काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले आफूलाई अभद्र व्यवहार गर्नेमाथि कारबाही गर्न माग गरेकी छन्। उनले प्रतिनिसभाको सोमबारको बैठकमा सम्बोधन गर्दै उनले यस्तो माग गरेकी हुन्। गौतमले आफ्नो निर्वाचन क्षेत्र काठमाडौँ-२ को कागेश्वरी मनोहरा नगरपालिकामा केही युवाले अभद्र व्यवहार गरेको बताइन्।
उनले आइतबार बाढीपहिरो प्रभावित क्षेत्र कागेश्वरी मनोहरा–६ को मनोकामना टोलमा मादक पदार्थ सेवन गरेका १५-१० जना युवाले आफूलाई घेरेर प्रश्न गरेको बताइन्।
उनले भनिन्, ‘चक्रव्यूहजस्तो गरेर जथाभाबी बोलेर मलाई घेर्न काम भयो। तैँले निर्वाचन क्षेत्रमा के गरिस् भनेर फोहोरी शब्द बोले।’ गौतमका अनुसार ती युवा गाँजा र रक्सीको नसामा थिए। उनले भनिन्, ‘ती युवा ममाथि दुर्व्यवहार गर्ने शैलीमा त्यहाँ प्रस्तुत भएका थिए।’ तीमध्ये एक युवा कुनै एउटा राष्ट्रिय दलको युवा संगठनको महत्त्वपूर्ण जिम्मेवारीमा रहेको दाबी गौतमको छ।
उनले भनिन्, ‘बाटो ढुकेर चौतारीमा कुरेर छोरी मान्छेलाई तर्साउने अभ्यास के अमर्यादित भएन र? के यो जंगली प्रकारको व्यवहार भएन र?सरकारले सुरक्षा चुनौतीका बारेमा सोच्ने कि नसोच्ने?’ अब आफू निर्वाचन क्षेत्रमा जाँदा कहाँकहाँ चौतारो छ, कहाँकहाँ खाली ठाउँ छ भनेर डराउनुपर्ने अवस्था आएको उनले बताइन्।
सांसद गौतम र केही युवाबीच विवाद भएको भिडियो क्लिप सामाजिक सञ्जालमा आइतबार सार्वजिनक भएको थियो। गौतमका अनुसार त्यो भिडियोमा विवाद भएको अन्त्यतिरको मात्रैको हो।