कंगना रनौतलाई भाजपाले किन दियो चेतावनी?

हिमाल प्रेस १० भदौ २०८१ २०:५४ | Monday, August 26, 2024
कंगना रनौतलाई भाजपाले किन दियो चेतावनी?

काठमाडौँ- भारतीय जनता पार्टी (भाजपा)ले सांसद कंगना रनौतले दिएको अभिव्यक्ति पार्टीको आधिकारिक धारणा नभएको स्पष्ट गरेको छ। भाजपाले कंगनालाई यस्ता अभिव्यक्ति नदिन चेतावनी पनि दिएको छ। साथै नीतिगत विषयमा अभिव्यक्ति दिने अधिकार कंगनालाई नभएको पनि भाजपाले बताएको छ।

हिमाञ्चल प्रदेशको मण्डी सिटबाट निर्वाचित भाजपा सांसद कंगनाले एक पत्रिकालाई दिएको अन्तर्वार्तामा किसान आन्दोलनको बारेमा अभिव्यक्ति दिइन्। र, यसलाई बंगलादेशको घटनासँग जोडेकी थिइन्।

कंगनाले भारतमा चीन र अमेरिकाजस्ता विदेशी शक्ति काम गर्ने दाबी पनि गरेकी थिइन्।

कंगनाले के भनेकी थिइन्?

‘किसान आन्दोलनका बेला त्यहाँ शव झुण्ड्याइएका थिए र बलात्कारका घटना भइरहेका थिए। किसानका लागि हितकारी विधेयक फिर्ता लिँदा देश स्तब्ध भयो,’ उनले भनेकी थिइन्, ‘आज पनि किसानहरू त्यहीँ बसिरहेका छन्। विधेयक फिर्ता हुन्छ भन्ने सोचेका थिएनन्। यो बंगलादेशमा जस्तो ठूलो योजना थियो। त्यस्ता षड्यन्त्रहरू भए। यहाँ चीन र अमेरिकाजस्ता विदेशी शक्तिहरू काम गरिरहेका छन्।’

उनले किसानहरू फिल्मी मान्छे भएको र देश भड्खालोमा गए पनि उनीहरूको पसल भने चलिरहने बताएकी थिइन्।

भाजपाको केन्द्रीय मिडिया विभागले जारी गरेको प्रेस विज्ञप्तिमा भाजपा सांसद कंगनाले किसान आन्दोलनमा दिएको अभिव्यक्ति पार्टीको विचार नभएको उल्लेख गरिएको छ।

कंगनाको अभिव्यक्तिविरुद्ध कंग्रेसले सोमबार भाजपालाई प्रश्न सोधेको छ। उसले भनेको छ, ‘भाजपाको विचार होइन भने कंगनालाई पार्टीबाट निष्कासन गर।’ कंग्रेसको तर्फबाट पत्रकार सम्मेलनमा नेतृ सुप्रिया श्रीनेटले किसानविरुद्ध यसरी बोल्नेलाई सभामा बस्ने अधिकार नभएको बताइन्। बीबीसी हिन्दी

प्रकाशित: १० भदौ २०८१ २०:५४ | Monday, August 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast