प्रा. प्रेमशान्ति तुलाधरलाई वैकुण्ठ लाकौल पुरस्कार प्रदान

हिमाल प्रेस १४ भदौ २०८१ १५:१२
52
SHARES
प्रा. प्रेमशान्ति तुलाधरलाई वैकुण्ठ लाकौल पुरस्कार प्रदान प्राध्यापक प्रेमशान्ति तुलाधरलाई वैकुण्ठ लाकौल पुरस्कार अर्पण गर्दै बागमती प्रदेशकी सामाजिक विकासमन्त्री हरिप्रभा खड्गी श्रेष्ठ, त्रिवि नेपालभाषा केन्द्रीय विभागका प्रमुख सहप्रा. डा. राजनलाल जोशी र वैकुण्ठ लाकौल पुरस्कार समितिका संरक्षक श्रीकण्ठ लाकौललगायत। तस्बिर : हिमालप्रेस

ललितपुर– प्राध्यापक प्रेमशान्ति तुलाधर वैकुण्ठ लाकौल पुरस्कारबाट सम्मानित भएकी छन्। नेपालभाषा केन्द्रीय विभागको ४४औँ वार्षिकोत्सवको अवसरमा ललितपुरमा शुक्रबार आयोजित कार्यक्रममा प्राध्यापक तुलाधरलाई पुरस्कार प्रदान गरिएको हो।

कार्यक्रममा बागमती प्रदेशकी सामाजिक विकासमन्त्री हरिप्रभा खड्गी श्रेष्ठ, त्रिवि नेपालभाषा केन्द्रीय विभागका प्रमुख सहप्रा. डा. राजनलाल जोशी र वैकुण्ठ लाकौल पुरस्कार समितिका संरक्षक श्रीकण्ठ लाकौलले नगद, प्रमाणपत्र तथा खादा ओढाएर तुलाधरलाई सम्मान गरेका थिए।

नेपालभाषा, साहित्य र समालोचना विधाको उत्थानका लागि अनवरत योगदान पुर्‍याएबापत तुलाधरलाई वैकुण्ठ लाकौल पुरस्कारबाट सम्मानित गरिएको हो। पुरस्कारका संस्थापक वैकुण्ठप्रसाद लाकौल हुन्। नेपालभाषा कवितामा स्वच्छन्दतावादका प्रारम्भकर्ता लाकौल नेपालभाषा साहित्य शिरोमणिका रूपमा चिनिन्छिन्। उनले नेपालभाषा, साहित्य, संस्कृतिको उत्थान गर्ने उद्देश्य राखी ३९ वर्षअघि स्थापना गरेको उक्त पुरस्कारको यो १२ औँ संस्करण हो।

कार्यक्रममा विगत तीन शैक्षिक सत्रमा नेपालभाषा स्नाकोत्तरमा सबैभन्दा बढी अंक ल्याई उतीर्ण भएका छात्राहरू क्रमशः कृष्णप्यारी श्रेष्ठ, पद्मा खयरगोली र रजनी श्रेष्ठलाई चैन लाकोल पुरस्कारबाट सम्मानित गरिएको थियो।

समारोहमा मन्त्री श्रेष्ठले भाषा, साहित्य, संस्कृति पुस्तान्तरण हुनुपर्नेमा जोड दिइन्। उनले भनिन्, ‘बागमती प्रदेशको कामकाजी भाषामा नेपालभाषा र तामाङ भाषा लागू भइसकेको छ। अब ती भाषाको लिपि संरक्षणमा तत्परताका साथ काम गरिरहेकी छु’, उनले भनिन्।

उनले काठमाडौँ उपत्यका जीवन्त संग्रहालय भएकाले यहाँका मूर्त र अमूर्त सम्पदा, संस्कृतिको रक्षार्थ आफू सक्रिय रहेको बताइन्। उनले भनिन्, ‘मैले लिएको सामाजिक विकास मन्त्रालयबाट थप काम गर्नेछु। तपाईँहरूको साथ र सहयोग पाउने आशा लिएकी छु।’

नेपालभाषा विभागीय प्रमुख एवम् वैकुण्ठ लाकौल पुरस्कार तथा चैन लाकौल पुरस्कार समितिका अध्यक्ष जोशीले बागमती प्रदेशमा नेपालभाषा सरकारी कामकाजी भाषा भनेर घोषणा भइसकेको हुनाले सरकारी निकायलाई जनशत्ति आवश्यक भएमा विभागले सहयोग गर्ने प्रतिबद्धता जनाए।

नेपालभाषा साहित्य, संस्कृति र नेवाः सभ्यता उत्थानका लागि निरन्तर वैकुण्ठ लाकौल पुरस्कार तथा छात्राको प्रोत्साहनका लागि चैन लाकौल पुरस्कार व्यवस्था गरिदिएकोमा विभाग लाकौल परिवारप्रति आभारी रहेको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − three =