लुम्बिनी– उपप्रधान एवम अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षमा राजस्व लक्ष्य ३० प्रतिशत वृद्धि गर्नुपर्ने बताएका छन्।
राष्ट्रिय उद्यमी सम्मेलनको भैरहवामा उदघाटन गर्दै अर्थमन्त्री पौडेलले सरकारले आर्थिक वर्ष २०८०/८१ मा राजस्व असुलीमा कमी र उत्पादनमा आएको ह्रासका कारण ६ प्रतिशतको आर्थिक वृद्धि भएको प्रसंंग निकाल्दै यस्तो बताएका हुन्।
उनले आर्थिकक वृद्धिका लागि उत्पादन बढाउनुपर्नेमा जोड दिए। अर्थमन्त्री पौडेलले उत्पदान घट्दा राजस्वमा गम्भीर असर परेको बताए। अर्थमन्त्री पौडेलले उद्यमीलाई दुःख दिएर सरकारले राजस्वको लक्ष्य हासिल गर्न नसक्ने बताउँदै अब सरकार साझेदार बन्ने बताए।
उत्पादन र उत्पादकत्व वृद्धि र रोजगारी सिर्जना गर्नेतर्फ सरकारले मुख्य ध्यान केन्द्रित गरेको भन्दै अर्थमन्त्री पौडेलले सरकारले ल्याएको स्टार्ट अप कार्यक्रम युवा उद्यमीका लागि महत्वपूर्ण हुने बताए। यद्यपि यो प्रयाप्त नभएकाले आगामी दिनमा अझ बढी ध्यान दिने उनको भनाई छ।
सरकारले उद्योगीको मनोवल उठाउने र कानुनसम्मत ढंगले उत्पादनमा लागेर निजी क्षेत्रलाई माथि उठाउने काममा जोड दिएको अर्थमन्त्री पौडेलले बताए। उद्यमीहरुले आफूसँग भएको सीमित पुँजीलाई उद्योग स्थापनामा लगानी गर्नुपर्नेमा जोड दिंदै उनले सरकारले औद्योगिक क्षेत्र स्थापना गरी जग्गा उपलव्ध गराउने गरी गृहकार्य गरिरहेको बताए।
राष्ट्रिय उत्पादन र राष्ट्रिय अर्थतन्त्रको सवलीकरणका लागि सरकारले उद्यमीहरुलाई प्रोत्साहनको नीति लिएको र साथमा लिएर अगाडि बढ्न चाहेको पनि अर्थमन्त्री पौडेलले बताए।
देशभरका १४० उद्यमी सहभागी भएको राष्ट्रिय उद्यमी सम्मेलन शनिबार सकिने छ। राष्ट्रिय युवा उद्यमी मञ्चले देशभरका उद्यमी सहभागी गराएर भैरहवामा उद्यमी लिडरसिप सम्मेलन आयोजना गरेको हो।