१५ करोडको कोटीहोम

हिमाल प्रेस २५ साउन २०८१ ६:३३
296
SHARES
१५ करोडको कोटीहोम पशुपति कैलाशस्थित दान संकलन केन्द्रमा बिहीबार रकम हस्तान्तरण गर्दै कोटीहोममा आएकी श्रद्धालु। तस्बिर : हिमाल प्रेस

काठमाडौँ- काठमाडौँको पाशुपत क्षेत्रमा जारी कोटीहोममा १२ देखि १५ करोड रुपैयाँ खर्च हुने कोटीहोमको मूल संकल्पकर्ता बालयोगेश्वर विजयकृष्णमूर्तिजी महाराज (विजय भण्डारी) ले अनुमानित विवरण सार्वजनिक गरेका छन्। महायज्ञ तयारीदेखि समापन हुँदासम्म यति रकम खर्च हुने अनुमान गरिएको उनले बताएका हुन्।

साउन १ गतेदेखि आयोजित एकमहिने महायज्ञमा पाँच सयजनाभन्दा बढी जनशक्ति निरन्तर खटिइरहेको आयोजक संस्था मानव सेवा फाउन्डेसनले जनाएको छ। आयोजकका अनुसार महायज्ञका खटिएका पण्डितलगायतका जनशक्तिको पारिश्रमिक र अन्य व्यवस्थापनमा बढी रकम खर्च हुन्छ।

विजयकृष्णमूर्तिजीले हिमालप्रेससँग भने, ‘सुरक्षा, खानेकुरा, यज्ञ सामग्रीको व्यवस्थापन, पण्डाल निर्माण, बाचक/बाचिका, कलाकार, पण्डितलाई दिने पारिश्रमिक, दानदक्षिणामा खर्च भइरहेको छ।’

महायज्ञस्थलको भाडा, बिजुली, पानी, प्रचार सामग्री, होर्डिङ बोर्डमा पनि खर्च भइरहेको छ। उनले भने, ‘महायज्ञमा बढीमा १५ करोड रुपैयाँ र घटीमा १२ करोड रुपैयाँ खर्च हुने अनुमान गरेका छौँ।’ महायज्ञ सकिएको एक महिनाभित्र सम्पूर्ण खर्चको हिसाब विवरण सार्वजनिक गरिने उनले बताए।

महायज्ञअन्तर्गत पशुपति कैलाशमा निर्मित यज्ञकुण्डमा निरन्तर हवन गर्न ब्राह्मणहरू खटिएका छन्। यसैगरी पशुपति क्षेत्रको हंसमण्डपमा नेपाल र भारतमा नाम चलेका वाचक/वाचिकाले कथा वाचन गरिरहेका छन्। उक्त मण्डपमा भारतबाट आएकी देवी प्रतिभा, बेलायतबाट आएकी चन्द्रकला सखी, नेपालकै राधिका दासी, दीनबन्धु पोखरेललगायतले कथा वाचन गरे।

यसैगरी अन्य ससाना मण्डपमा पनि छुट्टै कथावाचन भइरहेको छ। हरेक मण्डपमा संगीतको टोली परिचालित छन्। यसैगरी भागवत, वेद, चण्डी पाठ गर्ने भिन्नाभिन्नै टोली खटिएका छन्। फाउन्डेसनका अनुसार महायज्ञ व्यवस्थापनका लागि आमा समूह, अस्पतालहरू, विभिन्न सामाजिक संघसंस्थाहरूसमेत गरी अप्रत्यक्ष रूपमा दसौँ हजारले योगदान दिइरहेका छन्।

महायज्ञ आयोजनाका लागि सरकारी स्तरबाट भने कुनै सहयोग नभएको संकल्पकर्ता विजयकृष्णमूर्तिजीले जानकारी दिए। उनले भने, ‘अहिलेसम्म कुनै देशबाट एक रुपैयाँ पनि सहयोग भएको छैन भने नेपाल सरकारले पनि यसमा सहयोग गरेको छैन। सबै भक्तहरूको स्वेच्छाले दिएको दानदातव्यबाट खर्च व्यवस्थापन भएको छ।’

महायज्ञको खर्च भइसकेर बाँकी रकम भक्तपुरमा आश्रम निर्माणका लागि खर्च गरिने उनले बताए। साथै महायज्ञ आयाजनाको उद्देश्य राष्ट्रशान्ति, विश्वकल्याण र आमनेपालीको सुखशान्ति र समृद्धिका लागि कामना रहेको आयोजकले जनाएको छ।

हवन गर्दै ब्राह्मण।

महायज्ञमा भएको सबै खर्च विवरण पारदर्शी रूपमा राखिएको दाबी आयोजकको दाबी छ। महायज्ञ आयोजनाका लागि कर कार्यालय, वडा कार्यालय, आन्तरिक राजस्व विभाग, समाजकल्याण परिषद् हरेक निकायसँग सहकार्य गरिएको विजयकृष्णमूर्तिले बताए। उनले भने, ‘सबै हिसाब विवरण सार्वजनिक हुन्छ। हामी पत्रकार सम्मेलन गरेर आयव्यय विवरण सार्वजनिक गर्छौँ।’

फाउन्डेसनका एक पदाधिकारीका अनुसार महायज्ञमा हुने खर्च लगभग संकलन भइसकेको छ। ती पदाधिकारीले भने, ‘अब संकलन हुने रकम आश्रम गृह बनाउनका लागि खर्च हुनेछ।’ महायज्ञस्थलमा राखिएका दानपेटिकाहरूमा भक्तजनले नगद जम्मा गरिरहेका छन्। दान संकलन गर्नका लागि अलग्गै टोली परिचालित छ। उनीहरूले दाताबाट रकम पाएपछि रसिद दिने गरेका छन्। अहिलेसम्म कति रकम संकलन भइरहेको छ भन्ने बारेमा विजयकृष्णूर्तिजीलाई बाहेक अरूलाई थाहा नभएको ती पदाधिकारीले बताए।

माथिल्लो तहबाट साथ र सहयोग नरहे पनि आमजनता र भक्तजनले यज्ञ सफल बनाउन अनुतलनीय योगदान गरेको विजयकृष्णमूर्तिजीले बताए। उनले भने, ‘महायज्ञले एक प्रकारको जागरण ल्याएको छ। थप दुई महिना पाएको भए महायज्ञ अझै व्यवस्थित बनाउन सकिन्थ्यो। बर्खाका कारण त्यति गर्न सकिएन।’

‘यज्ञ गर्न सजिलो रहेनछ’

संकल्पकर्ता विजयकृष्णमूर्तिजीले नेपालमा आध्यात्मिक र सामाजिक काम गर्न अत्यन्तै कठिन रहेको अनुभव सुनाए। उनले भने, ‘आमनेपाली र नेपालीका लागि यो अत्यन्तै दुर्भाग्यको कुरा हो। अहिले अधर्मको बोलवाला छ।’

वैदिक सनातन धर्मसँग जोडिएका यज्ञ, कथावाचन आदिका लागि सरकारका अनेक निकायमा गएर अनुमति लिनुपर्ने, कतिपय निकायका अधिकारीलाई त खुट्टैमा ढोक्नुपर्ने अवस्था रहेको गुनासो उनको छ। उनले भने, ‘एकपटक जाँदा कुनै पनि निकायमा काम बन्न सक्दैन। कुन दलको मान्छे हो भन्ने कुरा अगाडि आउँदो रहेछ। दलबाहिरका मानिसलाई गाह्रो रहेछ।’

कतिपय निकायका अधिकारीहरूले आर्थिक लाभको अपेक्षा गरेको अनुभव पनि उनले सुनाए। उनले भने, ‘हरेक काममा सोर्सफोर्स लगाउनुपर्ने रहेछ। कतिपय ठाउँमा आर्थिक अपेक्षा पनि गर्दा रहेछन्।’ उनले कुन व्यक्ति वा संस्थाका पदाधिकारीले आर्थिक अपेक्षा गरेको भने खुलाएनन्।

जतिसुकै पवित्र काम भए पनि गर्ने व्यक्तिलाई कमजोर बनाउन नेपालमा कुनै शक्ति सक्रिय भएर लागिपरको आरोप उनको छ। विजयकुष्णमूर्तिजीले भने, ‘सनातन, बौद्ध, जैन, किरात आदि सबै मासेर घरघरमा झगडा गराएर आपसमा कलह ल्याउन बाह्य तत्त्व सक्रिय छ।’

कोटीहोमअन्तर्गत आयोजित कथावाचनमा सहभागी श्रद्धालु।

विजयकृष्णमूर्तिजीमाथि धर्मका नाममा ठगी गरिरहेको आरोप लाग्दै आएको छ। अमेरिका पठाइदिन्छु भनेर धेरै युवासँग रकम लिएर नपठाएको, धर्मका नाममा ठगी गरेको, हिसाबकिताब पारदर्शी नदेखाएको जस्ता आरोपको खण्डन गर्दै उनले यस्ता भ्रामक कुराको पछि नलाग्न अनुरोध गरे। यसैगरी उनले शास्त्रीय विधिअनुसार महायज्ञ नभएको भन्ने आरोपको पनि खण्डन गरे। उनले भने, ‘हामीले विधि पूरा गरेरै यज्ञ सञ्चालन गरेका छौँ। केही व्यक्तिले आफ्नो स्वार्थ पूरा नहुने देखेर विरोध मात्रै गरेका हुन्।’

कोष भन्छ : महायज्ञले सकारात्मक सन्देश दिएको छ

पशुपति क्षेत्र विकास कोषले पाशुपत क्षेत्रमा यस्ता कार्यक्रम हुनु सकारात्मक रहेको जनाएको छ। कोषका प्रवक्ता रेवतीरमण अधिकारीले भने, ‘धार्मिक मान्छेहरूको जमात बढेको देखिएको छ। युवा कथावाचक, महिला कथा वाचक, नौ वर्षीया बालिकाको क्षमतालाई पनि लोकले थप बुझेको छ।’

साउनमा पशुपतिमा सधैँ दर्शनार्थीको भीडभाड हुने गरे पनि यसपटक धेरै चहलपहल भएको उनले बताए। कति दर्शनार्थीले कोटीहोम स्थलमा आएर दर्शन गरे भन्ने विषयमा भने आयोजक र कोषका पदाधिकारी अनभिज्ञ छन्।

प्रवक्ता रेवतीरमण अधिकारीले फोहोर व्यवस्थापन, सबै संरचनाको संरक्षण गर्ने, कार्यक्रम गर्दा केही क्षति भयो भने मर्मतसम्भार गर्ने सर्तमा महायज्ञ आयोजना गर्न पाशुपत क्षेत्रका विभिन्न ठाउँ भाडामा दिइएको जानकारी दिए। उनले भने, ‘हामीले कोषको निमयअनुसार कोटीहोम आयोजकलाई भाडामा दिएका हौँ। सरसफाइ र बिग्रिएमा ममर्तसम्भारको जिम्मेवारी आयोजककै हुन्छ।’

प्रकाशित: २५ साउन २०८१ ६:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + four =