तक्षेप गर्न नहुने बताउँदै उनले उच्च शिक्षाको विकासका लागि विभिन्न समयमा विभिन्न सरोकार भएकाले दिएका राय, सुझावलाई समेटेर एकीकृत योजना बनाई अगाडि बढ्नुपर्ने धारणा राखिन्।

बागमती प्रदेशका सदस्य दीपेन्द्र श्रेष्ठले मुलुकको शिक्षा क्षेत्रमा ठूलो सुधारको खाँचो रहेको बताए। पूर्वमन्त्रीसमेत रहेका उनले आगामी दिनमा शिक्षालाई प्रविधितर्फ जोडेर अगाडि बढ्नुपर्ने बताए।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष डा.रुद्र शर्माले क्याम्पसले सामाजिक उत्तरदायित्वको कार्यक्रमअन्तर्गत छात्रालाई निःशुल्क अध्यापन गराउँदै आएको जानकारी दिए।

क्याम्पस प्रमुख अपराजिता अर्यालले नारी शिक्षाको क्षेत्रमा चार दशकदेखि निरन्तर रुपमा लागेको डिल्लीबजार कन्या क्याम्पसमा हाल आठ सयभन्दा बढी छात्रा अध्ययनरत रहेका जानकारी दिइन्।

कार्यक्रममा विशिष्ट प्राज्ञिक सम्मानबाट समाजशास्त्र विषयमा विद्यावारिधि हासिल गरेका सोही क्याम्पसका प्राध्यापक डा‍.हरिहर घिमिरे र डा.आनन्द पन्तलाई सम्मान गरिएको थियो। साथै क्याम्पसले उत्कृष्ट कर्मचारी तथा विद्यार्थीलाई समेत सम्मान गरेको थियो।

प्रकाशित: २० भदौ २०८१ १५:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 1 =