रगतको ‘रिपोर्ट’ लिन दुई घन्टा लाइन

हिमाल प्रेस २ भदौ २०८१ १४:५९
6
SHARES
रगतको ‘रिपोर्ट’ लिन दुई घन्टा लाइन

कैलाली- धनगढी उपमहानगरपालिकाका बहादुर चौधरीलाई सेती प्रादेशिक अस्पताल धनगढीमा अघिल्लो दिन दिएको रगतको ‘रिपोर्ट’ लिन दुई घन्टा लाइनमा बस्नुपर्यो। स्वास्थ्य परीक्षण गराउन अस्पताल पुग चौधरीलाई चिकित्सकले रगत जाँच गराउन भनेपछि अस्पताल परिसरको प्रयोगशालामा रगत दिन उनले अघिल्लो दिन डेढ घन्टा लाइनमा बस्नुपरेको थियो।

रगतको रिपोर्ट लिन लाइनमा बसेका अर्का एक बिरामी लाइनमा बस्दा धकेलाधकेल हुन थालेपछि रिपोर्ट नलिइ फर्किए। धनगढीकै अर्का बिरामी हरिनादेवीलाई रगत दिन लामो समय लाइनमा बस्नुपर्यो। बहिरङ्ग सेवा कक्ष अगाडि चिकित्सकको पर्खाइमा मुटुरोगीहरू डेढ घन्टाभन्दा बढी उभिएर लाइनमा बस्ने गरेका छन्।

कोठाको बाहिरतर्फ बिरामी बस्नका लागि बेञ्च, डेस्कको व्यवस्था नगरिँदा उभिएर पालो कुरिरहेका बिरामी लामो समयसम्म उभिएरै लाइनमा बस्नुपर्ने बाध्यता छ। अल्ट्रासाउन्ड कक्षको ढोका अगाडि पनि थामिनसक्नु भीड हुने, ह्वील चियरमा बसेर एक्स–रे गराउन पुगेका अपाङ्गता भएका र वृद्ध बिरामीलाई समेत कुर्न लगाउने गरिएको छ।

अपाङ्गता र वृद्धवृद्धालगायतलाई सामाजिक सुरक्षा भत्ताको कार्ड पेस गरेमा निःशुल्क उपचारको व्यवस्था सरकारले गरे तापनि अस्पतालबाट सहज रुपमा उपचार सेवा लिन असहज भएको उनीहरूको गुनासो छ। ‘उखरमाउलो गर्मीमा उभिएर घन्टौँसम्म लाइनमा बस्दा पनि पालो नआउँदा बिरामी थप बिरामी हुने अवस्था देखिएको भएको छ’, मुटु रोगको परीक्षण गराउन पालो कुरिरहेका कमलसिंह भण्डारीले भने।

अस्पतालको आकस्मिक कक्षको अवस्था पनि उस्तै छ। शय्या नपुगेर बरण्डा र ग्यालरीमा राखेर बिरामीको उपचार गर्ने गरिएको छ। सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठूलो ‘रेफरल’ अस्पतालका रुपमा रहेको सेती प्रादेशिक अस्पताल धनगढीमा बिरामीले खेप्नुपरेको सास्तीका यी प्रतिनिधिमूलक घटना हुन्।

मन्त्री र अस्पताल विकास समितिका पदाधिकारीले पटकपटक अस्पतालको उपचार सेवामा सुधार ल्याउने प्रतिबद्धता गरे पनि अस्पतालको उपचार व्यवस्थापनमा सुधार आउन नसकेको बिरामी बताउँछन्। ‘रगत जाँच गर्न, रगत दिन त दुई घन्टा लाइनमा बस्नुपर्छ, अस्पतालले दिने उपचार सेवा कस्तो होला ?’, बिरामी भण्डारीले भने, ‘धनी व्यक्ति निजी अस्पताल र क्लिनिकमा उपचार गराउन जान्छन, गरिब उपचारका लागि आउने यो अस्पतालको उपचार व्यवस्था यस्तो लथालिङ्ग छ।’

प्रदेश संरचना कार्यान्वयनमा आएसँगै धनगढीको सेती अञ्चल अस्पताललाई सेती प्रादेशिक अस्पतालमा स्तरोन्नति गरिएको थियो। अस्पतालको सेवा सुदृढीकरण एवं स्तरोन्नतिका लागि प्रदेश सरकारले बर्सेनि बजेट विनियोजन गर्ने गरेको छ।

स्वीकृत प्राप्त र अस्पताल विकास समितिबाट थपिएकोसमेत गरी तीन सय श्यया सञ्चालनमा रहेको यो अस्पताल सुदूरपश्चिम प्रदेशको ठूलो अस्पताल मानिन्छ। अस्पतालमा चिकित्सक, नर्सिङ स्टाफलगायत गरी तीन सय स्वास्थ्यकर्मी कार्यरत छन्। प्रदेशका अन्य स्वास्थ्य संस्था एवं अस्पतालमा उपचारार्थ भर्ना हुने कतिपय बिरामीलाई थप उपचारका लागि यसै अस्पतालमा सिफारिस गरिन्छ।

स्वास्थ्योपचारमा प्रयोग हुने स्वास्थ्य उपकरण बिग्रिएमा मर्मत गर्ने जनशक्ति नहुँदा बेलाबेलामा समस्या हुने गरेको छ। अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठले अस्पतालको उपचार सेवालाई सहज र छिटोछरितो गराउने प्रयास गरिए पनि आवश्यकताबमोजिम दक्ष जनशक्ति अभाव हुँदा समस्या भइरहेको बताए। ‘धेरै प्रकारका उपचार सेवा उपलब्ध गराउनुपर्छ तर कर्मचारी सङ्ख्या कम हुँदा उपचार सेवा दिन ढिलाइ भएको हो’, उनले भने।

उपचारमा प्रयोग हुने एउटा स्वास्थ्य उपकरणबाट धेरै बिरामीलाई सेवा दिनुपर्ने हुँदा बिरामीको उपचार सेवामा ढिलाइ भएको उनले बताए। अस्पतालको बहिरङ्ग (ओपिडी) सेवामा दैनिक आठ सयदेखि एक हजार बिरामी उपचारका लागि आउने गरेका छन्। आकस्मिक कक्षमा दैनिक दुई सय बिरामी आउने गर्छन्।

अस्पतलाबाट ज्येष्ठ नागरिक, महिला स्वयंसेविका, कैदीहरू, आपाङ्गता भएका, लैङ्गिक हिंसामा परेका महिला पुरुषलगायतको निःशुल्क उपचार गर्ने गरिएको छ। सहरी क्षेत्रमा जनसङ्ख्याको चाप बढेसँगै अस्पतालमा बिरामीको चाप पनि बढ्दो छ। बिरामीको चाप बढ्दा सेती प्रादेशिक अस्पताल परिसरमा ठाउँको अभाव देखिएको छ।

अस्पतालमा भवनलगायतको भौतिक पूर्वाधारको अभाव छ। दश वर्षअघि अस्पताल परिसरमै प्रसूति भवन निर्माण थालिएको भए पनि निर्माण पूरा भएको छैन। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पहलमा सो भवन निर्माण सुरु गरिएको थियो।

निजी अस्पतालमा उपचार सेवा महङ्गो हुँदा विपन्न समुदायका धेरै बिरामी यो अस्पतालमा आउने गरेका छन्। पछिल्ला वर्षमा धनगढीमा निजी अस्पतालको सङ्ख्या वृद्धि हुँदा नागरिकको स्वास्थ्यमा पहुँच पुग्ने दर पहिलेको भन्दा बढेको छ।

केही दिनदेखि सेती प्रदेशिक अस्पतालको ‘एमआरआइ’ मेसिन बिग्रिएको छ। एमआरआइ सेवा सञ्चालन गर्न काठमाडौँबाट बायोमेडिकल इञ्जिनियरको टोली बोलाइएको अस्पताल प्रशासनले जनाएको छ। चटयाङका कारण तार जलेर क्षति पुगेपछि यो मेसिनले काम नगरेको अस्पतालले जनाएको छ। गत वर्षदेखि अस्पतालले एमआरआइ र सिटीस्क्यान सेवा उपलब्ध गराउन थालेको हो। रासस

प्रकाशित: २ भदौ २०८१ १४:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + six =