ओमनसँग श्रम सम्झौताबारे छलफल मात्रै!

हिमाल प्रेस २१ साउन २०८१ ६:०१
22
SHARES
ओमनसँग श्रम सम्झौताबारे छलफल मात्रै! श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय। फाइल तस्बिर

काठमाडौँ- नेपालको श्रम रोजगार गन्तव्य देश ओमनसँग श्रम सम्झौताका विषयमा छलफल सुरु भएको छ। श्रम सम्झौताका विषयमा छलफल गर्न ओमनको श्रम मन्त्रालयका महानिर्देशक नासिर सलिन नासेर अल हद्रामीको नेतृत्वमा आठ सदस्यीय टोली नेपाल भ्रमणमा छ।

बिहीबार नेपाल आएको टोलीले प्रधानमन्त्री केपी ओली, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, परराष्ट्रमन्त्री आरजु राणा देउवालगायतसँग शिष्टाचार भेटर्वार्ता गरेको छ।

ओमनी टोलीले श्रम र परराष्ट्र मन्त्रालयका प्रतिनिधिसँग दुईपक्षीय श्रम सम्झौताका विषयमा छलफल सुरु गरेको छ। ओमनसँग श्रम सम्झौताको विषयमा छलफल गर्न परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले नेतृत्व गरेका छन्।

ओमनसँग श्रम सम्झौता लागि अधिकांश विषयमा सहमति भइसके पनि रोजगार बिमा र घरेलु महिला कामदारलगायतका केही बुँदामा छलफल रोकिएको थियो। यसपटक यिनै विषयमा सहमति जुटाएर श्रम सम्झौतामा हस्ताक्षर गर्नेगरी छलफल भइरहेको श्रम मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए। उनका अनुसार नेपाली कामदारको चौबिस घण्टे बिमा र घरेलु महिला कामदारबारे छुट्टै सम्झौता गर्न नेपालले ओमनसँग प्रस्ताव गर्दै आएको छ। ओमनी पक्षले भने यी दुवै विषय एउटै श्रम सम्झौतामा समेट्न अस्वीकार गर्दै आएको ती अधिकारीले बताए।

‘श्रम मन्त्रालय र ओमनबीच २०७६ सालदेखि सरकारी स्तरमा सम्झौता गर्ने विषयमा प्राविधिक कमिटीबीच बैठक हुँदै आएको छ। चौबिस घण्टे बिमा र घरेलु महिला कामदारका विषयमा सहमति हुन सकेको छैन’, ती अधिकारीले भने।

ओमनले नेपालबाट घरेलु महिला कामदार लैजाने गरी श्रम सम्झौता गर्नुपर्ने प्रस्ताव गर्दै आएको छ। नेपालले यसका लागि छुट्टै श्रम सम्झौता गर्नुपर्ने अडान राख्दा श्रम सम्झौतामा सहमति नजुटेको हो।

ओमनी टोलीसँग श्रम सम्झौताका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका सहसचिव आरणले जानकारी दिए। उनका अनुसार श्रम सम्झौताका लागि सहमति जुटाउने र त्यसपछि दुवै देशका सरकारलाई जानकारी गराएर हस्ताक्षरको मिति तय हुनेछ। ओमनी प्रतिनिधिमण्डल श्रम सम्झौताका विषय टुंगोमा पुर्‍याउने पक्षमा रहेको उनको भनाइ छ।

वैदेशिक रोजगार विभागका अनुसार ओमनमा २०५४ सालदेखि नेपाली कामदार वैदेशिक रोजगारीमा जान थालेका हुन्। गत आर्थिक वर्षमा ५ हजार ९ सय १) जना नेपालीले श्रम स्वीकृति लिएर ओमन गएको वैदेशिक रोजगार विभागको तथ्यांक छ। ओमनमा करिब ४० हजार नेपाली कार्यरत रहेको श्रम मन्त्रालयको अनुमान छ।

छलफलमा आरणसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव गोविन्दप्रसाद रिजाल पनि नेपाली टोलीमा छन्। पछिल्लो समय श्रम सम्झौता, मागपत्र प्रमाणीकरण र कूटनीतिक विषयमा परराष्ट्रले हस्तक्षेप गरेका श्रम मन्त्रालयका अधिकारीहरूको गुनासो छ।

२०७६ सालयता ओमनसँग श्रम सम्झौता गर्ने विषयमा श्रम मन्त्रालयकै नेतृत्वमा छलफल र बैठक हुँदै आएको थियो। ओमनसँग श्रम सम्झौताका लागि पाँच वर्षयता छलफल हुँदै आएको छ। यसपटक पनि कामदार आपूर्ति गर्ने विषयमा कसरी श्रम सम्झौता गर्ने भनेर छलफल सुरु भएको श्रम मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजालले जानकारी दिए।

प्रकाशित: २१ साउन २०८१ ६:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + five =