देशमा केही नभएको भाष्य निर्माण गर्न खोजिँदैछ : महामन्त्री थापा

हिमाल प्रेस २६ साउन २०८१ १५:३० | Saturday, August 10, 2024
देशमा केही नभएको भाष्य निर्माण गर्न खोजिँदैछ : महामन्त्री थापा कांग्रेसका नेता एवंं शिक्षासेवी श्यामबहादुर कार्कीको १७ औँ स्मृति दिवसका अवसरमा शनिबार भक्तपुरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै कांग्रेस महामन्त्री गगनकुमार थापा।

भक्तपुर- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘अब देशमा केहि हुन्छ’ भन्ने सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने खाँचो औँल्याएका छन्। कांग्रेसका नेता एवंं शिक्षासेवी श्यामबहादुर कार्कीको १७ औँ स्मृति दिवसको अवसरमा शनिबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

महामन्त्री थापाले भने, ‘स्वदेश मै केही गर्न सकिन्छ भन्नेतर्फ युवालाई आकर्षित गर्नुपर्छ। यसका लागि राज्यले उचित वातावरण तयार गर्न समन्वकारी भूमिका निर्वाह गर्नुपर्छ। समाजमा गौरव गर्ने कुरा धेरै छन्। केही छैन, भन्ने सोच्नु हुँदैन। आर्थिक समृद्धि र विकासमा केही पनि भएन भन्ने होइन।’

जनतामा निराशा आउन नदिन सरकारले विशेष ध्यान पुर्‍याउनुपर्ने उनको भनाइ थियो। थापाले भने, ‘देशमा केही नभएको भाष्य निर्माण गर्न खोजिदैँछ , यसलाई चिर्नुपर्छ। विकास भइरहेको छ, अझै गर्नुपर्छ र गर्न सकिन्छ भन्ने विश्वास युवालाई जगाउनुपर्छ।’ देश र समाजका लागि सकारात्मक योगदान गर्ने श्यामबहादुर कार्कीजस्ता प्रतिभाको चर्चा गर्दै त्यस्ता व्यक्तित्वलाई जोगाइराख्ने उद्देश्यमा पार्टीले पनि विभिन्न अभियानको थालनी गरिसकेको महामन्त्री थापाले जानकारी गराए।

उनले  देशैभरका प्रजातन्त्र सेनानीको अभिलेख तयार पारी पार्टीको अभिलेखमा राख्ने र १० करोडको अक्षय कोष खडा गर्ने नीति पार्टीले लिएको पनि बताए। उनले कोषबाट प्राप्त रकम प्रजातन्त्र सेनानीका सन्ततिको शिक्षा र स्वास्थ्यमा उपयोग गरिने बताए।

संघीय सांसद दूर्लभ थापा, बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, श्यामबहादुर कार्कीका सहयात्री रामप्रसाद दवाडी, प्रतिष्ठानका अध्यक्ष विष्णुराज कार्की, सूर्यविनायक नगरपालिका वडा नम्बर २ का अध्यक्ष तथा श्यामबहादुर कार्की प्रतिष्ठानका सचिव प्रदीप कार्कीलगायतले बोलेका थिए। स्वर्गीय कार्कीका समकक्षी दवाडीले कार्यक्रममा बोल्दै कार्कीले समाज, राष्ट्र र प्रजातन्त्रका लागि गरेका योगदानको चर्चा गरे। यसैगरी प्रतिष्ठानका अध्यक्ष कार्कीले प्रतिष्ठानले यस्ता कामलाई आगामी दिनमा पनि निरन्तरता दिँदै समाजमा सकारात्मकता फैलाउने अभियानमा योगदान गरिरहने बताए।

कार्यक्रममा गणेश आधारभुत विद्यालय बालकोटका १०८ बालबालिकालाई झोला एवं शैक्षिक सामग्री वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष विष्णुराज कार्कीले जानकारी दिए। सो अवसरमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरको सहयोगमा भएको रक्तदानमा ६१ जनाले रक्तदान गरेका थिए।

प्रकाशित: २६ साउन २०८१ १५:३० | Saturday, August 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast