गगन-विश्वको प्रतिवेदन परिमार्जन गर्न जुटेन सहमति, सर्‍यो केन्द्रीय समिति बैठक

हिमाल प्रेस ११ भदौ २०८१ १५:४९ | Tuesday, August 27, 2024
गगन-विश्वको प्रतिवेदन परिमार्जन गर्न जुटेन सहमति, सर्‍यो केन्द्रीय समिति बैठक

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्रीद्वय र सभापति, उपसभापतिसहितको छलफल कुनै निष्कर्षमा नपुगी सकिएको छ। गत फागुनको महासमिति बैठकमा महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेस गरेको प्रतिवेदन परिमार्जन गर्ने विषयमा महामन्त्रीद्वय तयार नभएपछि बैठक यसै सकिएको हो।

पार्टीको जारी केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवा समूहले महामन्त्रीद्वयको प्रतिवेदन परिमार्जनसहित पुन:पेस गरेर अनुमोदन गर्नसपर्ने माग राखेका छन्। महामन्त्रीद्वय भने प्रतिवेदन परिमार्जन गर्न तयार छैनन्। यसैबारे छलफल गर्न सभापति देउवाले उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङसँगै महामन्त्रीद्वयलाई आफ्नै निवासमा छलफलका लागि बोलाएका थिए।

आज बिहान ११ बजे पाँच नेताबीच छलफल भएको थियो। छलफलमा प्रतिवेदन परिमार्जनको विषयमा सहमति नजुटेपछि भोलि बुधबार बस्ने केन्द्रीय समिति बैठक नै सारिएको छ। केन्द्रीय समिति बैठक १६ गते बस्ने तय भएको छ। ‘छलफल जारी नै छ। अब बिहीबार बिहान हामी फेरि बस्छौँ,’ उपसभापति धनराज गुरुङले हिमालप्रेससँग भने, ‘केन्द्रीय समितिमा उठेका विषयमा आज केही कुरा भए, केही कुरा अझै हुन बाँकी नै छ। बाँकी कुरा पर्सि हुन्छ।’

कांग्रेसभित्र महामन्त्री थापाले निर्वाचनमा कुनै दलसँग गठबन्धन नगर्ने भन्ने प्रस्ताव र अर्का महामन्त्री शर्माले नेताहरूको एक्जिट पोलिसी समेटिएको प्रतिवेदन परिमार्जन गर्ने कि यत्तिकै अनुमोदन गर्ने विवाद चर्किँदो छ।

विवादकै कारण गत साउन २३ गतेदेखि बसेको केन्द्रीय समिति बैठक २८सम्म बसेर भदौ ७ गतेसम्मलाई स्थगित गरियो। भदौ ७ को बैठकमा पनि महामन्त्रीको प्रतिवेदनको विषयमा सहमति जुटेन। उक्त बैठकमा कांग्रेसका तर्फबाट सरकारमा गएका मन्त्रीहरूले ब्रिफिङ गर्नेमात्रै काम भयो। त्यसपछि भोलि भदौ १२ का लागि बैठक डाकिएको थियो। भोलिको बैठक सारेर १६ गते दिउँसो २ बजेसम्मलाई सार्ने निर्णय भएको उपसभापति गुरुङले बताए।

कांग्रेस विवाद : देउवालाई टाउको दुखाइ बनेको गगन-विश्वको प्रस्तावमा के छ?

प्रकाशित: ११ भदौ २०८१ १५:४९ | Tuesday, August 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast