नेपालकै ठूलो अटो शो आजदेखि सुरु हुँदै, विद्युतीय सवारीसाधनमा आकर्षण

हिमाल प्रेस ११ भदौ २०८१ ९:४५ | Tuesday, August 27, 2024
नेपालकै ठूलो अटो शो आजदेखि सुरु हुँदै, विद्युतीय सवारीसाधनमा आकर्षण

काठमाडौँ- मुलुककै ठूलो सवारी साधन प्रदर्शनी (अटो शो) काठमाडौँमा आजदेखि शुरु हुँन लागेको छ । ६ दिनसम्म चल्ने अटो शोमा यसपटक विद्युतीय सवारीसाधन लक्षित छन् । नजिकिदोँ चाडपर्व समेतलाई लक्षित गरी नेपालका सवारीसाधन बिक्रेताहरूले शुरु गरेको नाडा अटो शो को यो १६औं श्रृंखला हो ।

नाडा अटो शो मा यसपटक विभिन्न ब्राण्डका सवारीसाधनका नयाँ नयाँ भेरियन्टहरू समेत प्रदर्शन गर्दैछन् । सिप्रदीले नयाँ एसयूभी पन्च इभी तथा चिनियाँ सवारीसाधन निर्माता दोङफेङले निर्माण गरेको नामी इभीले अटो शोका क्रममा सार्वजनिक (लन्च) गर्ने कार्यक्रम रहेको छ । पछिल्लो समय सबैभन्दा बढी इभी बिक्री गर्नेमा बीवाईडी देखिएको छ । बीवाईडीका एट्टो थ्री तथा डल्फिन सर्वाधिक रुचाइएका छन् ।

प्राय:  सबै ब्रान्डका सवारीसाधनहरूले विद्युतीय सवारीसाधन नेपाली बजारमा ल्याएका छन् । हुन्डाई, किया, एमजी, नेटा, टाटा, वुलिङदेखि टेस्लासम्मका सवारीसाधन नेपालका सडकमा देखिएका छन् ।

निजी सवारीसाधनमात्र होइन सार्वजनिक सवारीसाधनमा समेत इभीको प्रयोग बढ्दै गएको छ । स्वच्छ ऊर्जामा आधारित भएकाले इभीप्रति नेपाली उपभोक्तामाझ आकर्षण त बढेको छ । तर नेपालको पहाडी भूभागमा उकालो (इन्क्लाइन्ड) का सडक तथा चार्जिङ स्टेशनको पर्याप्तताको अभाव, सहरी क्षेत्रकै समेत ड्रेनेजको समस्याले इभी साँच्चिकै किफायती र लागत प्रभावी हो कि होइन भन्ने प्रयोगका आधारमा सिद्ध हुन बाँकी छ ।

नाडा अटो शो मा सवारीसाधन तथा तिनको पाटपूर्जा प्रदर्शनी, तिनका विशेषताहरूदेखि फाइनान्सिङको प्रबन्धबारे जानकारी र बुकिङ समेत गर्न सकिने नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले बताए । उनले नाडामा सवारीसाधन खरिद वा बुकिङका लागि मात्र नभइ यसबारे रूचि राख्‍ने सबैले भ्रमण गरी बजारको पछिल्लो ट्रेन्डबारे समेत जानकारी लिन सक्ने बताए ।

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरी

भन्सार विभागको तथ्यांक अनुसार नेपालले गत आर्थिक वर्षमा अर्थात २०८० साउनदेखि २०८१ असार मसान्तसम्म तीन अर्ब ९५ करोड रुपैँया बराबरका विद्युतीय सवारी साधन आयात गरेको छ ।

यसमध्ये ३ करोड ६६ लाख रुपैयाँ मूल्यका ११ विद्युतीय बस आयात भएका छन् भने १ अर्ब २१ करोड रुपैयाँ मूल्यका तीन सय ३६ मिनीबस आयात भएका छन् । यसका अतिरिक्त १ अर्ब ६६ करोडका पाँच सय ३७ माइक्रो बस र १ अर्ब तीन करोड रुपैँया मूल्यका चार सय ४६ ओटा जीप, कार तथा भ्यान आयात भएका छन् ।

 

प्रकाशित: ११ भदौ २०८१ ९:४५ | Tuesday, August 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast