किशोरीमा प्रजनन स्वास्थ्य समस्या : ‘यौनसम्बन्ध चाँडै नराख’ भनौँ

रमा केसी १२ भदौ २०८१ २१:१३
266
SHARES
किशोरीमा प्रजनन स्वास्थ्य समस्या : ‘यौनसम्बन्ध चाँडै नराख’ भनौँ

सुर्खेत– वीरेन्द्रनगर–१ की १५ वर्षीया किशोरीको एक किशोरसँग यौनसम्बन्ध भएपछि महिनावारी रोकियो। उनले ७ हप्तामै गर्भपतनको औषधि खाइन्। त्यसको एक सातापछि पेट दुखेर बेहोस भइन्।

अस्पताल लगेपछि गर्भनलीमा गर्भ रहेको थाहा भयो। त्यो फुटेर आन्तरिक रक्तस्रावका कारण उनको ज्यानै जोखिममा परेपछि चिकित्सकको सल्लाहमा शल्यक्रिया गरियो। उनको ज्यान त बच्यो तर जोसँग यौनसम्बन्ध भएको थियो, ती पुरुषले नचिनेझैँ गरे।

किशोरीका अभिभावक अपमानित हुने डरले प्रहरीकहाँ जान मानेनन्। ती किशोर अहिले उच्चशिक्षाका लागि वीरेन्द्रनगरबाहिर छिन्। किशोरीले मानसिक रोगको औषधि खाइरहेको अभिभावकले बताएका छन्।

युवती पढिरहेको शिक्षण संस्थाका एक शिक्षक भन्छन्, ‘किशोरकिशोरीलाई गर्भपतन अधिकारबारे भन्यौँ तर उनीहरूलाई आफ्नो शरीरप्रतिको जिम्मेवारीचाहिँ सिकाउन सकेनौँ। यसले किशोरीहरूको जीवनमा नराम्रो असर परेको छ। यसबाट ती किशोरी पनि अछुतो छैनन्।’

सहरी परिवेशमा त आमाबुबाले छोराछोरीसँग यौनसम्बन्ध र त्यसले जीवनमा पर्ने सकारात्मक वा नकारात्मक प्रभावबारे कुराकानी गर्दैनन् भने कर्णालीका दुर्गम गाउँमा यस्तो खालको शिक्षाको आशा कसरी गर्नु?

कर्णालीका सबै जिल्लामा किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्यबारे गरिएको समीक्षापछि तयार पारिएको प्रतिवेदनले प्रजनन स्वास्थ्य शिक्षा भनेर प्रजनन अंग र शारीरिक परिवर्तनबारे मात्र होइन, मानवीय सम्बन्ध, प्रेम, यौन र यौनिकताका सवाल पनि किशोरकिशोरीलाई बुझाउनु जरुरी देखिएको कर्णाली स्वास्थ्य सेवा निर्देशनालयकी वरिष्ठ नर्सिङ अधिकृत दीपा भट्टराई बताउँछिन्। भट्टराईले प्रदेशका धेरै किशोरीमा सानै उमेरमा विवाह गर्ने भएकाले प्रजनन स्वास्थ्यमा गम्भीर समस्या देखिएको जानकारी दिइन्।

प्रतिवेदनअनुसार कर्णालीमा १५ वर्षदेखि १९ वर्ष उमेर समूहका किशोरीमा २४ प्रतिशत मातृ मृत्यु हुने गरेको उनले बताइन्। उनका अनुसार गरिबी, शिक्षा, स्वास्थ्य, बालविवाह र भेदभावका कारण यस्तो समस्या देखिएको छ। यसैगरी २० वर्षदेखि २४ वर्ष उमेर समूहका ३५ र २५ वर्षदेखि २९ वर्ष उमेर समूहका महिलामा २२ प्रतिशत मातृ मृत्यु हुने गरेको छ।

यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी नागरिक स्तरसम्म सचेतना हुन नसक्दा किशोरकिशोरीको प्रजनन स्वास्थ्यमा समस्या देखिएको भट्टराईले बताइन्। किशोरावस्थामा शारीरिक, मानसिक, भावनात्मक सामाजिक तथा यौनिक परिवर्तन तथा विकास हुन्छ। त्यसैले किशोरकिशोरीले दैनिक जीवनमा सामना गर्नुपर्ने चुनौती धेरै रहेको स्वास्थ्यकर्मीहरू बताउँछन्।

कर्णालीमा पढेकाभन्दा नपढेका महिलामा मातृ मृत्युदर बढी हुने गरेको पाइएको छ। नेपालमा प्रति एक लाख महिलामा १५१ जनाको मातृ मृत्यु रहेकोमा कर्णालीमा १७२ जनाको मृत्यु हुने गरेको वरिष्ठ नर्सिङ अधिकृत भट्टराईले बताइन्।

जनगणनाअनुसार कर्णालीमा हरेक वर्ष जीवित जन्म ३१ हजार ३२३ हुने गरे पनि प्रजनन उमेर समूहका ६५७ जना महिलाको मृत्यु हुने गरेको छ। निर्देशनालयका अनुसार प्रदेशका १० जिल्लामध्ये मातृ मृत्यु दर अनुपातमा सबैभन्दा बढी सुर्खेतमा (१० जना) हुने गरेको छ। सबैभन्दा कम जुम्लामा हुन्छ। त्यहाँ एकजनाको मृत्यु हुने गरेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

डोल्पामा तीनजना, मुगुमा दुईजना, हुम्लामा चारजना, कालीकोटमा छजना, दैलेखमा छजना, जाजरकोटमा आठजना, रुकुम पश्चिममा छजना र सल्यानमा आठजनाको मातृ मृत्यु हुने गरेको समीक्षा प्रतिवेदनमा उल्लेख छ।

कर्णालीमा हुने मातृ मृत्युमा उमेर समूहअनुसार २० वर्षदेखि २४ वर्ष उमेरका बढी मृत्यु हुने गरेको वरिष्ठ नर्सिङ अधिकृत भट्टराईले बताइन्। ‘कर्णालीमा २० वर्षदेखि २४ वर्ष उमेर समूहमा ३५ प्रतिशत मातृ मृत्यु दर छ,’ उनले भनिन्, ‘यो उमेर समूहको मातृ मृत्यु दर निकै डरलाग्दो अवस्था हो।’

१५ वर्षदेखि १९ वर्ष उमेर समूहका मातृ मृत्युदर २४ प्रतिशत, २५ वर्षदेखि २९ वर्ष उमेर समूहको मातृ मृत्युदर २२ प्रतिशत, ३० वर्षदेखि ३४ वर्ष उमेर समूहको मातृ मृत्युदर १३ प्रतिशत र ३५ वर्षदेखि ३९ वर्ष उमेर समूहको मातृ मृत्युदर ६ प्रतिशत रहेको भट्टराईले बताइन्।

मातृ मृत्यु दर घटाउन के गर्दैछ प्रदेश सरकार?

किशोरकिशोरी यौन तथा प्रजजन स्वास्थ्यका कर्णाली प्रदेश सरकारले विभिन्न नीति तथा रणनीति तयार पारेको छ। कर्णाली प्रदेश स्वास्थ्य सेवा ऐन, २०७८ को परिच्छेद ६ मा स्वस्थ्य सेवाको पहुँच विषयमा बुँदा नं. २७ मा महिलाको सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य अधिकारको सुनिश्चितता गर्ने उल्लेख गरेको छ।

प्रदेशमा बसोवास गर्ने महिलालाई प्रचलित कानुनबमोजिम प्राप्त सुरक्षित मातृत्व र प्रजनन, स्वास्थ्य अधिकारको सुनिश्चितत्ता गरिनेछ भनेर उल्लेख गरेको छ। कशोरकिशोरी र प्रजनन स्वास्थ्यमा विवाहको हद लगाउँदा पनि कर्णालीमा बालविवाह भने कम हुन सकेको छैन। जसका कारण उनीहरुमा स्वास्थ्यको समस्या बढ्दै गएको छ।

स्वास्थ्यकर्मीका अनुसार १५ वर्षदेखि १९ वर्षभन्दा कमका किशोरीहरू गर्भधारण गरेको लामो समयपछि गर्भपतनका लागि अस्पताल आउने र गर्भपतन नगराए आत्महत्याको प्रयाससम्म गर्छन्।

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले स्वास्थ्य सेवा प्रवर्धनका लागि स्वास्थ्य चौकीको अनुगमन गर्दा किशोरकिशारी अझै पनि आफ्नो समस्या भन्न नसक्दा सही तथ्यांक आउन नसकेको जनाएको छ।

किशोरी अवस्थामा विवाह गर्दा प्रजनन स्वास्थ्यमा नकरात्मक असर गरेको कल्याण स्वास्थ्य चौकीकी हे.अ भगवती श्रेष्ठले बताइन्। उनले भनिन्, ‘बालविवाह गर्दा किशोरकिशोरीमा अहिले मानसिक रोगका बिरामीहरू बढ्दै गएका छन्। अहिले दैनिक ३०/४० को हाराहारीमा यस्ता बिरामीहरु आउने गरेका छन्।’

कर्णालीको कुल जनसंख्याअनुसार १५ लाख ७० हजार ४१८ मध्ये किशोरकिशोरीको संख्या १ लाख ९६ हजार ७४४ छ।

निर्देशनालयले किशोरकिशोरीका आवश्यकतालाई प्रभावकारी र सकारात्मक रूपमा समाधान गर्न सक्ने सीप र व्यवहारबारे जानकारी दिने उद्देश्यले स्वास्थ्य संस्था र शिक्षण संस्थामा स्टाफ नर्सहरूलाई जानकारीमूलक सन्देश प्रवाह गरिरहेको वरिष्ठ नर्सिङ अधिकृत भट्टराईको भनाइ छ। उनी प्रजनन स्वास्थ्यबारे अभिभावक आफैँ सचेत हुने हो भने यस्ता समस्या नदेखिने बताउँछन्। छोराछोरीलाई ‘लागूपदार्थको कुलतमा नलाग’ भन्ने आमाबुबाले ‘यौनसम्बन्ध पनि चाँडै नराख’ भन्न सक्नुपर्ने सुझाव उनको छ।

उनले भनिन्, ‘यसका साथै किशोरकिशोरीलाई यौन र प्रजनन स्वास्थ्यबारे जनचेतनामूलक कार्यक्रम गर्न आवश्यक छ।’ यौन तथा प्रजनन स्वास्थ्यबारे किशोरीहरूलाई विद्यालय तहबाटै सचेत गराउनुपर्ने उनले बताइन्। कर्णालीका धेरै विद्यालयमा अझै पनि नर्सको व्यवस्था हुन सकेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast