काठमाडौँ– आँचल बसेल ११ वर्षकी भइन्। चितवन भरतपुर महानगरपालिका-२७ को प्रज्ञा एकेडेमीमा कक्षा ६ मा अध्ययनरत यी बालिकाको दैनिकी सामान्य बालबालिकाको भन्दा भिन्न छ। आँचल नियमित विद्यालय जान्नन्। यद्यपि उनी विद्यालयको परीक्षामा प्रथम हुने गरेको उनका पिता देवराज बसेलले बताए।
आँचल यति बेला काठमाडौँमा संस्कृत पढिरहेकी छन्। लघुसिद्धान्तकौमुदी पढिसेककी उनी बिहानबिहान सधैँ काठमाडौँको गौरीघाटस्थित डा. स्वामी केशवानन्दको आश्रममा भेटिन्छन्। विद्यालय जाने उमेरमा किन आश्रममा भन्ने जिज्ञासामा आँचलले भनिन्, ‘म विद्यालय नगए पनि परीक्षामा राम्रो गर्न सक्छु। त्यसैले कोर्सका कुराभन्दा अहिले बाहिरका कुरा सिकिरहेकी छु।’
आश्रममा भेटिएका उनका पिता देवराजले आफूले छोरीको रुचिअनुसार नै संस्कृत पढाउन सघाइरहेको बताए। देवराजको दैनिकी पनि छोरीलाई आश्रममा ल्याउने र लैजानेमा बित्ने गरेको छ। उनले भने, ‘छोरीकै चाहनाअनुसार संस्कृत पढ्न ल्याएको हुँ। उनलाई हामीले कर गरेका होइनौँ।’
आँचल आफूलाई संस्कृत पढ्न कसैले दबाब नदिएको बताउँछिन्। संस्कृतका श्लोकलाई लय मिलाएर गाउन सक्ने आँचलले उपनिषद् पढ्न थालेको डा. स्वामी केशवानन्दले जानकारी दिए। उनले भने, ‘आँचल संस्कृतका विभिन्न ग्रन्थ पढ्दैछिन्। संस्कृतका श्लोकहरू जीवन्त लयमा गाउन सक्षम छिन्।’
साथै आश्रममा उनले संस्कार शिक्षा पनि लिइरहेकी छन्। गायनमा पनि विशेष क्षमता भएकी आँचल भ्वाइस अफ किड्सको सिजन ३ मा सेमिफाइनलसम्म पुगेकी थिइन्। अस्ट्रेलियामा जन्मिएर नेपाल आएकी उनी आफ्नो कलासंस्कृति र सभ्यता सिक्नकै लागि स्वदेश आएको बताउँछिन्। उनी भन्छिन्, ‘संस्कृत र नेपाली भाषा सिक्न आएकी हुँ।’ आफूलाई धेरै स्तोत्र र मन्त्रहरू कण्ठस्थ रहेको उनले बताइन्।