डुबानबाट कैलालीमा १९ घरपरिवार विस्थापित

हिमाल प्रेस ६ भदौ २०८१ २१:४३ | Thursday, August 22, 2024
डुबानबाट कैलालीमा १९ घरपरिवार विस्थापित

कैलाली- दुई दिनदेखिको वर्षासँगै कैलाली जिल्लामा एक हजार ५८ घरधुरी डुबानमा परेकोमा १९ घरधुरीका एकसय दुई व्यक्ति विस्थापित भएका छन्।

प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्रले जिल्लाको भजनी नगरपालिका-३, ४, ५, ८, ७ र ९ नं वडा, घोडाघोडी नगरपालिकाको वडा ५ र ९, गौरीगङ्गा नगरपालिका–९ र कैलारी गाउँपालिका–५का वस्ती डुबानबाट प्रभावित भएको जानकारी दिए।

भजनीका १४ र कैलारीका पाँच परिवार विस्थापित भएका हुन्। विस्थापित कतिपय परिवार अग्लो भागमा रहेको हुलाकी राजमार्ग खण्डमा त्रिपाल टाँगेर बसेका छन् । कैलारीका १० परिवालाई वडा कार्यालयमा र अन्यलाई सुरक्षित स्थानमा सारिएको छ।

डुबान प्रभावित परिवारले खानेपानीका लागि प्रयोग गर्दै आएको ट्यूव वैल (हेण्ड पम्प) समेत डुबानमा परेपछि देखिएको खानेपानीको समस्या समाधान गर्न जिल्ला विपद् व्यवस्थापन समितिको पहलमा खानेपानी उपलब्ध गराउन सुरु गरिएको छ।

प्रजिअ नेतृत्वको टोलीले आज डुबान प्रभावित क्षेत्रको वस्तुस्थिति र भइरहेको उद्धारको अनुगमन गरेको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोलीबाट डुबान प्रभावित क्षेत्रमा स्थानीयवासीको उद्धार गरिरहेको छ।

डुबानको जोखिम अझै रहेकोले सुरक्षित स्थानमा सर्न जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको छ। दुई दिनदेखिको वर्षासँगै जिल्लाको कटैनी, शिबगङ्गा, कान्द्रा, पथरैया, खुटिया, मोहनालगायतका नदीमा बढेको पानीको बहाव बस्तीमा पसेपछि आसपासको बस्तीमा डुवानमा परेको हो।

पानीको निकास हुन नपाउनेगरी पूर्वपश्चिम हुलाकी राजमार्गको कतिपय भागको सडक खण्ड निर्माण गरिएको कारण डुबानमा पर्ने गरिएको स्थानीयवासीले गुनासो गरेका छन्। उनीहरूले पानी निकास हुनेगरी हुलाकी राजमार्ग खण्डमा आवश्यक संरचना निर्माण गर्नुपर्ने माग गरेका छन्।

डुबानका कारण विस्थापित कतिपय स्थानीयवासीका लागि भने पूर्व–पश्चिम हुलाकी राजमार्ग अन्तर्गतको कैलाली जिल्लाको कतिपय ठाउँको सडक खण्ड भने सुरक्षित ‘सेल्टर’(वासस्थान)का रुपमा देखिएको छ। डुबानहुँदा अग्लो स्थानमा रहेको यो राजमार्गमा त्रिपालको टहरा बनाएर प्रभावित बस्ने गरेका छन्। रासस

प्रकाशित: ६ भदौ २०८१ २१:४३ | Thursday, August 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast