हरेक पार्टीभित्र भ्रष्टाचारी रहेकाले भ्रष्टाचार मुद्दामा हदम्याद राखिदैछ : चित्रबहादुर केसी

हिमाल प्रेस ११ भदौ २०८१ ६:२३ | Tuesday, August 27, 2024
हरेक पार्टीभित्र भ्रष्टाचारी रहेकाले भ्रष्टाचार मुद्दामा हदम्याद राखिदैछ : चित्रबहादुर केसी

काठमाडौँ- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भ्रष्टाचार मुद्दामा पाँच वर्षे हदम्याद स्वीकार्य नहुने बताएका छन्। सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले पाँचवर्षे हदम्याद राखेर कानुन बनाउन खोज्नु भ्रष्टाचारीहरूकै षडयन्त्र भएको दाबी गरे।

अध्यक्ष केसीले भ्रष्टाचार गर्नेलाई पानीमुनी गएपनि छोड्न नहुने धारणा राखे। ‘भ्रष्टाचार गर्नेलाई हदम्याद दिन मिल्छ? ज्यानमारालाई हदम्याद दिन मिल्छ? डकैत गरेर हदम्यादको प्रबन्ध गर्न मिल्छ? यो ठूलो षडयन्त्र हो। भ्रष्टाचारीहरूकै षडयन्त्र हो। त्यसकारण यसको नेपाली जनताले विरोध गरेका छन्’ केसीले भने, ‘भ्रष्टाचार गरेकालाई पानीभित्र गएपनि हदम्याद दिन हुन्न।’

उनले अधिकांश सत्तामा बस्नेहरू शक्तिमा बस्नेहरू भ्रष्टाचारी भएको हुनाले आफूहरुको अपराधको दोषबाट उम्कने षडयन्त्र गरेको बताए। ‘यसमा नेपाली जनतालाई मान्य हुन सक्दैन’ उनले थपे, ‘यो राष्ट्रिय जनमोर्चालाई मात्रै होइन, कुनैपनि नेपाली जनतालाई मान्य छैन।’

केसीले जुनसुकै मूल्य चुकाएर भएपनि सत्तामा जाने र भ्रष्टाचार गर्ने प्रवृति बढेको बताए। सत्ता र शक्तिमा रहेकाहरूको सम्पत्ति छानबिन हुनुपर्ने केसीको भनाइ थियो। उनले हरेक पार्टीभित्र भ्रष्टाचारी भएको बताए। कुनैपनि काण्डका भ्रष्टाचारीलाई छोड्न नहुने उनको स्पष्ट अडान थियो

उनले भने, ‘हरेक पार्टीमा भ्रष्टाचारी छन्, एउटा दुईटा पार्टी होइन, प्रायः हरेक पार्टीहरूमा भ्रष्टाचारी छन्। ती भ्रष्टाचारीहरूलाई नेपाली जनताले कारबाही गर्नुपर्छ, सजाय हुनुपर्छ भन्ने ठूलो माग छ। चाहे सहकारीका भ्रष्टाचारी हुन्, चाहे सुन चोर हुन्, चाहे ललिता निवास जग्गा प्रकरणका होउन्, चाहे गिरीबन्धु टी स्टेटका हुन्।’

प्रकाशित: ११ भदौ २०८१ ६:२३ | Tuesday, August 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast